खै कताबाट के संयोग मिलेर हो, एकदिन मैले The Usborne Book of Classic Horror पढ्न सुरु गरे।
त्यो किताबमा ३ वटा बहुचर्चित ‘क्लासिक हरर’ कथाहरु छन् - Dracula, Frankenstein र Jekyll & Hyde. हुन त यी ३ वटै कथा मैले पहिल्यै पढिसकेको थिए, सायद तपाईहरुले पनि पढिसक्नु भएको होला। नपढे पनि कतै कहानी सुन्नु भएको होला वा फिल्ममा भए पनि हेर्नु भएको होला।
पहिल्यै पढिसकेको किताब पुन: दोहोर्याउनुको कारण चै यसलाई Usborne ले प्रकाशित गरेको हुनाले हो। मैले आजसम्म कुनै पनि किताबको Usborne - संस्करण पढेको थिईन।
सन् १९७३ मा Peter Usborne नामक एक व्यक्तिले आफु पिता बन्ने थाहा पाएपछि केहि पुस्तकहरु बाल-बालीकालाई सुहाउँदो हिसाबले प्रकाशन गर्न सुरु गरेका थिए। उनको त्यहि सुरुवात नै कालान्तारमा गएर आज Usborne नामक प्रतिष्ठित प्रकाशन गृह बन्न सफल भएको छ।
बाल-बालीकाले पढ्ने किताब प्रकाशन गर्ने संस्थाहरुमा Usborne को नाम सबैभन्दा अगाडि आउँछ।
Usborne ले चार्ल्स डिकेन्स, सेक्सपियर देखि लिएर इतिहास, भुगोल, मिथक, जासुसी, गणित, भाषा ईत्यादी सबै प्रकारको किताबहरु प्रकाशन गर्ने रहेछ।
Usborne ले निकालेको क्लासिक हरर पुस्तकको यो संस्करणमा एकदमै सरल र स्पष्ट भाषामा कथानकलाई प्रस्तुत गरिएको थियो। विकशित देशबाट प्रकाशित हुने यस्ता पुस्तकहरुमा पढ्ने मान्छेको उमेर सँगै किताबको क्लिष्टता पनि बढ्दै जाने रहेछ।
यो देखेपछि मलाइ खुसि साथसाथै दुख पनि एकैपटक लाग्यो।
खुशी, किनभने सानो उमेरमै केटाकेटीहरुले‘क्लासिक’ पुस्तकहरु आफ्नो हिसाबले पढ्न पाउछन्।
दुखी, किनभने हाम्रो देशमा यो प्रकारको चलन अहिलेसम्म सुरु गरिएको छैन।
हाम्रोतिर एकाध बाहेक बाल साहित्य को नाममा उही तानतुन पारिएका दन्त्यकथाहरु, चरा र जनावरका कथाहरु, पंचातन्त्रको कहानिहरुलाई परिमार्जन गरेर बनाइएका नैतिक कथाहरु बाहेक खासै उल्लेखनीय र गर्व गर्न लायक सामाग्रीहरु तयार पारिएको छैन।
मैले Usborne ले निकालेका पुस्तकहरुको चर्चा गर्दै गर्दा एकजनाले ‘बालबालिकाको लागी त तैबिसेक पुस्तकहरु उपलब्ध छन्। तर, ‘टिनएज’ का किशोर-किशोरीहरुलाई मध्यनजर गरेर त झन् केहि पनि नलेखिएको कुरा सुनाउनु भएको थियो।
न कसैले किशोर-किशोरीलाई लक्षित गरेर पुस्तक परिमार्जन गरेको छ, न कसैले मौलिक कथा नै सिर्जना गरेको छ। नेपाली पुस्तकहरुले यो ‘क्लस्टर’ लाई नछोएकै हो त ? सोच्न बाध्य भईयो।
यत्तिकैमा मलाई दुर्गा कार्कीको ‘कुमारी प्रश्नहरु’ पढ्ने मौका जुर्यो। जुन पुस्तकहरु उपलब्ध नभएर खाडल भएको थियो, त्यसलाई ‘कुमारी प्रश्नहरु’ले एक हदसम्म यो पुस्तकले पुर्ने कोशिस गरेको रहेछ।
मैले दुर्गा कार्कीलाई चिनेको छैन। उहिले एकताका ‘प्रसाद’ चलचित्रको समिक्षा पढेको थिए, अहिले युट्युबमा ‘प्रसाद’ चलचित्र आएपछि पुन: त्यो समिक्षा खोजेर पढ्दा पो थाहा भयो - त्यो दुर्गा कार्कीको समिक्षा रहेछ।
यो किताब लेखिनु पर्थ्यो, लेखियो। गज्जब भयो। दुर्गा कार्कीलाई त्यसको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु।
१३ वटा कथाहरु भएको यो कथासंग्रह ‘साईज’को हिसाबले एकदमै ठिक्कको किताब हो। म अलिक सनकी र झुरपटाँस टाईपको अल्छे पाठक थिईन भने यो एक दिन मै पढेर सक्किन्थ्यो।
तर मैले केहि हप्ता लगाए।
नढाँटी भन्नुपर्दा पहिलो कथा ‘लाईट बाल्ने केटो’ पढेपछि मेरो किताब प्रती एकप्रकारको मोहभंग नै भएको थियो। मैले किताबलाई नपढी त्यतितिकै हापिदिए किनभने मेरो लागि त्यो कथा सन् ८० र ९० को दशकमा मिथुन चक्रवर्तीले खेल्ने ‘रोमान्स’ र ‘सोसल ड्रामा’ वाला फिल्मको कथाजस्तो थियो।
समाजले मलाई हेप्यो, त्यसैले म अपराधी भए, मैले बोलेका धेरै कुराहरु झुटा हुन् तर तिम्लाई गर्ने प्रेम साँचो हो… मार्काको कथाहरु अझै पनि लेखिनु र छापिनु एकदमै दु:खद कुरा हो। हामी योभन्दा धेरै अगाडी बढ्न सक्नु पर्छ। किशोरवयका कथा भन्ने बित्तिकै फिल्मि स्टाइलकै कथा लेख्नु पर्ने हो र ?
धन्न कार्कीको लेखनशैली गज्जबको भएकाले कमजोर कथानक भएपनि पढ्न झिंजो चै लागेन।
लगभग एक हप्तापछिको कुरा हो, म मित्र रमेश तिमिल्सिनासँग गफिदै थिए। गफगाफकै सिलसिलामा मैले ‘कुमारी प्रश्नहरु’ पढ्न सुरु गरेको तर पहिलो कथा पढेपछि हापिदेको कुरा सुनाए।
मित्रले भन्नु भयो - दाजु पहिलो कथा अलिक झुर छ, त्यसपछिको कथाहरु पढ्नलायक छन्। तर, चर्चा भएजत्तिको उत्पात चै छैन है, केही कमजोरीहरु भने पक्कै छन्।
लगत्तै दोस्रो कथा ‘चाउमिन’ पढ्न सुरु गरे र त्यस कथाले चै दिमाग नै हल्लाइदियो। त्यो कुनै स्वैरकाल्पनिक कथा थिएन, तपाई हामीले देखेको र भोगेको कथा थियो।
श्रीमानले छाडेर गएपछि श्रीमती एक्लैले घर चलाएको र त्यसले छोरीलाई पारेको प्रभाव पढ्दा जोकोही सोच्न बाध्य हुन्छ। भन्नु परोईन, यो कथामा एउटा सिंगो समाज नै देखिएको छ।
‘चाउमिन’ तपाईले र मैले देखिरहेको नै कथा हो। तर कसैले पनि यस कथालाई यस्तरी कलात्मक पाराले लेखेको थिएन।
लगत्तै ‘फ्यामिली फोटो’ भन्ने कथा रहेको छ। यसो हेर्दा दुवै कथा समान ‘प्लट’ मा फरक-फरक ‘क्यारेक्टर’ राखेर तयार पारेको जस्तो देखिने रहेछ। ‘क्यारेक्टर’ फरक भएपछि तिनीहरुको ‘ब्याक-स्टोरी’ पनि फरक हुने त भईहाल्यो। त्यसले नयाँपन दिन्छ।
तर, उस्तै प्लट भएपछि कथा पनि ‘रिपिटेड’ भए जस्तो महसुस हुने रैछ। पढ्दै गयो - ए यो त मैले पहिले नै पढिसकेको पो थिए कि जस्तो हुन्छ।
दुइ वटै कथा गज्जब छन्, तर उस्तै उस्तै प्लटको सहायता नलिएको भए झन् गज्जब हुने थियो कि ?
त्यस्तै अरु दुइवटा कथा ‘निर्दिष्टा पार्ट - २’ र ‘कुमारी प्रश्नहरु’ पनि केटा र केटी घनघोर प्रेममा परेको र बिचमा केहि अवरोध आइपरेर अघि बढ्न खोज्दा केटाले धोका दिएको प्लटमा तयार छ।
यो कथाहरुले उठाउनु पर्ने नै मुद्दा उठाएको छन्, तर यिनीहरु अझ धेरै गज्जबको हुन सक्थे। लेखकलाई आफ्नो कथाको ‘स्कोप’ आफैलाई थाहा हुन नसकेको भान पर्ने रैछ।
यो संग्रहमा भएका १३ वटा कथा मध्ये ३ वटामा पुरुषलाई प्रमुख पात्र बनाएर लेखिएको छ। हुन त महिला भएर पुरुषको अनुभुती उतारेर धेरैले कथा लेखेका छन्। त्यो धेरैको भीडमा पनि दुर्गा कार्कीले आफ्नो अलग पहिचान बनाएको कुरा लगभग सत्य हो।
र, सबैभन्दा लोभलाग्दो चै कार्कीको लेखनशैली नै रहेको छ।
कार्कीको किताबका अधिकांश पात्रहरु एक हिसाबले क्रान्तीकारी छन्। ठ्याकै क्रान्तिकारी भन्ने शब्द त सुहाउदैन तर मैले ‘अनकन्भेन्सनल’ लाई न्याय गर्ने अर्को नेपालि शब्द नै भेट्टाईन, त्यसैले क्रान्तिकारी नै भन्न चाहन्छु।
‘रगत’ मा महिनावारीको रगतलाई बठ्याईपुर्वक प्रयोग गरेको होस् वा ‘कालो चस्मा’ मा दुर्व्यवहार विरुद्ध लिएको अडान होस् या ‘साथे’ मा बुढेसकालमा जिवनसाथी खोजेको कथा होस्; कथामा भएका पात्रहरुले एकप्रकारको ‘क्रान्ति’ नै गर्छन् भन्दा फरक पर्दैन।
यसमा भएको ‘सँघार’ कथाको अनुराधा जस्तो धेरै किशोरीहरुले ‘टक्सिक रिलेसनसिप’ मा बाँचिरहेको मैले देखेको छु। पढ्दै जाँदा यो कथा तिनीहरुलाई पढाईदिन पाए कति गज्जब हुन्थ्यो होला है जस्तो पनि लागेको थियो।
कथामा जोडिने अर्को मुख्य विषय भनेको यौनिकताको कुरा हो। यदी कुनै कथामा यौनको कुरा आउँछ भने त्यसलाई कलात्मक ढंगले प्रस्तुत गर्नुपर्छ नत्र त्यो साहित्य नभएर भद्दा प्रकारको बजारु यौनकथा जस्तो देखिन्छ। त्यस विषयमा चै हामीले अलिक ख्याल गर्नुपर्छ।
दुर्गा कार्की र मैले देखेको समाज एउटै हो र यो संग्रहले पनि त्यहि समाजको कथा बोल्छ। कुनै पात्रमा मैले आफुलाई देखे, कुनैमा आमालाई, कुनैमा दिदीलाई। कुनै घटना मैले पनि भोगेको थिए, कुनै देखेको थिए, कुनै सुनेको थिए। सबै कथाहरु घोलिएर आएका छन्।
सबै कथालाई भन्न त नसकिएला तर अधिकांश कथामा पात्रहरुलाई समस्या हुन्छ। उनिहरुलाई एकजना अर्को पात्रको ‘गाइडेन्स’ हुन्छ। र अन्त्यमा तिनीहरुले आफ्नो समस्या माथी विजय प्राप्त गर्छन्। वास्तविक जीवनमा साँच्चै यस्तो हुन्छ होला त ?
प्राय: कथा उस्तै सुत्रमा बाँधिएको देख्दा चै कम्तिमा एउटा कथा चै अन्त्य सम्म पनि ‘रियालिस्टिक’ भईदिए कस्तो हुन्थ्यो होला भन्ने कौतुहुलता जाग्दो रैछ। समाजको घटना नै टिपेर लेखिएको ‘रियालिस्टिक’ कथाहरुको अन्त्य पनि ‘रियालिस्टिक’ बनाउने कि ? जिन्दगीमा सबैले आफ्नो समस्यामाथी विजय प्राप्त गर्छन् र ?
केही औसत, केही उम्दा, केही काँचा र केही पाकेका कथाहरु समेटिएर आएको हुनाले पनि यो किताब पढ्न लायक छ। तर पनि कतिपय कथाहरु अझै परिष्कृत बनाउन सकिन्थ्यो कि जस्तो लाग्दो रैछ। आफुले लेखेको कथासँग एकप्रकारको लगाव त हुन्छ नै तर लगाव भएजति सबै कथालाई संग्रहमा राख्न पनि मिलेन। आफ्नो कथालाई लिएर अलिकति क्रुर बन्ने कि ? ‘अदुवा’ र ‘मनमाया’ हरु तुलानात्मक रुपमा काँचो देखिन्छन्। तिनीहरुलाई अझै परिष्कृत बनाउन सकिन्थ्यो।
एउटै प्लटमा फरक-फरक पात्र राखेर दोहोर्याउदा चै धेरै समेट्नु पर्ने कथाहरु छुटेको महसुस हुने रहेछ। आशा छ, आगामी कथाहरुमा चै समलैंगिकता, भेदभाव, लगायतका अन्य विषयहरु पनि समेटिनेछन्। लेखकसँग आश गर्न त पाइयो नि हैन ?
विभिन्न पुस्तालाई सुहाउने हिसाबले ‘कस्टमाईज’ गरेर पुस्तकहरुको प्रकाशन गर्न नेपालमा पनि Usborne को सुरुवात होला, नहोला त्यो ठाउँमा छ। तर अहिले चै उबेला हामीले पढ्न खोजेको तर नपाएको कथाहरु दुर्गा कार्कीले लेखेकी छिन्। त्यसलाई पढौ।
र अन्त्यमा,
कागजको किताब ढुवानी गरेर पढ्न अहिलेको तत्कालिन अवस्थामा अलिकति सम्भव नभएको हुनाले ई-बुकमा भर पर्नु परेको छ। मोबाईलमा किताब पढ्न लास्टै गाह्रो हुने रैछ हौ, वसन्त सर।
0 Comments:
Post a Comment