October 16, 2020

अब ‘सितायण’ लेखिनु पर्छ।

 
महाभारत जस्तो रामायणले खासै आकर्षित गर्न सकेन। किनभने मेरो विचारमा महाभारतको मुख्य पात्र भनेर ठ्याक्कै एकजना कोही पनि छैनन् - कृष्ण, अर्जुन, दुर्योधन, द्रौपदी, भीष्म ईत्यादी सबैजनालाई महाभारतको मुख्य पात्र मान्न सकिन्छ। तर, रामायणमा भने त्यस्तो छैन। रामायणमा राम मात्रै मुख्य पात्र हुन्, अरु सबै उनको वरीपरी घुम्ने सहायक। पुरै कथा रामको पराक्रम वरीपरी मात्रै घुम्दछ।

तर एकदिन मैले एउटा वार्तालापको क्रममा रामायणको मुख्य पात्र राम नभएर सीता चै हुन् भनेर थाहा पाए। र, त्यसले रामायणलाई हेर्ने मेरो दृष्टिकोण नै बदलदियो। आउनुस् लेखिएको तर स्पष्ट रुपमा नखुलाईएको, आफैले खोजेर बुझ्नु पर्ने रामायणको यो लुकेको पाटोबारे केही चर्चा गरौ। 




तर, त्यो भन्दा अगाडी तपाइले केहि पुर्व-घटनाहरुको बारेमा थाहा पाउनु पर्छ। यहाँ म त्यसको छोटो चर्चा गर्छु। यदी तपाईलाई यी पुर्व-घटनाहरुको बारेमा पुर्व-जानकारी छ भने सिधै वार्तालापमा जानुहोला।

पौराणिक कथन

भगवान विष्णुका दुई जना पार्षद थिए - जय र विजय। उनीहरुको मुख्य काम भनेको वैकुन्ठ लोकमा बसेर विष्णुको द्वारको रक्षा गर्नु थियो। भगवान विष्णुप्रती उनीहरुको एकदमै असिम श्रद्धा तथा भक्ती थियो र त्यसै भक्तीको कारण उनीहरुमा अहंकार पनि बढ्दो रुपमा थियो। विष्णुको सबैभन्दा महान भक्त आफु भएकोमा उनीहरु घमन्ड गर्दथे।

एकपटक ब्रम्हाजीका चार मानसपुत्र शनदादी ऋषीहरु भगवान विष्णुको दर्शन गर्न भनी वैकुन्ठधाम गए। उनीहरू वैकुन्ठधामको छ वटा द्वार पार गरी सातौ द्वार अघि पूगेका मात्र के थिए, द्वारमा खडा भएका जय-विजयले बालक स्वरुपमा आएका शनद, शनातन, शनन्दन र शनत कुमारलाई सामान्य बालक ठानेर वैकुन्ठधाममा छिर्न नै दिएनन्।

शनदादी ऋषीहरू सदैव बाल-स्वरुपमा नै रहन्थे, जुन कुरो जय र विजयलाई थाहा थिएन। जय र विजयको घमन्ड तोड्नकै लागी भनेर भगवान विष्णुले महामाया मार्फत शनदादी ऋषीलाई बैकुन्ठमा आव्हान गर्नुभएको थियो। अफसोच, अहंकारले आखाँ छोपिएका जय-विजयले ऋषिहरुलाई चिन्न सकेनन्।

शनदादी ऋषीहरुलाई काम, क्रोध, लोभ, मोह केहीले पनि छुदैन थियो तर महामायाको प्रभावमा रहेको हुनाले शनादादी कुमारहरूले द्वारमा रोकेर द्वारपालले अपमान गरेको भनी क्रोधपुर्वक जय र विजयलाई श्राप दिए। सिद्ध व्यक्तीमा क्रोध हुँदैन तर महामायाको प्रभावबाट सिद्ध व्यक्ती पनि मुक्त हुन सक्दैन भनेर हामीले यहाँ बुझ्नु पर्छ।

आफ्नो गल्तीको महसुस भएपछि दुई पार्षदहरु विष्णुसमक्ष गएर बिलौना गर्न थाले। पार्षदको विलौना सुनेपछि भगवान विष्णुले शनदादी ऋषीसमक्ष गएर श्राप फिर्ता लिईदिन अनुरोध गरे। तर, एकचोटी श्राप दिएपछि त्यसलाई फिर्ता गर्न मिल्दैन भनेर शनदादी मुनीहरुले भगवानलाई उत्तर दिए।

लगत्तै, फिर्ता लिन नसके पनि श्रापलाई परिमार्जन गर्न भने सकिन्छ भनेर शनदादी ऋषीहरुले जय र विजयलाई दुईवटा विकल्प दिंदा भए -

पहिलो: पृथ्वीमा सात पटक जन्म लिनुपर्ने, विष्णु भक्ति गर्न पाइने तर दर्शन चाही सातौं जन्म पश्चात मात्र गर्न पाइने 
दोस्रो: पृथ्वीमा सात पटक जन्म लिनुपर्ने, विष्णुको परम दुश्मन हुनुपर्ने र प्रत्येक जन्ममा विष्णुकै हातबाट मृत्युवरण गर्नुपर्ने

जय र विजयले लामो समयसम्म विष्णुबाट टाढा रहन नसक्ने भन्दै दोस्रो विकल्प रोज्दा भए। फलस्वरुप सत्युगमा जय-विजयको जन्म हिरण्याक्ष र हिरण्यकश्यप को रुपमा भयो। त्रेता युगमा रावण र कुम्भकर्णको रुपमा भयो। अन्तिम, द्वापर युगमा शिसुपाल र दन्तवक्रको रुपमा भयो। र, यी सबैको वध भगवान विष्णुले नै आफ्ना विभिन्न अवतार मार्फत गर्नु भयो।

प्रत्येक जन्ममा उनीहरुले आफ्नो पुर्वजन्मको सम्पुर्ण कहानीहरु भुल्दथे। आफुले आफ्नै भगवानसँगै दुश्मनी लिएको छु भनेर पनि उनीहरुलाई याद हुन्नथ्यो।

जयका तीन भिन्न जन्महरुमध्ये त्रेता युगमा रावणका रूपमा जन्मदा भने उ प्रकाण्ड विद्वान् भयो ।

रावणतार 

ऋषी विश्रवा तथा राक्षसी कैकेसीको कोखबाट जन्मिएको रावणको प्रारम्भिक शिक्षा आफ्नै पिताजीमार्फत भएको थियो। विश्रवा ऋषी त्यसबेलाको महान ऋषी मध्येका एक ऋषी थिए। आफ्नो महान पितासँगै बसेर रावणले सम्पुर्ण वेदको अध्ययन गरेका थिए।

भनिन्छ, त्यसबखत रावणले  ‘रावण-संहिता’ नामक ज्योतिष शास्त्र सम्बन्धी अदभुत किताब पनि लेखेका थिए।

समय बित्दै गएपछि रावणमा महत्वाकांक्षा पनि बढ्दै गयो। त्यहि बढ्दो महत्वाकांक्षाको कारण नै आफ्नो भाई कुम्भकर्णसँग मिलेर रावणले ब्रम्हाजीको आराधना गरी आफुलाई देवता-दानव कसैले पनि मार्न नसक्ने खालको वरदान समेत प्राप्त गरेका थिए।

उक्त वरदान पछि रावणमा झन् अहंकार बढ्दै जान थाल्यो। ब्रम्हाले दिएको वरदानको आधारमा आफ्नो सौतेनी भाई कुबेरलाई खेदाएर लंकाको राजा बनेपछि त रावणमा महत्वाकांक्षा र अहंकार झनै बढ्यो। रावणको सम्पुर्ण ध्येय आफुलाई अझ शक्तीसम्पन्न बनाउनमा मात्रै केन्द्रित थियो। परम-शक्तीको आराधना गरेर महा-शक्तीसाली बन्ने उद्देश्यका साथ उनले भगवान शिवजीको कठोर तपस्या गर्न सुरु गरे।

कैलाशसम्म पुगेर हजारौ वर्षसम्म ताण्डव-स्तोत्र गाएर उनले शिवजीलाई खुसी पार्ने अनेक कोसिस गरिरहे। रावणले शिव-पार्वती सहितको कैलाश पर्वत समेत उचालेका थिए पनि भनिन्छ। रावणको भक्तिबाट खुशी भएर शिवजीले रावणलाई आशिर्वाद स्वरुप चन्द्रहाँस तरबार र आफ्नो सम्पुर्ण शक्तीको स्रोत ज्योतिर्लिंग समेत दिईपठाउनु भयो।

नोस्टाल्जिया र सप्तशती पाठ 

मैले थाहा पाए देखि नै दशैं आएपछि हाम्रो घरमा नियमित रुपमा चण्डी पुजा गरिन्थ्यो। सुरुमा बाध्यताले गर्दा पुजामा बसेर चण्डी पाठ गरे पनि पछि भने मलाई दुर्गा सप्तशाती चण्डीको रस पस्दै गएको थियो। घर छाडेर हिडेपछि घर सँगसँगै चण्डी पाठ पनि छुट्यो। घरबाट हिड्दाखेरी, घर सँगै धेरै कुरा छुट्ने रहेछन् । कहिलेकाही फुर्सदमा तिनै छुटेका कुराहरु सम्झिएर म नोस्टाल्जिक हुने गर्दछु।

पण्डितजीसँगै लागेर पढ्दा दुर्गा सप्तशतीमा भएको कथाका अध्यायहरु मात्रै पढिन्थ्यो। पहिलो अध्यायबाट सुरु गरेर तेह्रौ अध्यायसम्म भएका कथाहरु मात्रै पढिन्थ्यो, रमाइन्थ्यो। त्यसभन्दा बाहेकको मलाई कसैले पढ पनि भनेन, मैले पनि पढिन। सायद पण्डितजीले नै संस्कृतमा पढ्नु हुन्थ्यो।

लकडाउन भएको बेला एकदमै फुर्सदिलो भईयो। मानसपटलको सहारामा बाल्यकालतिर डुल्दै गर्दा मलाई घरको याद आयो। घरसँगै दशैको याद आयो अनि दुर्गा सप्तशती चण्डीको पनि याद आयो र त्यही बेलादेखी मैले पुन: ‘दुर्गा सप्तशती चण्डी’ पढ्न सुरु गरे। मैले पहिलो पृष्ठको ‘श्री गणेशाय: नम:’ देखिन् अन्तिम पृष्ठको ‘ईति’ सम्मन् एकेक शब्दहरु केलाएर पढे। बुझ्न खोजे।

त्यसरी पढ्दै गर्दा ‘प्राधनिकं रहस्यम्’ अन्तर्गत केही गुथ्थी कुरा फेला पारेजस्तो महसुस भयो। त्यहाँ यो चराचर जगतको सृष्टिकर्ता आदी-शक्तीको बारेमा लेखिएको थियो। हामीले पुजा गर्ने भगवान, देवता तथा हामी डराउने दानव, राक्षस भन्दा मास्तिर पनि एउटा विशाल शक्ती रहेको छ, जसलाई आदी-शक्ती वा परम-शक्ती भनिन्छ। मान्छेहरु जति नै नास्तिक भए पनि, धर्म-विरोधी भए पनि उनीहरु एउटा विशेष शक्ती माथी विश्वास गर्ने गरेको पाईएको छ। त्यही शक्ती नै आदी- शक्ती हो। जुनसुकै धर्म मान्ने व्यक्तीले पनि आफ्नो धर्म अनुसार एउटा आदी-शक्ती माथी विश्वास गरेको पाईन्छ।

‘सर्वस्याद्या महालक्ष्मीस्त्रिगुणा परमेश्वरी ।
लक्ष्यालक्ष्यस्वरुपा सा व्याप्य कृंत्स्न व्यवस्थिता ।।’

अर्थात -  सत्व, रजो र तमो ३ वटै गुणले भरिपुर्ण महालक्ष्मी नै सम्पुर्ण चराचर जगतनिर्माणको प्रमुख कारण हुन्। महालक्ष्मी नै दृश्य-अदृश्य रुपले यो सारा संसारमा व्याप्त छिन्। उनैले यो संसारलाई व्यवस्थित गर्छिन्।

दुर्गा सप्तशती मार्फत के बुझाउन खोजिएको छ भने आदी-शक्ती को मुल स्वरुप भनेकै ‘महालक्ष्मी’ हुन्। महालक्ष्मी नै मुल-प्रकृती हुन्। महा-लक्ष्मी मार्फत नै महा-काली र महा-सरस्वती उत्पन्न भए। यिनै तिन शक्तीबाट पछि ब्रम्हा, विष्णु र शंकर प्रकट भएका हुन्।

त्यसकारण हामीले जति नै देवी-देवता तथा शक्तीको उपासना गरेपनि परमशक्ती अर्थात आदी-शक्ती भनेको महालक्ष्मी नै हुन्। 

वार्तालाप 

मेरो एकजना मित्र (?) हुनुहुन्छ। मित्र बन्नको निमित्त चाहिने मापदण्डमा राखेर नाप्ने हो भने एउटा मापदण्ड पनि हामीले पुरा गर्दैनौ। किनभने मलाई उहाँको बारेमा केही पनि थाहा छैन, यहाँसम्म कि नाम पनि थाहा छैन। हामी कुनै पनि सामाजिक संजालमा जोडिएको छैनौ। उहाँको प्रसंग आउँदा म विपुल क्षेत्रीको गीत सम्झन्छु ‘पाएर पनि नपाएजस्तो… चिनेर पनि नचिनेजस्तो….’ 

कसैसँग कतै नजोडिई पनि गफ गर्न मिल्ने प्रविधीको आविष्कार गरिदिएकोमा म एकपटक विज्ञानलाई धन्यवाद दिन चाहन्छु। त्यहि प्रविधिको प्रयोग गरेर हामी आक्कलझुक्कल गफ गर्छौ। विभिन्न विषयमा फुट्कर गफ गरेपनि घुमिफिरी हाम्रो गफको विषय मुलत: धर्म, अध्यात्म, दर्शन र योग नै हुने गर्दछ। हाम्रो गफगाफको शैली प्रश्न-उत्तर नभएर प्रश्न-प्रतिप्रश्न हुने गर्दछ। उहाँ लामो लामो सन्देश आफल्नु हुन्छ, म एकदमै छोटो छोटो। 

एकदिन, म बर्मामा रामायण सम्बन्धी कथा प्रकाशन गरेको कारण एकजना सम्पादकले राजीनामा दिनु परेको र पत्रिका नै बन्द गरिएको भन्ने समाचार पढ्दै थिए। 

मेरो हड्डी छामे जसरी अचानक खोपीसन्देशमा तिनै (अ)परिचित मित्रको एउटा प्रश्न आयो -
“रावणले सीताहरण किन गरेको होला ?”

“आफ्नो बैनी सुपर्णखाको बदला लिनको खातिर।” मैले किताबमा पढेको र टिभीमा हेरेको रामायणबाट आफुले जानेको कुरा निकालेर फ्याट्टै जवाफ फर्काए।

“पुगेन। अझ मिहिनेत गर्नुस्।” उताबाट (अ)परिचित मित्रले चित्त बुझाउनु भएन।

“बैनी सँगसँगै आफ्नो भाईहरु खर, दुषण र त्रिशिरको बदला लिन।” मैले अझ पारिवारिक कारण थपिदिए। किनभने रावणलाई भेट्नु अगाडी सुपर्णखाले खर, दुषणलाई राम - लक्ष्मणले आफ्नो अपमान गरेको भनेर सुनाएको थिईन्। र, राम-लक्ष्मणले उनीहरुको पनि हत्या गरेका थिए।

“तर, रावणले नै सुपर्णखा लगायत खर, दुषण हरुलाई पठाएको थियो नि। यो कुरा तपाईलाई थाहा छैन र ?” मेरो ज्ञानमाथी नै औला उठाउदै अर्को जटिल प्रश्न आईलाग्यो। रामायण निकालेर पढ्न थालौ कि क्या हो ?

“किन ? सीता -स्वयम्बरमा आफुले जित्न नसकेको भनेर बदला लिन ?” मैले अलिक फ्ल्यास-ब्याकसम्म पुगेर प्रतिप्रश्न गरे। उत्तर दिने भन्दा पनि हामी प्रश्न गर्नमै व्यस्त थियौ। वादे वादे जायते तत्वबोध।

“रावण को हुन् ?” चलिरहेको सन्दर्भ बाहिरको अर्को प्रश्न आयो।

“शिवजीको महान भक्त।” मैले तुरुन्तै भने।

“ब्रम्हाजी मार्फत लगभग अमर हुने जत्तिकै बरदान प्राप्त गरेपछि पनि रावण किन शिवजीको कठोर तपस्या गर्न गएको होला त ?” फेरि अर्को प्रश्न आयो।

“किनभने रावण महत्वाकांक्षी थियो। ब्रम्हाजीको तपस्या गर्दा उसले ब्रम्हाले पनि शिव-स्वरुपको उपासना गरेको थाहा पाएको थियो। अझ ठुलो शक्ती-स्वरुपलाई खुसी पार्न सके आफु अझ बलशाली बन्न सकिन्छ भन्ने उसको ध्येय थियो। तसर्थ, उसले शिवजीको भक्ती गर्न सुरु गर्यो।” मैले अलिकति यता-उता पढेर जानेको र बुझेको कुराहरु जोडजाड पारेर उत्तर टक्र्याए।

“तपाई कुरोको चुरोमा पुग्दै हुनुहुन्छ। तर पुगिसक्नु भ’को छैन। शिवजीको आराधना गर्नको निमित्त रावणले लामो समय कैलाश पर्वतमा बिताउनु पर्यो। त्योबेला उसले शिवजीले पनि आदी-शक्तीको उपासना गरेको थाहा पायो। र, उसमा अझ महत्वाकांक्षा जाग्यो।” उताबाट मलाई प्रतिप्रश्न आएन। मेरो उत्तरमाथी प्रतिउत्तर चै आयो। कुनै नयाँ कुरो पत्तो लाग्न आँटेजस्तो मेरो मनमा एउटा उत्साह दौडियो। ‘युरेका’ भनेर दौडिम् कि क्या हो।

“र, त्यो आदीशक्ती को मुलस्वरुप भनेको त फेरी महा-लक्ष्मी हो।” मैले आफुले भर्खरै पढेको ताजा दुर्गा सप्तशती चण्डी सम्झिए। “अनि महा-लक्ष्मीले माता लक्ष्मीको स्वरुप लिएर भगवान विष्णुसँग वैकुण्ठमा रहनु भएको थियो।” गुथ्थी कुरो फुस्किदै थियो।

यहाँनेर चै माथी पुर्व-घटनामा उल्लेख गर्न छुटाईएको एउटा छोटो उप-घटना जोड्नु पर्ने हुन्छ।

महामायाको अधिन

जब शनदादी ऋषीहरुले भगवान विष्णुले आफ्नो महामाया शक्तिको प्रयोग गरी आफ्ना पार्षदहरूको अहं तोड्न उनीहरूको प्रयोग गरेको भनेर थाहा पाए, तब उनीहरु आश्चर्यचकित भए । यसरी महामायाको प्रभावले गर्दा त्यस्ता सिद्ध बालसाधुहरूपनि क्रोधको वसमा परेका थिए। त्यसकारण आफुहरु जस्तै आफ्नो सम्पुर्ण गुण र शक्ती स्वयं भगवानले पनि बिर्सन परोस भनी तत्कालै भगवान विष्णु संग आग्रह गरे। जुन कुरा भक्तवत्सल भगवान विष्णुले राम - अवतारमा पुरा गर्नु भयो।

भगवान रामलाई आफु विष्णुको अवतार हुँ भन्ने थाहा थिएन, किनभने त्यो शनदादी ऋषीहरुको ईच्छा थियो। र,  रावणलाई परास्त गर्न विशुद्ध मानव भएर युद्ध गर्नु पर्दथ्यो। त्यही भएर रामको सुरक्षा दिन र सहयोग गर्न शेषनाग, गदा, चक्र, सुर्य, वायु, अग्नी, ईन्द्र ईत्यादी सबै देवताले पनि विभिन्न अवतार लिएका थिए। भगवान रामले कृष्णको जस्तो लीला देखाउन नसक्नुको कारण पनि त्यही नै हो। रामायणको अन्त्यमा काल आएर भगवान रामलाई अब वैकुन्ठ फर्कने बेला भयो भनेर गोप्य मन्त्रणा गर्दछन्, तब मात्रै रामलाई आफ्नो बारेमा थाहा हुन्छ अनी वैकुन्ठ फर्कन्छन्।

उप-घटना सक्कियो। अब पुन: वार्तालाप नै सुरु गरौ।

“लक्ष्मी माताले सीता भएर पृथ्वीमा जन्म लिनुभयो। जुन कुरा रावण जस्तो प्रकाण्ड विद्वानलाई थाहा नहुने कुरै भएन। तर उसले विष्णुको अवतार स्वरुप भगवान रामलाई भने शनदादी ऋषीको श्रापको कारण चिन्न सकेन।” म मखलेल भए किनभने रावणले सीताको अपहरण गर्नुको मुख्य कारण लगभग खुलिसकेको थियो।

“शक्तीको उपासक रावणले जब सीता नै प्रकृतिको मूल स्वरुप महालक्ष्मी हुन् भनेर थाहा पायो, तब उसले सीतालाई आफ्नो बसमा पार्नको लागी एकदमै मिहिनेत गर्यो। किनभने यस ब्रम्हाण्डकै आद्य शक्तिलाइ बसमा पार्नको निमित्त जोर-जबर्जस्ती गरेर हुँदैन। खुसी पार्नुपर्छ।” मैले कुरामाथी कुरा थपे।

हामीहरु एकअर्कालाई प्रश्न सोध्नुको सट्टा एक-अर्काको वाक्यहरु चै पुरा गर्दै थियौ। यस्तो लाग्थ्यो कि म आफैसँग बोलिरहेछु। कतै मेरो (अ)परिचित मित्र म आफै त होईन ? के यो सबै महामायाको मायाजाल हो ? जे पनि हुन सक्छ।

“गनेर हिसाब गर्दाखेरी रावणले सीतालाई पाउनको लागी चार चोटी प्रयास गरेको देखिदो रहेछ - सीता स्वम्बरमा सीतासँग विवाह गर्ने प्रयास, सुपर्णखालाइ प्रयोग गरेर रामको पत्नीव्रता धर्म भंग गर्ने प्रयास, खर-दुषणको प्रयोग गरेर रामको हत्या गर्ने प्रयास र अन्तत: छलपुर्वक सीताहरण ।” (अ)परिचित मित्रले गणितिय हिसाब निकाल्नुभयो।

“सुरुमा सीतालाई आफ्नो बनाउनको निमित्त रावणले सीताको स्वयंबरमा सहभागिता जनायो। स्वंयबरमा सीतालाई जित्न सक्छु भनेर रावण ढुक्क थियो किनभने स्वयंबरको शर्त थियो - शिवधनुषमा ताँदो लगाउने र रावणका आराध्यदेव नै भगवान शिव थिए।”

“तर, उसलाई सीता-स्वयंबरमा उसकै आराध्य-देव शिवको धनुषले धोका दियो। किनभने अहंलाई शिरोपर गरी आदि शक्तीलाई बसमा पारी ब्रम्हाण्डकै अधिपति हुने लालसा लिएर रावण स्वयंबर समारोहमा गएको थियो।  सीतालाई रावणले आफ्नो बनाउनु भनेको परम-शक्ती नै रावणको जिम्मा लगाउनु जत्तिकै थियो।” मैले आत्मप्रचारको लागी (अ)परिचित मित्रलाई आफ्नो पुरानो ब्लगको लिंक ठेल्दिए र भने “शिवजीको ज्योतिर्लिंग प्राप्त गरेपछि रावणले देखाएको अहंकारलाई मैले ‘कोटेश्वरको कथा’मा लेखिसकेको छु।” हामी कहिलेसम्म आत्मकेन्द्रित भएर बाँच्छौ होला है।

“जसै सीता र रामको विवाह भयो, रावणले सीतालाई आफ्नो पार्नको लागी नयाँ चाल रच्न सुरु गर्यो। रामको पत्नीव्रता धर्म भंग गर्न पाए सीतालाई आफ्नो पार्न सकिन्छ भन्ने रावणको ईच्छा थियो। त्यसैले उसले आफ्नी बहिनीको प्रयोग गर्यो। तर बहिनी सुपर्णखा असफल भईन्।” (अ)परिचित मित्रले रावणको व्याख्या गर्नुभो “रावणले आफ्नो स्वार्थ र अहंको लागी आफ्नो बहिनीलाई कुरुपताको पर्याय नै बनायो। पछी सुपर्णखाको नाक देखाएर रावणले आफ्नो कृत्यलाई ढाकछोप गर्न पनि खोज्यो। विडम्बना! अझै पनि कतिपयले रावणलाई ‘महान दाजु’ मान्दछन्।” 

“रामको पत्नीव्रता धर्म भंग नभएपछि हत्या नै गर्ने उद्देश्यले रावणले आफ्नो भाईहरु खर, दुषण र त्रिशिरको प्रयोग गर्यो। तर त्यती गर्दा पनि केही पार लागेन। रामले खरको वध गरेपछि उनको नाम नै खरारी भएको थियो। र, रावणको महत्वाकांक्षाकै कारण उसका परिवारजनले ज्यान गुमाउने क्रमको त्यो सुरुवात मात्रै थियो।” अहंकारले आफुलाई मात्रै हैन, आफ्नो वरिपरि पनि विनाश गर्दछ।

अन्ततोगोत्वा, रावणले आफ्नो मामा मारिचको प्रयोग गरेर सीताहरण गर्न सफल भएको थियो। 

“सीतास्वरुप महालक्ष्मीलाई बसमा नपारी रावण सफल हुँदैन थियो। उसले अनेक तिगडम लगाएर सीतालाई प्रभावित पार्ने कोसिस गरिरह्यो। तर केहि गरि पनि सफल भएन। आफ्नो कुनै पनि दैवी शक्ती तथा गुण र कुनै सरसहयोग बिना रावणको कैदमा सामान्य मानव जसरी बस्दा पनि महा-बलवान रावणले सीतारुपी महालक्ष्मीलाई कुनै पनि प्रकारले प्रभावित पार्न सकेको थिएन। सितारुपी महालाक्ष्मीलाई आफ्नो प्रभावमा पार्न रावणलाई मुस्किल भएको थियो। आफ्नो आदी-स्वरुपमा रहेका ब्रम्हाजी तथा शिवजीलाई समेत प्रभावित पार्न सक्ने बलशाली रावण एक मानव सँग हार्दै थियो।”

म सीतालाई सम्झेर अनि बुझेर आश्चर्यचकित भए। राष्ट्रकवि घिमिरे बितिहाले, नत्र उनको कविताबाट ‘सीताले सारा भिजाईन दक्षिण लंका भारत…..’ भन्ने लाईन परिमार्जन गर्नु हुन्थ्यो। हे राष्ट्रकवि ! सीताको आशुँले भारत भिजाएको हैन, सीताले संसार जोगाएको चै हो।

यदी रावणले सीतालाई आफ्नो वसमा पार्न सफल भएको भए सायद यो चराचर जगतले थाम्न पनि नसक्ने गरीको विनाश हुन्थ्यो होला। हामीले सीतालाई बुझ्न सकेनौ। वा भनौ, सीताको बारेमा हामीलाई राम्रोसँग बुझाईएन।

र अन्त्यमा,
‘रामायण’ लेख्नु भएकोमा महर्षी वाल्मिकीलाई हृदयदेखी नै म धन्यवाद दिन चाहन्छु। अब ‘सितायण’ लेख्न सक्ने र बुझाउन सक्ने अर्को महर्षी वाल्मिकी आउनु पर्छ। जसले वियोगमा तड्पिएर सीता मात्रै हैन रामले पनि विलाप गर्दै रोएको देखाउन सक्नु पर्छ। र, सबैभन्दा उत्तम पुरुष अर्थात रामको रुवाईलाई पनि सबैले सामान्य ठान्नुपर्छ। छोरो मान्छे भएर रुनु हुन्न र ?

हनुमान, लक्ष्मण, सुग्रीव, अंगद ईत्यादी महाबली को साथमा आएर रावण विरुद्ध भिड्ने रामको मात्रै हैन रावणको साम, दाम, दण्ड, भेद केहीबाट पनि विचलित नभई एक्लै सतिसाल चै खडा भएकी सीताको बहादुरीको पनि बयान गरिनु पर्छ। जसलाई सबैले स्विकार्नु पनि पर्छ। सीता पतिवियोगमा तड्पिएर रुँदै बसेकी एक लाचार महिला मात्रै होइनन्।

ईति शुभम्।






0 Comments:

Post a Comment

 
;