December 28, 2020

भाषा-भृत्य

[Published in Shilapatra]

सूचना

आउनुस्, आज म तपाईहरुलाई कहानी सुनाउछु। तर, यो मेरो मौलिक लेखनी भने होईन। अरुले पहिले नै लेखेर प्रकाशित गरिसकेको ‘कन्सेप्ट’लाई चोरेर म यहाँ प्रस्तुत गर्न गईरहेको छु।


तपाई मलाई लेखक नभनेर परिमार्जक भन्न सक्नुहुन्छ; तर यदी तपाई ‘हार्डलाईनर’ व्यक्ति हो भने चोरक पनि भन्न सक्नु हुन्छ। आगे तपाईको मर्जी। मलाई कुनै गुनासो हुने छैन।



मेरो एकमात्र गुनासो भनेको यो कहानीको मुल सोचकको नाम अहिले ठ्याक्कै सम्झिन नसकेकोमा छ। यसको मौलिक सोचकले यो पढिसकेपछि मलाई सम्पर्क गर्नेछन् भन्ने झिनो आशा गर्दछु।


कहानी - १


स्थान: पशुपति आर्यघाटको आसपास

समय: साँझको ठिक ५:५५ बजे


ब्रम्हनालमा एउटा फ्रेस लास सुतिरहेको थियो। लासको वरपर कुनै मलामी थिएनन्। वेवारिसे लासको व्यवस्थापन गर्ने बहुचर्चित किशोरीले त्यो लासको छोराले गर्नुपर्ने कर्तव्यहरु गर्दै थिईन्। म बागमती पारीबाट ब्रम्हनालमा लम्पसार परेको त्यस लासलाई आखाँ पनि नझिम्क्याईकन हेरिरहेको थिए।


ब्रम्हनालको छेउमै रहेको विरुपाक्षको मुर्तीसँग गफ गर्दै कुमार नगरकोटी खै के-के टिप्दै बसिरहेको थियो। सायद यही ५ बजेर ५५ मिनेट गएको समयमा कुमार नगरकोटीले आफ्नो बहुचर्चित कविता विरुपाक्षको मुखबाट टिपोट गरेको हुनुपर्छ। तर नगरकोटीको कवितामा लेखिएजस्तो त्यो लास कुनै महिलाको नभएर पुरुषको चै थियो। ढँटुवा नगरकोटी।


तपाईले ध्यान दिएर लासको अनुहार हेर्नुभयो भने तपाईले त्यो लास मजाले चिन्नु हुनेछ। त्यो लास शहरको ‘फेमस’ सम्पादकको थियो। ‘फेमस’ सम्पादक भन्दा तपाईलाई जसको अनुहार आखाँ अगाडी आयो, त्यो लास त्यही सम्पादकको थियो। यहाँ तपाईहरुलाई आफ्नो पात्र आफैलाई छनोट गर्ने सुविधा रहेको छ।


लास हेर्दैखेरी थाहा हुन्थ्यो - त्यो प्राकृतिक पाराले लास भएको लास होईन; जघन्य हत्यापछि लास भएको लास हो भनेर। शहरको ‘फेमस’ सम्पादकको हत्या भएको थियो, तर कोही पनि मलामी थिएनन्। घोर आश्चर्य। त्यत्रो घागडान व्यक्तीको अन्त्येष्टी पनि बेवारिसे लास व्यवस्थापन गर्ने किशोरीले पो गर्दै थिईन्। 


किन कोही पत्रकार मलामी आएनन् ? एउटा सम्पादकको असामयिक र अप्राकृतिक मृत्युमा एउटा पनि पत्रकार नआउनुको कारण के-के हुन सक्ला ? के पत्रकारहरुले अझैसम्म तलब पाएका छैनन् र ? किन कोही पाठक मलामी आएनन् ? किन कोही राजनैतिक पार्टीका नेताहरु सम्पादकलाई झन्डा ओडाउन आएनन् ? म सोचमग्न हुँदै थिए।


म सोचमग्न हुँदै गर्दा ति किशोरीले लासलाई अघिनै कतिखेर उठाईवरी चितामा राखिसकेको रैछिन्। लासको सम्पुर्ण लुगा फुकालेर जलाउनै आँट्दा मैले लासको छातीमा ठुलो अक्षरमा भाषा-भृत्य लेखेर डामिएको देखे। ति किशोरीले पो बरु त्यो डामिएको देखिन् कि देखिनन् ?


हिजोआज शहरमा बेवारिसे लासहरुको संख्या बढ्दै गईरहेको थियो। सायद त्यही कारणले होला, ति बहुचर्चित किशोरीले हतार-हतार नियम पनि राम्रो सँग पालना नगरी सम्पादकलाई दागबत्ती दिएर गईन्। कुमार नगरकोटी चै विरुपाक्षको एकालाप रेकर्ड गराउन गईसके जस्तो छ, देखिएन।


र, यसरी मेरो आँखै अगाडी ‘फेमस’ सम्पादकको गुमनाम मृत्यु भईसकेको थियो। दुनियाँलाई दुनियाँको खबर दिने व्यक्तीको आज दुनियाँसँगै बेखबर भएर मृत्य भईसकेको थियो।


कहानी - २


स्थान - कुनै अमुक प्रकाशन गृहको छापाखाना

स्थान - बेलुकाको साढे सात बजे


सायद यतिखेर मलाई साढे सातको दशा लागेको थियो, त्यसैले म ठिक साढे सात बजे नै केही दिन अगाडी बुझाएको आफ्नो आगामी किताबको पाण्डुलिपीको बारेमा बुझ्न प्रकाशकलाई भेट्न गएको थिए। 


अब कुन प्रकाशक भनेर तपाई सोचमग्न हुनुभयो होला। यसो गरौ, देशको सबैभन्दा ‘फेमस’ प्रकाशक भन्दा तपाईलाई जसको याद आउँछ; त्यही प्रकाशकको कार्यालय भनेर बुझौ। यो कहानीमा पनि आफ्नो ईच्छा अनुसार पात्र तयार पार्ने छुट तपाईलाई दिईएको छ।


तर म प्रकाशकको कोठामा प्रवेश गर्दै गर्दा अत्यधिक आश्चर्यचकित भए। मैले ‘प्रुफ-रिडिंग’ गर्नको लागी भनेर पठाएको पाण्डुलिपी छापाखानामा छापिईसकेको थियो। प्रकाशक महोदय त्यही पाण्डुलिपी पढ्दै हुनुहुन्थ्यो। पुस्तक यति छिटो प्रकाशित भएको थियो कि त्यसको ‘प्रुफ-रिडिगं’ भएको छैन भनेर म विश्वस्त थिए।


प्रकाशक महोदयको छेउमा गएर मैले शिष्टाचारपुर्वक नमस्कार गरे तर मेरो नमस्कारको नाश भयो। उहाँले त्यो फिर्ता गर्नुभएन। मैले यसो उहाँको हातमा भएको किताब लिन खोज्दा पो थाहा पाए - ठ्याक्कै सम्पादकको हत्या भएजसरी प्रकाशक महोदयको पनि हत्या भईसकेको रहेछ। उहाँको छातीमा पनि स्पष्टसँग भाषा भृत्य लेखेर डामिएको थियो।


मैले प्रकाशकको हत्या भएको कुरा बाहिर छापाखानामा काम गर्ने कामदारहरुलाई सुनाए। तर उनीहरुले ‘बाल’ दिएनन्। आफ्नै अन्नदाताको हत्या हुँदा पनि किन उनीहरुले किन कुनै पनि आपत्ति जनाएनन् ? आ होस्, म पनि ‘बाल’ नदिई त्यहाँबाट साईड लागे।


शहरमा एकैदिन एकैप्रकारले दुई जना प्रबुद्ध व्यक्तीहरुको हत्या भईसकेको थियो। तर कसैलाई पनि त्यसले प्रभावित पारेको थिएन। यहाँसम्मकी कतै पनि त्यो हत्याको बारेमा समाचार आएको थिएन।


कसैलाई कसैको वास्ता छैन। के कलियुग उग्र-चरण भनेको यहि हो त ? जमिन मुनिबाट विरुपाक्षको मुर्ती पुरै निस्किसक्यो र! अघि यादै गरिएनछ।


कहानी - ३


स्थान : कोटेश्वरको ‘फेमस’ अप्सरा गल्ली

समय : तपाईलाई पायक पर्ने कुनै एउटा समय


म त्यतिबेला अप्सरा खाजाघरको छेवैबाट गल्लीको बाटो भएर हिडिरहेको थिए। खाजाघर भित्र एउटा अजिबोगरिब वस्त्राभुषण पहिरिएको पहलमान र असरल्ल फिंजिएको दारीकपाल भएको फुकिढल एक्ला-एक्लै बर्बराउदै सोमरस पान गर्दै थिए। पहलमानको खुट्टाबाट रगत जस्तै बगिरहेको थियो।


म त्यतै हेरेर अगाडी बढ्दै थिए;  देखे - गल्लीको मोडमा एउटा नवयुवक रगतपच्छे भएर लडिरहेको थियो। यहाँनेर तपाइहरुले कुरो बुझिसक्नु भयो होला, उसको पनि उसैगरी हत्या भएको थियो। उसको छातीमा पनि उसैगरी भाषा-भृत्य लेखेर डामिएको थियो। लाग्थ्यो, शहरमा सिरियल-किलरको आतंक फैलीसकेको छ। तर यो लास देखेर म अलिकति पनि अचम्मित भईन, सामान्य रुपमा नै लिए। जब समाजमा मान्छेको मृत्युको सामान्यीकरण गर्न थालिन्छ, तब सम्झिनुस त्यो समाजबाट मानवताले आफ्नो झोलितुम्बी उठाएर गइसकेको छ।


सुनसान गल्लीमा एउटा बेवारिसे लास फेला पर्यो भने तपाई एक असल नागरिकको हैसियतले प्रहरीलाई खबर गर्नुहुन्छ होला। तर म त्यतिसाह्रो असल नागरिक थिइन। त्यसैले मैले प्रहरीलाई खबर गर्नु अगाडी सुरुमा लासको गोजी खानतलासी गरे। 


त्यो एउटा विद्यार्थीको लास रहेछ। गोजीमा मोबाइल फोन, क्याम्पसको कार्ड, आईएलटिएस भर्ना भएको रसिद, १००-५० का पुराना खुम्चिएका नोट, डेट एक्सपायर भइसकेको कण्डम लगायतका सामाग्रीहरु थिए। त्यति धेरै चिजबिज हुँदा पनि त्यहाँ मलाई काम लाग्ने कुनै पनि सामग्री थिएनन्। 


अहिलेसम्म शहरमा ‘हाइ-प्रोफाइल’ व्यक्तीहरुको मात्रै हत्या भइरहेको थियो तर पहिलोपटक एक आम विद्यार्थीको लास फेला परेको थियो। 


आखिर यो कस्तो सिरियल किलर हो, जो शहरमा यस्तरी ‘र्याण्डम’ मान्छेहरुको हत्या गरिरहेको छ। हत्या भन्दा पनि ताज्जुबको कुरा त सबैको छातीमा किन भाषा-भृत्य लेखेर खोपिरहेको छ। 


शहरको कहानी 


यतिखेर शहरका विभिन्न ठाउँहरुमा फाट्टफुट्ट लासहरु फेला पर्न थालेका थिए। अनेकौ ‘र्याण्डम’ व्यक्तिहरुको लास ‘र्याण्डम’ ठाउँहरुमा फेला परेको भए पनि हत्या गर्ने शैली हेरेर त्यसको हत्यारा एउटै थियो भनेर लख काट्न सजिलो नै थियो। चक्रपथ भित्र र बाहिर सबै स्थानमा सिरियल किलरको आतंक फैलिसकेको थियो।


अनेकौ व्यक्तिहरुको मृत्यु भएको भएता पनि खासगरी मृत्यु हुनेमा लेखक, पत्रकार, सम्पादक, विद्यार्थी, शिक्षक, कर्मचारी लगायतका व्यक्तिहरु अधिक संख्यामा थिए। किसान, मजदुर लगायतका निम्न आय भएका व्यक्तिहरुको खासै हत्या भएको थिएन। सबैभन्दा धेरै चै लेखक र पत्रकारको नै हत्या भईरहेको थियो। 


न कसैको केहि चोरी भएको छ, न लुटपाट भएको छ; मात्र अत्यासलाग्दो पाराले हत्या भएको छ। यो भाषा-भृत्य कस्तो प्रकारको ‘रबिनहुड’ हो ? 


[नोट: म खासै गतिलो कहानीबाज होइन। फिल्म हेर्न बस्दा पनि सुरुमै सबै कहानी पढेर मात्र हेर्न बस्छु। ताकि फिल्म हेर्दाहेर्दै यदि मेरो असामयिक निधन भईहालेछ भने पनि त्यसको कहानी बुझ्नुपर्ने घिडघिडोले मेरो आत्मा जागित्र भएर यो धर्तिलोकमा नभड्कियोस।


त्यसैले म धेरै फुटेज नखाई भाषा-भृत्यको कहानी पनि आफै नै सुनाउछु।]


भाषा भृत्यको कहानी 


मेरो वास्तविक नाम के थियो मलाई थाहा छैन। थाहा भए पनि त्यसको यहाँ कुनै पनि सरोकार छैन। शहरमा म हिजोआज भाषा-भृत्यको नामले प्रख्यात छु, प्रख्यात भन्दा पनि कुख्यात छु भन्दा अझ सान्दर्भिक होला।


म एक औसत नेपाली हुँ। मेरो अनुहार एउटा औसत नेपालिको अनुहार जस्तै छ। मलाई पनि तपाइलाई जस्तै समय र जिन्दगीले अनुहारभरी नराम्रोसँग झापड हानेको छ। मेरो उचाइ एउटा औसत नेपालीको उचाइ जति नै छ। मेरो पनि उचाइ बढ्न नदिनको लागि तपाईको जस्तै टाउकोमा जिम्मेवारीको बोझ लादिएको छ। र, मलाई ग्यास्टिक पनि छ।


म आफुले आफुलाई सरस्वतीको उपासक भन्न रुचाउछु। त्यसकारण पनि लेख्ने र पढ्ने कामलाई भगवतीको आराधना ठान्दछु।


पत्रिका पढ्नकै लागि भनेर मैले कुनै बेला ‘हकर’को काम गर्थे। बिहानको राति नै सबै पत्रिका पढिसकेर म त्यो पत्रीकाहरु बाँड्न र बेच्न जान्थे। एकसमयमा पत्रिकामा आउने प्रत्येक समाचार र लेखरचना मलाई कन्ठस्थै हुन्थ्यो।


‘हकर’ ले मात्रै नपुग्ने भएर एकदिन मैले पुस्तकालयमा पनि काम गर्न सुरु गरे। त्यसपछि त मेरो बास नै त्यहि पुस्ताकालायमै हुन थाल्यो। मैले काम गर्नेभन्दा ज्यादा त पुस्तक नै पढे होला। धेरै किताब नपढ, बहुलाउछस….  भनेर अग्रजहरुले दिएको चेतावनीलाई वेवास्ता गरेर पढिरहे।


मैले व्याकरण पढे, शब्दकोश पढे। नयाँ किताब पढे, पुरानो किताब पढे। पत्रिका पढे, म्यागेजिन पढे। धागोले बाँधेको चिठी पढे, गुलाफले मोरेको पत्र पढे। सजिलोको लागी यति बुझ्नुस, मैले पढ्न बाँकी सायद त्यो पुस्तकालयमा केहि पनि थिएन होला।


पढ्दै जाँदा सबैभन्दा तज्जुबको कुरा मैले के भेटाए भने हिजोआज भाषाको अपमान हुँदै गइरहेको छ। हामीले लेख्दै र बोल्दै आएको भाषालाई हामी आफैले नै बिगार्दै गइरहेको रहेछौ। शुद्ध र स्पष्टसँग नेपाली भाषा लेख्न सक्ने त सायदै कोहि होला। अझ देशका प्रबुद्ध भनिएका मान्छेहरु नै भाषाको हुर्मत लिन सबैभन्दा अगाडि छन्। 


यो सबै देखेपछि मलाई एकप्रकारको मानसिक आघात नै पर्यो। पुस्तकालयका सहकर्मी मित्रहरुले मलाई मनोपरामर्शदाताको ठेगानामा समेत पुर्याए। तर, मेरो लागि म ठिकठाक नै थिए। खासमा मलाई हैन, भाषाको अपमान गर्नेहरुलाई चै परामर्शको जरुरत थियो भनेर उनीहरुले बुझिसकेका थिएनन्।


मिलेसम्म मैले भाषाको अपमान गर्नेहरुलाई प्रत्यक्ष रुपमै सम्झाउने कोसिस गरे, बुझाउने कोशिस गरे तर कसैले पनि मेरो कुरो गम्भिरतापुर्वक लिएनन्। भाषाको मात्रै होइन मेरो समेत अपमान भयो। कतिले त मलाई मानसिक रोगी समेत भने। कोहि किन यस्तरी आक्रोशित बन्छ ?


एक रातको कुरा हो - मैले सपनामा भाषिकादेवीको साक्षात दर्शन पाए। यहाँनेर तपाईले हावा कुरो नगर्नुस्, त्यस्तो नाम गरेकी पनि देवी छिन् र….  भनेर बहस गर्न सक्नुहुन्छ।


हुन त देवीको दर्शन दिव्य हुनुपर्ने हो, तर मैले भाषिकादेवीको विभत्स दर्शन पो पाए। देवीको हुलिया पुरापुर क्षतविक्षत अवस्थामा थियो।


भाषिका देवीले मसँग गुनासो गर्नुभो - ‘हे भृत्य, तिमी आफुले आफुलाई भाषा भृत्य भन्छौ तर दिनप्रतिदिन भाषाको अपमान हुँदै गएजस्तो तिमीलाई लाग्दैन ?’


मैले शिर झुकाएर भक्भकाउदै भने - ‘अवश्य लाग्छ देवी।’


भाषिका देवीले आँखाभरी आँशु पार्दै भन्नुभो  - ‘ मेरो आराधाक भएर पनि किन मेरो अपमान सहेर बसिरहेको छौ ? किन केही गर्दैनौ ?’


सरस्वतीको स्वरुपमा उत्पन्न भएकी भाषिकादेवीको स्वरुप बिस्तारै बिस्तारै परिवर्तन हुन थालेको थियो। उनले उग्रचण्डीको स्वरुप लिएको सम्म मलाई याद छ, त्यसपछि एक्कासी शुन्य भयो। चारैतिर सेतो। सेतो बाहेक कतै केही देखिएन। सायद म बेहोस भएको थिए।


होश खुल्दाखेरी मेरो अगाडी सेतो नभएर रातो पो थियो। शहरको ‘फेमस’ पत्रकारको छातिमा मैले ठुलो अक्षरमा ‘भाषा-भृत्य’ लेखेर डामिसकेको रैछु। र, भाषाको अपमानको बदला लिनको खातिर मैले पहिलोपटक हत्या गरे। 


अनुभवीहरु भन्छन् - पहिलोपटक चुरोट खान गाह्रो हुन्छ, बिस्तारै बानी पर्छ। अनि छोड्न सकिन्न। पहिलोपटक हत्या गर्दा पनि मलाई त्यस्तै गाह्रो परेको थियो। तर बिस्तारै बानी पर्दै गयो। मैले शहरको प्रत्येक कुनामा गएर निस्फिक्रीसँग हत्या गरिसकेको छु। 


ताज्जबको कुरा यति हुँदा पनि अहिलेसम्म मलाई खोज्न प्रहरीले कुनै चासो देखाएको थिएन। भाषाको अपमान गर्नेहरुले सजाय पाएकोमा सायद उनीहरु पनि खुशी थिए कि ?  तर मैले शहरमा एउटा अर्कै खालको हल्ला सुनेको थिए - हिजोआज यो शहरमा प्रहरीहरु नै छैनन्, प्रहरीको सट्टा बुख्याँचाहरु प्रहरी भएको अभिनय गर्दै सडकमा हिडिरहेका छन् रे।


खैर, अन्य कुरा जे जस्तो भए पनि भाषाको अपमान गर्ने जोकोहीलाई पनि म छाड्ने छैन भनेर मैले भाषिकादेवीसँग कसम खाईसकेको छु। आफ्नो आराध्यदेवीको निम्ति खाएको कसम म कुनै पनि हालतमा पुरा गर्नेछु। 


र, मेरो कथा सक्कियो। 


याचना


हे, भाषा भृत्य !


मैले जानाजान भाषाको अपमान गर्ने गरेको छैन। आफ्नो सम्पुर्ण होसहवासमा दिलोज्यान दिएर मैले भाषाको सम्मान गर्ने गरेको छु। त्यती हुँदाहुँदै पनि यो आलेखमा कहिकतै कमजोरी भएका छन्। त्यसलाई तपाईं भाषाको अपमान नठान्दिनु होला। 


सावधानी अपनाउदा अपनाउदै पनि सानोतिनो छिटफुट गल्ती त भएकै होला। जस्तोसुकै चनाखो भए पनि यहाँ अशुद्ध लेखिएको नै होला। तर त्यो छिटफुट गल्ती सुधार्ने काम त सम्पादकको पनि हो नि। हैन र, भृत्य ज्यु ?


हिजोआज म प्रत्येक दिन उठ्नेबित्तिकै ऐनाअगाडी उभिएर कतै मेरो छातीमा त त्यो डामिएको छैन भनेर हेर्न थालेको छु।

0 Comments:

Post a Comment

 
;