October 5, 2020

‘वीरा’ मसँग डराउन छोडी

 [शिलापत्रमा प्रकाशित]

मैले वीराको अपहरण गर्दाखेरी उसको बिहे हुनै आँटेको थियो। 

हातमा मेहेन्दी लाएर, सबै किनमेल सक्काईवरी आफ्नो हुनेवाला पतिसँग हिडिरहेको बखत बिहेको ठिक अघिल्लो रात आकस्मात अपहरणमा पर्दा कस्तो महसुस हुन्छ भनेर तपाई सोच्न पनि सक्नु हुन्न। म पनि सोच्न सक्दिन। वीराले मात्रै सोच्न सक्छे।

अहिलेको लागी विवाह भएको ठिक भोलिपल्ट श्रीमान बितेर आजीवन बिधुवा भएर बाँचेकी हाम्री डल्ली फुपुको कहानीलाई तपशिलमा नै राखौ। उनको र वीराको कहानी उस्तै भए पनि एउटै नहुन सक्छ।

Image Source: Shilapatra


अपहरण पश्चात्, मैले वीरालाई ट्रकमा लिएर जंगलै-जंगलको बाटो महेन्द्र राजमार्ग भएर जाँदै थिए। ठिक त्यहीबेला कोरोना-भाईरस सुरु भयो भन्ने खबर आयो। सरकारले लकडाउन गर्यो भन्ने पनि खबर आयो। हिडडुल गर्न पाईदैन भन्ने पनि खबर आयो। त्यो सबै खबर मैले ट्रकमा भ’को पुरानो रेडियोमा सुनेको थिए। मैले दुनियाँको सबै खबर सुने पनि मेरो बारे चै दुनियाँ वेखबर थियो। मजस्तै धेरै जसो मान्छेहरु यो संसारमा बेखबर भएर बाँच्छन्, बेखबर भएर नै मर्छन्। मजस्तै, तपाईजस्तै। हामीजस्तै।

‘म घर जान चाहन्छु..’ अपहरणमा पर्नेबित्तिकै वीराले रुँदै मलाई भनि। तर, अलीले त्यो कुरो सुनेन। या सुनेर पनि वास्ता गरेन। अलीले जे भन्थ्यो, मैले त्यही गर्थे। वा भनौ, गर्नै पर्थ्यो। ‘महावीर! यो केटीले घर जान्छु भन्ली। जान नदिनु। खान्छु भन्ली; खान चै दिनु। अनी ट्रकमा हालेर मैले रोक नभनेसम्म कुदाईराख्नु। यता उता।’ अलीले मलाई आदेश दिएको थियो। आखिर म अलीद्वारा निर्देशित थिए, ईम्तियाज अली।

‘म घर जान चाहन्छु…’ कुनै एक अमुक वीरबहादुरले राजधानीबाट रुँदै भनेको कुरो मैले ट्रकको रेडियोमा सुने। तर, ओलीले त्यो कुरो सुनेन। या सुनेर पनि वास्ता गरेन। ओलीले जे भन्यो सबैले त्यही गर्थे। वा भनौ, गर्नै पर्थ्यो। ‘वीरबहादुरले घर जान्छु भन्ला। जान नदिनु। खान्छु भन्ला। खान नदिनु’ सायद ओलीले अलीको भन्दा क्रुर आदेश दियो। त्यो आदेश मैले चै सुनिन। तर, जसले सुन्यो त्यसले आदेश पुरा शिरोपर गर्यो। आखिर देश ओलीद्वारा निर्देशित थियो, अमुक ओली।

वीरा घर जान पाईन। वीरबहादुर पनि घर जान पाएन। कैयौं वीरबहादुरहरु घर जान पाएनन्। वीरा लाचार थिई। वीरबहादुर लाचार थियो। वीरबहादुरहरु सबै लाचार थिए। म, महावीर पनि लाचार थिए।

हामी वीर थियौ। 

तर लाचार थियौ।

हामी लाचार थियौ

र त वीर थियौ।

हामी लाचार नभईकन वीर कहिल्यै हुन सकेनौ।

भुपी शेरचनले नयाँ कविता लेख्ने बेला भएन र ?

वीरा मसँग सुरुको दिनहरुमा बहुत डराउँथी। रुन्थी, चिच्याउथी; भाग्न खोज्थी। तर, समय बित्दै जाँदा वीरा मसँग डराउन छोडी। बरु उल्टै जिस्किन पो थाली।

सन् १९७३ मा स्विडेनको स्टकहोममा चार जना आम नागरिकलाई बन्दी बनाएर एउटा बैंक लुटिदै थियो। बहुचर्चित स्पेनिश सिरियल ‘मनी हेईस्ट’ हेर्नु भएको छ भने तपाईले बैंक लुटिदै गरेको दृश्य कस्तो हुन्छ भनेर कल्पना गरिसक्नु भयो होला। यदी नहेरेको भए पनि कल्पना गर्न खासै समस्या नहुनु पर्ने हो। समयक्रम सँगै ति बन्दी बनाईएका नागरिकहरुको बैंक लुटेराहरुसँग एकप्रकारको भावनात्मक सम्बन्ध जोडिन पुग्यो। त्यो सम्बन्ध कतिसम्म गहिरो भएको थियो भने पछि अदालतमा पनि लुटेराहरु विरुद्ध बयान दिन उनीहरुले मान्दैनन्। वा भनौ, सक्दैनन्। जसलाई जानकारहरुले ‘स्टकहोम सिन्ड्रोम’ भनेर नामाकरण गरिदिए। ‘मनि हेईस्ट’मा मोनिका पनि डेन्भर सँग त्यसरी नै भावनात्मक भएर जोडिन पुग्छे। पछि गएर उसको नाम नै ‘स्टकहोम’ हुन्छ भनेर पनि तपाईलाई थाहा नै होला। 

मसँग मनोविज्ञानको खासै ज्ञान नभएको कारणले गर्दा  वीरा मसँग त्यस्तै केही सिन्ड्रोम को कारणले डराउन छोडेको हो कि अन्य कुनै आन्तरिक कारणले हो केही पनि थाहा पाउन सकिरहेको थिईन। साँच्चै भन्ने हो भने, वीरा खुल्दै गएको मलाई भित्रैबाट मिठो लागिरहेको थियो।

अपहरण भएपछि वीराले आफुलाई चिन्ने मौका पाएको थिई। उ आफुसँगै खुलिरहेको थिई। लकडाउन भएपछि पुगीसरी आएको तपाईले पनि बल्ल आफ्नो लागी, परिवारको लागी समय निकाल्नु भएको थियो। नयाँ नयाँ शोख जन्माउनु भएको थियो। अझ नविनतम् परिकारहरु बनाएर चाख्नु पनि भएको थियो र संजालमा राखेर वाहवाही बटुल्नु पनि भएको थियो। यदी मैले संजाल चलाउने भएको भए तपाईको परिकारलाई एउटा ‘वाह’ गरिदिने थिए। 

लकडाउनको घोषणा हुने बेलामा देशका गरिखाने जनताहरु डराईरहेका थिए। कति रोगले मरिएला भनेर डराएका थिए; कति भोकले मरिएला भनेर। तर जे होस्, डराउन चै डराईरहेका थिए। पछि समयक्रमसँगै कोरोनाप्रति जनताको डर हराउदै जान थाल्यो। के सारा जनता ‘स्टकहोम सिन्ड्रोम’ को शिकार भईरहेका थिए ? थाहा छैन।

प्रत्येक डरको एउटा सिमा हुने रहेछ। रोगले मरिएला कि भन्ने डरलाई भोकले मरिएला कि भन्ने डरले जित्यो। किनभने रोगले कहिले मार्छ थाहा थिएन; तर भोकले अहिले नै मार्थ्यो। भोकको डरले रोगको डरलाई जितेपछि मान्छेहरु सडकमा निस्किन थाले, आन्दोलन गर्न हैन। खान। बाँच्न। लाग्यो, मान्छेहरु पनि वीरा जस्तै भएका थिए। उनीहरुले एउटा डरलाई जितिसकेका थिए। मान्छे तपाई-हामीले सोचेजस्तो काँतर चै नहुने रहेछ।

वीरा र मलाई लकडाउनले खासै असर गरेन, किनभने हामीलाई पुग्ने सामानहरुको बन्दोबस्त कसैले गर्दिसकेको थियो। लकडाउन अवधिभर पनि म वीरालाई लिएर ट्रकमै निस्फिक्री हिडिरहे, पहिले जस्तै। लकडाउन भए पनि नभएपनि त्यसले मलाई कुनै असर गर्दैन। म जुजुमान हुँ।

‘आत्महत्या गर्ने व्यक्तीको नाम वीरबहादुर रहेको……’  मैले रेडियोमा सम्चार सुने। यो आत्महत्या गर्ने अघिनै सुनेको घर जान चाहने वीरबहादुर हो या अर्को नयाँ वीरबहादुर हो; थाहा भएन। आखिर हाम्रो देशमा वीर र बहादुरहरुको कमी छ र ? जो भए पनि खान नपाएर वीरबहादुरहरु मरिरहेका थिए। भोकले बहादुर र काँतर नभन्दो रहेछ। रोगले धनी र गरीब नमान्दो रहेछ।

‘बन्दुकबाट निस्किएको गोलीले एकजनालाई मात्रै मार्दैन।’ बन्दुक खेलाउदै गर्दा मैले वीराको आँखामा आँखा नजुधाई पर हेरेर भनेको थिए ‘बन्दुकबाट निस्किएपछि गोली लाग्ने र गोली दाग्ने, दुईजनै मान्छे मर्छन्।’ गोली लाग्ने मान्छे तत्क्षण तत्काल मर्छ भने गोली दाग्ने मान्छे अलिअलि गर्दै ‘स्लो-डेथ’ मरिरहन्छ।

यस्तो लाग्छ कि अहिले सरकारले जनतालाई एउटा अदृश्य गोली हानिरहेको छ। जसको कारण जनताहरुको ठाउँको ठाउँ ‘स्पट-डेथ’ भईरहेको छ। तर, सरकारलाई के थाहा छैन भने उ पनि विस्तारै विस्तारै ‘स्लो-डेथ’ मरिरहेको छ। र, एकदिन सबैजना मिलेर सरकारको दाहसंस्कार गर्नेछन्।  ईतिहास पल्टाएर नै हेर्ने हो भने, जनताहरुले धेरै सरकारलाई आर्यघाटमा पुर्याईसकेका छन्। जनताभन्दा सरकार ठुलो कहिल्यै हुन सक्दैन। 

वीरालाई छुटाउनको लागी भनेर उसको परिवारले प्रहरी परिचालन गरिसकेको थियो। र, प्रहरीले मलाई मार्छ भनेर मैले थाहा पाईसकेको थिए। आखिर काल आएपछि जति नै टारे पनि मान्छे मर्छ नै। तर मरिन्छ भन्ने थाहा हुँदा पनि बाँच्ने चाहना भने नघट्दो रहेछ। हामी मृत्युलाई पनि घडीमा बज्ने अलार्मलाई जस्तो ‘स्नुज’ गरेर अलिक पर धकेल्न खोज्छौ। तर ‘स्नुज’ गरेको आयुले कहिलेसम्म धान्न सक्ने हो; अनिश्चित छ।

हिन्दी कथानक चलचित्र ‘हाईवे’को म, महावीर भाटी, अलीले ‘कट्..’ भनेपछि ब्युँतिन त सक्थे। तर, ओलीले जेसुकै भने पनि जतिसुकै चिच्याए पनि खान नपाएर आत्महत्या गरेको वीरबहादुर ब्युँतिन सक्दैन थियो। ओलीले आफ्नो आयु कैयौ पटक ‘स्नुज’ गरिसकेको छन् भनेर मैले रेडियोमा सुनिसकेको थिए। तर, त्यही मान्छेले अर्को आम मान्छेलाई बचाउन केही नगरेको देख्दा म बहुत अचम्मित भईरहेको थिए। कोही मान्छे कसरी यतीसम्मको आत्म-केन्द्रीत हुन सक्छ यार।

ट्रकको पुरानो रेडियोमा बजिरहेको साहित्यिक कार्यक्रममा त्यही बेला खै कुन्नी कसले हो लेखनाथ पौडेलको कविता सुनाउन थाल्यो -

मै खाउँ,मै लाउँ

सुख सयल वा मोज मै गरु

मै हासुँ, मै नाँचु

अरु सबै मरुन दुर्बलहरु…

र, नभन्दै एकदिन मैले सोचेजस्तै भयो - मलाई गोली हानियो। म मुर्दा भए। शहरको फेमस ट्याक्सी ड्राईभर ‘ट्राभिस बिकल’ले आफ्नो शव-वाहनमा मलाई मुर्दाघरमा लिएर गयो। मुर्दाघरको कुरुवाले मलाई ट्राभिसको हातबाट लियो र वीरबहादुरको लास छेउमा लगेर राख्यो। वीरबहादुर र मेरो निधारमा एउटै शब्द कोरिएको थियो - जनता।

त्यो देखेर मुर्दाघरको कुरुवा आश्चर्यचकित भयो किनभने उसको पनि निधारमा त्यही शब्द लेखिएको थियो - जनता। देशमा विविध कारणले जनताहरु भकाभक मरिरहेका थिए। वा भनौ, मारिईरहेका थिए। तर ताज्जुबको कुरो के थियो भने मुर्दाघरको कुरुवाले आजको मितीसम्म निधारमा ‘शासक’ लेखिएको कुनै पनि मुर्दालाई त्यस मुर्दाघरमा देखेको थिएन। किनभने शासकहरु कहिल्यै मरेका थिएनन्, फेरिएका मात्र थिए।

शासक भनेको व्यक्ती हैन, प्रवृत्ती हो। देशमा जस्तोसुकै व्यवस्था फेरिए पनि, जतिसुकै सरकार फेरिए शासक भने सधैँ एकै प्रवृत्तिका मात्रै रहेको पाईएको छ। 

हामीले शासन-व्यवस्था त फेर्यौ, तर नयाँ शासन-व्यवस्था चलाउनको लागी नेता चै फेर्न सकेनौ; पुरानैले काम चलायौ। त्यसैले होला, उहिल्यै देखि एकै प्रकृतीका शासकहरुले अनेकनेक हुलियामा हामीहरुलाई शासन गरिरहेकाछन्। अनवरत।

म अन्य ‘जनता’हरुसँगै मुर्दा भएर पल्टिरहेको थिए। मुर्दाघरले अब चै ‘शासक’लाई कुरिरहेको थियो।


सुन्नुहोस् त!  के ‘शासक’हरु साँच्चिकै अमर हुन्छन् हो ?

0 Comments:

Post a Comment

 
;