November 7, 2020

मोक्षभुमी: एउटा सफल प्रयोग

[शिलापत्रमा प्रकाशित]

त्यसताका म विद्यालय-स्तरिय, वडा-स्तरिय, गाविस-स्तरिय लगायतका हाजिरीजवाफ प्रतियोगिताहरुमा एकप्रकारले चर्चित नै थिए भन्नुपर्छ। पढाईमा औसत विद्यार्थी भए पनि निमावी तहमा प्याब्सनले आयोजना गरेको ३ वटा प्रतियोगिता लगातार जितेपछि मेरो कद स्कुलमा हलक्कै बढेको थियो। नयाँ भर्ना खुल्ने बेलामा ‘पढाईमा मात्रै हैन, अतिरिक्त क्रियाकलापहरुमा पनि हामी अगाडी छौ है…’ भनेर देखाउनको लागी स्कुलले मलाई अभिवावकहरुको अगाडी बेच्ने गर्थ्यो।


त्यसबेला हाजिरीजवाफ प्रतियोगिताको तयारी गर्दा नेपालमा कुनैबेला प्रचलित दासप्रथा सम्बन्धी पनि विविध जानकारीहरु बटुलिएको थिईयो। भलै त्यो जानकारी आजभोली पोलेर खाईयो। लोकसेवा तयारी गर्नको निमित्त तयार पारिएको एउटा किताबबाट मैले कण्ठ गरेको थिए -


विक्रम संवत १९८२ मा राणा प्रधानमन्त्री चन्द्र शम्सेरले नेपालबाट दासप्रथाको उन्मुलन गरे। त्यसबखत दासत्वविमोचन गर्नको लागी चन्द्र शम्सेरले पशुपतीनाथको ढुकुटीबाट निकालेर ३६ लाख रुपैयाँ भन्दा धेरै खर्च गरेका थिए। चन्द्र शम्सेरले अमलेख गरिएका नयाँ दासहरुलाई राख्नको लागी बारा जिल्लामा नयाँ बस्ती नै बसाएका थिए। त्यसरी अमलेख गरिएका दासहरुलाई राखिएको ठाउँ हिजोआज ‘अमलेखगन्ज’ भनेर चर्चित छ।


तर त्यो बेला दासत्वमोचन गर्दाखेरी के-के कठिनाईहरु आईलागे होलान् ? त्यसबारेमा खासै विमर्श गरिन्न। निरकुंश शासन भएकोले पनि चन्द्र शम्सेरलाई आफ्नो निर्णय कार्यान्वयन गर्नको लागी खासै कठिनाई भएन होला भनेर लख काट्न सकिन्छ। 


सोच्नुस् त, चन्द्र शम्सेरलाई दासत्वमोचन गर्नको लागी के-कसरी चै उत्प्रेरणा प्राप्त भयो होला ? उनले दासत्वमोचन किन गरे होलान् ? ईतिहासमा आफ्नो नाम लेखाउनको लागी ? दासत्वमोचन गर्नको लागी चाहिने रकम निकालेर राज्यकोषलाई दुरुपयोग गर्नको लागी ? कि साँच्चिकै मानवता जागेको कारणले ? खैर यसलाई अहिले छोडौ, यो एउटा बृहत खोजको विषय हुन सक्छ। अनेकौ काम गरेर बदनामी कमाए पनि चन्द्र शमसेरलाई ईतिहासले २ वटा कुराको लागी भने सधै नै सम्झिरहन्छ - दासप्रथा उन्मुलन र सतीप्रथा उन्मुलन।


प्राचिन समयमा भगवान शिवजीका एकजना अनन्य भक्त थिए -  जालन्धर। उनले आफ्नो प्रताप तथा पराक्रम प्रयोग गरेर एउटा बृहत नगर बसाएका थिए, जसको नाम उनले भगवान शिवजी र आफ्नो नाम जोडेर राखेका थिए - सिंजा। केशव दाहालको उपन्यास ‘मोक्षभुमी’को कथा त्यही जालन्धरले स्थापना गरेको नगर सिंजाबाट सुरु हुन्छ। 


जसरी चन्द्र शम्सेरले सम्पुर्ण दासहरुलाई मुक्त गरिदिएका थिए, त्यसरी नै सिंजाका तत्कालिन सम्राट क्राचल्लदेवले आफ्नो सम्राज्यबाट करिब १० हजार दासहरुलाई मुक्त गरिदिन्छन्। अनि उपन्यासको कथा अगाडी बढ्दछ।


तपाई हामीले थाहा पाएकै कुरा हो - मौर्य वंशका चक्रवर्ती सम्राट अशोक अत्यन्तै पराक्रमी थिए। उनलाई भारतवर्षले पाएको सर्वाधिक शक्तिशाली राजा पनि भनिन्छ। तर, कलिंगाको युद्धमा भएको विनाश पश्चात सम्राट अशोक पुरापुर विचलित हुन्छन् र आफ्नो चित्त-शान्तीको लागी बौद्ध धर्म अँगाल्छन्। बौद्धमार्गीहरु सम्राट अशोक लाई सबैभन्दा महान बौद्ध अनुयायी ठान्दछन्।


त्यस्तै आफ्नी सर्वप्रिय महारानीको निधन भएपश्चात शाह वंशीय राजाले रणबहादुर शाहले उनको उपचारमा संलग्न सम्पुर्ण व्यक्तीहरुलाई सजाय दिई राजपाठ त्यागेर सन्यासी बनेको घटना पनि हामीले पढेको नै हौ।


कारण जेसुकै भएपनि राजा-महाराजाहरुले विचलित भएर आफ्नो राजपाठ त्यागेको उदाहरणहरु ईतिहासमा खोतलेर हेर्यो भने प्रशस्त रुपमा भेटिन्छन्। 


कुमाउँको युद्ध पश्चात सम्राट क्राचल्लदेवमा पनि विरक्तभाव जागेर आउँछ। सम्राट क्राचल्लदेव कसरी राजकिय धर्मबाट डोहोर्यिएर वैराग्यसम्म आईपुगे भनेर ‘मोक्षभुमी’मा बढो कलात्मक रुपमा वर्णन गरिएको छ। सांसारिक मायामोह त्याग्नको निमित्त सम्राट क्राचल्लदेवलाई रानी अप्सराप्रति उत्पन्न मोहभावको नै सबैभन्दा ठुलो हात हुन्छ।


सम्राट क्राचल्लदेवले वैराग्यमा पुगेर बौद्धधर्म अँगालेको देखाईएको भएता पनि गृहस्थमै बसेर पनि अध्यात्मसम्म पुग्न सकिन्छ, वैराग्यमा पुग्नु पर्दैन भन्ने कुरालाई पनि पुस्तकमा जोड गरिएको छ। ‘मोक्षभुमी’ पढ्दै जाँदा उपन्यासको सट्टा दर्शन पो पढिरहेको छु कि जस्तो भान हुन्छ। 


साँच्ची, एउटा उम्दा पुस्तक लेख्न कतिवटा पुस्तक पढ्नुपर्छ होला ?


यस पुस्तकमा दर्शन तथा अध्यात्मलाई केबल अल्छीलाग्दो अर्ती-उपदेशको रुपमा मात्रै नभएर जिवन उपयोगी पाराले आम मान्छेहरुको जनजिवनमै अन्तरघुलित गराउने एउटा सफल प्रयोग दाहालले गरेका छन्। त्यसको लागी म केशव दाहाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।


यो एकदमै बृहत पुस्तक छ, ‘माधवी’को झल्को आउने खालको। पढ्दै जाँदा महाभारतको बारेमा थाहा पाईन्छ, गीता दर्शनको बारेमा थाहा हुन्छ। बौद्ध दर्शन, अद्वैत वेदान्तदेखी लिएर मनुस्मृती सम्मको ज्ञान यहि पाईन्छ। लेखकले सम्पुर्ण शास्त्रहरु पढेर, पर्गेलेर हाम्रो लागी उपन्यासको स्वरुपमा ठिक्क पारिदिएका छन्। 


कुनै पनि पक्षमा वा प्रतिपक्षमा रहेर वादविवाद गर्न बहुत सहज हुन्छ। तर, आफैले पक्ष-प्रतिपक्ष दुईवटैको तर्क प्रस्तुत गर्न भने केही मुस्किल पर्छ। यस किताबमा लेखकले त्यस्तो कठिन कार्य गरेका छन्। 


सनातन हिन्दु धर्मको बारेमा ‘मोक्षभुमी’का पात्रहरुको मत फरक हुन्छ। यसमा आर्यदेव लगायत केही अत्यन्तै कट्टर अतिवादी हिन्दुहरु पनि छन्। लगत्तै ब्रम्हानन्द लगायत केही ज्ञानी, तपस्वीहरु  पनि छन्। बौद्ध भिक्षु आनन्द पनि छन्।


सम्राट क्राचल्लदेवबाट मुक्त भएपछि मुक्त-दासहरु आफ्नो अमलेखगन्ज अर्थात मोक्षभुमीको खोजीमा यात्रा गर्दछन्। उपन्यासको कथानकको आधार नै त्यही हो। उनीहरुको यात्रामा हुने उतारचढाव, पात्र तथा तिनीहरुको कथा-कहानीहरुले पाईला-पाईलामा रोमान्चित पार्दछन्। 


बाह्रौ शताब्दीमा हजारौको संख्याना भर्खर मुक्त भएका व्यक्तीहरुले यात्रा गर्दा के के हुन्छ होला ? सम्झनुस् त, त्यो ऐतिहासिक यात्राको क्रममा कस्ता कस्ता व्यक्तीहरु भेटिन्छन् होला, कस्ता कस्ता ठाउँहरु पुगिन्छन् होला, के कति विध्न-बाधा आईपर्छ होला ? 


तर, किताब पढ्दै जाँदा कहानी अगाडी बढ्दै जाँदा बेला बेला लेखक केशव दाहाल नेपथ्यमा कतै ओझेल पर्छन्, अनि पण्डित केशव दाहाल कथावाचनको मन्चमा आउछन्। र, कथानक अगाडी बढ्दैन, त्यही अडिन्छ। पढ्ने मान्छेलाई झिंजो लाग्नेगरी अडिइरहन्छ।


एउटै कुरालाई व्याख्या गर्नको निमित्त लेखकले थेरै शब्दहरु खर्चिएका छन्। उदाहरणका लागी - ‘मोक्षभुमी’को प्राकृतिक व्याख्यान ४-५ पटक भन्दा ज्यादा गरिएको छ। त्यो पहाड, नदी, फाँट सबै सधैं उस्तै त हुन्छन्। तिनलाई पटक-पटक उस्तै शब्दहरु प्रयोग गरेर व्याख्या गर्नुको कुनै तुक भेटिन्न


छोराको अंग्रेजी राम्रो बनोस् भनेर बा-आमाले मलाई सानैमा बोर्डिगं हालिदिएका थिए। तर म ठिम्मल भए। अर्थात अंग्रेजी सिक्न सकिन, जानेको नेपाली बिर्सिए। तमाम नेपाली बिर्सिए पनि नेपाली पढाउने सरले भनेको एउटा वाक्य भने म सदैव सम्झिरहन्छु - ‘एकदिन नेपालमा शुद्ध नेपाली लेख्न जान्ने मान्छेहरुको व्यापक खडेरी हुनेछ। औलामा गन्न सकिने व्यक्तीहरुले मात्रै शुद्ध रुपमा नेपाली लेख्न जान्नेछन्।’ 


मुद्राराक्षसलाई दोष दिएर लेखक तथा प्रकाशक उम्किन सके पनि मलाई ‘मोक्षभुमी’ पढुन्जेल नेपाली सरको त्यो वाक्य झल्झली याद आईरह्यो। भाषा सम्पादनको मामिलामा किताबले अलिकति निराश पार्दछ। ने उपत्यकाको राजा ‘भय मल्ल’ कतिखेर ‘अभय मल्ल’ बन्छन्, मेलो मेसो नै पाईन्न।


किताबमा यति धेरै पात्र छन् कि तिनीहरुलाई सम्झिन हम्मे-हम्मे नै पर्छ। तर पनि उठाईएका पात्रहरु लगभग सबैको कुशल अवतरण गराईएको छ भनेर हामीले मान्न सक्छौ।


दासत्वमोचन पश्चात अधिकांस दासहरु सत्यदेवको नेतृत्वमा मोक्षभुमीको खोजीमा अगाडी बढ्छन् भने केही दासहरु गरुडदेवको नेतृत्वमा सिंजामै रहन्छन्। सत्यदेवको नेतृत्वमा अगाडी बढेको दासहरुको यात्रा उपन्यासको मुल कथा हो। त्यस मुलकथासँगै जोडिएर आउने अन्य धेरै नै उपकथाहरु आउँछन्। केही उपकथाले किताबको रफ्तारलाई अगाडी बढाउन मद्दत गर्दछन् भने केहीले नयाँ आयाम थप्नको निमित्त।


गरुडदेवको नेतृत्वमा सिंजामै बसेका दासहरुको कथाको अन्त्य भने अलिक हतारमा गरिएको जस्तो लाग्छ। गरुडदेवको पात्र निर्माण  र विकास हेर्दाखेरी चै लेखकले अन्याय नै गरेका हुन्।


हामीले पढेकै कुरा हो - लिच्छवी कालको महान राजा अंशुवर्माले आफ्नो छोरी भृकुटीको विवाह तिब्बतका राजा स्रंगचंग ग्याम्पो सँग गराईदिन्छन् र उत्तरमा दौत्य सम्बन्ध कायम गर्छन्। यो कुशल कुटनितीको कारण अंशुवर्माको आजसम्म पनि तारिफ भइरहन्छ। तर मैले कहिले पनि भृकुटीको दृष्टिकोणबाट त्यस घटनालाई हेरिन। तपाई पनि सायद हेर्नुभएन होला। ‘मोक्षभुमी’ले राजकुमारी मधुमालती मार्फत हामीलाई भृकुटीको बारेमा प्रश्न गर्छ। र, सोच्न बाध्य पार्छ।


किताबमा वर्णन गरिएको मोक्षभुमि अर्थात मोक्षनगर एकप्रकारको ‘युटोपिया’ हो। वैकल्पिक राजनीतिको वकालत गर्ने लेखक दाहालले ‘युटोपिया’को कुरा उठाएको हुनाले हामीले उनले वकालत गरिरहेको राजनीतिलाई अलग राखेर किताबलाई हेर्न सक्दैनौ। 


‘मोक्षभुमी’ पढ्दै जँदा हामीलाई धन कमाउन भोट गएका मदनको याद आउँछ, भक्तपुर दरबारमा पाहुना भएर बसेका पृथ्वीनारायण शाह पनि याद आउँछन्। प्राचिन समयमा हुने बर्बरता र भेदभाव पनि याद आउँछन्। यसरी विभिन्न ऐतिहासिक घटना तथा कालखण्डहरुलाई सिपालु कालिगढले जसरी एकै ठाउँमा मिलाएर उनिएको छ। 


र अन्त्यमा,

‘यो ईतिहास हैन, कथा हो’ भनेर लेखक दाहाल जति नै तर्किए पनि यसलाई कथा मात्रै भनेर मान्न सकिन्न। यसमा गौतम बुद्धको दर्शन, आदी शंकाराचार्यको दर्शन, महाराज मनुको मनुस्मृती र त्यसलाई अपव्याख्या र अतिरन्जित गरेर तयार पारिएको श्रेष्ठमार्गीहरुको वर्ण-व्यवस्थाको नियम ईत्यादी सबै उल्लेख छ। यसलाई हाम्रो खस-आर्य सभ्यताले ईतिहासको कुनै कालखण्डमा गरेको यात्राको ‘डकुमेन्टेसन’ मान्न सकिन्छ। 


यसमा ईतिहास र विभिन्न दर्शनहरु दुईवटै विषय मजाले घोलिएर आएका छन्। तर, अलिकति चुस्त रुपमा सम्पादन गरेर कतिपय प्रसंगहरु ताछेर मिलाउन सकेको भए उपन्यास भद्दा हुनुको सट्टा बरु अझ छरितो हुन्थ्यो, पढ्न अझ धेरै मजा आउँथ्यो होला।


 [प्राक्कथन: यो पुस्तक-समिक्षा होइन। केशव दहालको ‘मोक्षभुमी’ पढेपछि एउटा पाठकले महसुस गरेको अनुभव मात्रै हो। तसर्थ, यसलाई ‘पाठकोनुभव’  कै रुपमा मात्रै लिईदिनु होला।]

0 Comments:

Post a Comment

 
;