September 30, 2020

मानश्च: दुर्योधने

[सेतोपटिमा प्रकाशित लेखको असम्पादित अंश]

एक साँझ कोटेश्वरको अप्सरा गल्लीमा एक्कासी दुर्योधनसँग भेट भईदियो।

अप्सरा गल्ली कोटेश्वरको एउटा बदनाम गल्ली थियो। अप्सरा गल्लीमा विभिन्न दररेटका अप्सराहरु भाडामा पाईन्थे।  काठमाण्डुको अधिकांस मान्छेहरुले अप्सरा गल्लीका अप्सराहरुसँग आफुलाई बदनाम गरिसकेका थिए।


राजधानीको बदनाम गल्लीमा ईतिहासको एक बदनाम पात्रसँग भेट हुनु मेरो लागि एउटा सुखद संयोग थियो।


Image: Google


“ओहो ! हस्तिनापुर युवराज ? यता पाल्नुस न।” मैले स्टिलको गिलासमा भएको मदिराको अन्तिम घुड्को मुखमा हाल्दै शाही मार्काको आतिथ्यता प्रकट गरे “के टक्र्याउ हजुरलाई ?” म अप्सरा गल्लीको अप्सरा खाजाघरमा बसेर स्टिलको गिलासबाट घरेलु मदिरापान गर्दै थिए। मेरो अगाडीको टेबुलमा स्टिलकै प्लेटमा एकाध टुक्रा प्याजहरु सितानको रुपमा थिए। म खाजाघरको ढोकै छेउको टेबुलमा थिए, गल्लीमा हिडिरहेको दुर्योधनलाई देखेर आफैले निम्तो दिएको थिए।


“तपाई जे खाँदै हुनुहुन्छ। त्यहि नै ल्याउनुस न।” सानो तर बहुत भारी आवाजले मलाई आदेश दिएर यताउता पल्याक-पुलुक हेर्दै मेरो अगाडिको फल्याकमा दुर्योधन बसे। युवराजको परिधान राजषी ठाँटको थियो, शरिर मणि-माणिक्यले सजिसजाउ नै थियो तर शिरमा मुकुट चै थिएन। मैले अझ ध्यान दिएर हेरे - उनको दाहिने तिघ्राबाट अलि अलि रगत चुहिदै थियो। युवराज कतै महिनावारी त भएनन् ? म आश्चर्यचकित भईरहेको थिए।


“आज कताबाट बाटो बिराएर यो बदनाम शहरको बदनाम गल्लीमा सवारी भयो त सरकार ?” म आफुले जानेसम्मको राजसी अभिबादन प्रस्तुत गर्ने कोसिस गरिरहेको थिए। यत्तिकैमा अप्सरा खाजाघरकी वेट्रेस अप्सराले एउटा स्टिलको गिलासमा जर्किनबाट खन्याएको घरेलु मदिरा ल्याइदिईन्। मैले वेट्रेस अप्सरालाई राँगाको सुकुटी पनि ल्याउन आग्रह गरे। हस्तिनापुरको युवराजजस्तो मान्छेलाई पनि जाबो प्याज टोकाएर मात्रै मदिरा पियाउनु त उत्तम नहोला जस्तो लागिरहेको थियो।


“म चित्रगुप्तको न्यायसभामा थिए। सभामा सबैको पाप र पुण्यको लेखाजोखा हुँदै थियो। यत्तिकैमा सबैको पाप-पुण्यको हिसाबकिताब सक्कियो। आ-आफ्नो कर्म अनुसार कसैले स्वर्ग पाए, कसैले नर्क।” दुर्योधनले एकै पटक सिङ्गै एक गिलास नै मदिरा स्वाट्ट पार्दै भने। “र, मलाई मेरो कर्म अनुसार चित्रगुप्तले स्वर्गको निर्णय सुनाए। म स्वर्गमा अप्सराहरुको खोजी गर्दै हिडेको थिए। यहाँ आइपुगेछु। स्वर्ग भनेको यहि हो र ?”


म पुन: आश्चर्यचकित भए।


“हँ… स्वर्ग ?” मेरो मुखबाट आश्चर्य मिश्रित आवाज प्रश्नको रुपमा निस्कियो। दुर्योधनलाई पनि स्वर्ग ? मलाई चित्रगुप्तको न्याय प्रणाली पनि हाम्रै नेपालको जस्तो अप्रभावकारी रैछ कि क्या हो जस्तो लाग्यो।


“हो.. यो पनि एउटा स्वर्ग नै हो।” मैले नेपाललाई स्वर्गसँग तुलना गर्दै दुर्योधनलाई भने। म अझै पनि दुर्योधन जस्तो ऐतिहासिक खलनायकलाई स्वर्ग कसरी प्राप्त भयो भनेर अचम्ममा परिरहेको थिए।


***


म हस्तिनापुर भएर बग्ने गंगा नदीको किनारमा तिघ्राबाट रगत बग्दै गरेको अवस्थाको दुर्योधनसँगै प्रकट भएको थिए। दुर्योधनको तिघ्राबाट रगत किन बगिरहेको थियो भनेर मलाई थाहा थिएन र मैले सोधेको पनि थिईन। 


बालक राजकुमार दुर्योधन आफ्नो माइलो भाइ दु:शासनसँग मिलेर भर्खर विष खुवाएर बेहोस पारिएको भिमसेनलाई गंगामा बगाउन खोज्दै थिए। बडो मुस्किलसँग दुई दाजुभाईले खीरमा विष मिलाएर भिमसेनलाई पिलाउन सफल भएका थिए।


“तपाईं यस्तो कार्य गरेर पनि कसरी स्वर्ग जान सफल हुनुभयो त दुर्योधनजी ?” मैले बोरामा खाँदेर ल्याईएको भिमसेनलाई देखाउदै सोधे। ठिक त्यसै बेला दु:शासनले भीमसेनलाई खोलामा ठेलिदिए। दुर्योधन एक टकले भिमसेन डुब्दै गईरहेको हेरिरहेको थिए। तर, दुर्योधनको त्यो हेराई एउटा सामान्य हेराई थिएन। ग्लानी, अफसोच, सन्तुष्टी, मुस्कान, तृप्ती, खेद आदी ईत्यादी सबै विशेषणले भरिपुर्ण एउटा अजिबको हेराई थियो।


मलाई दुर्योधन बहुत रहस्यमयी पात्र लागिरहेको थियो।


“एउटा १३ वर्षे बालकले यदी कसैको हत्या गर्ने सोच बनाउँछ भने तपाईं आफै सोच्नुस् - त्यो बालकको दिमागमा कतिसम्म विष र मनमा पिडा भरिएको रैछ भनेर।” पर क्षितिजतिर हेर्दै दुर्योधनले अश्रुमिश्रित आवाजमा भने। “कसैले पनि कुनै मान्छेको हत्या रहर लागेर गर्दैन। त्यो हत्या गर्नको पछाडी धेरै कारणहरु लुकेका हुन्छन्। मेरो मनमा यती धेरै पिडाहरु दबिएर बसेका थिए कि त्यतिबेला मैले भीमको हत्या गर्नु नै मनासिब सम्झिए।” दुर्योधन आफ्नो तिघ्रामा लागेको रगतको पाप्रा उक्काउन खोजिरहेका थिए। बालक दुर्योधन अर्कैतिर लागिसकेका थिए र दु:शासन उनकै पछि पछि दगुर्दै गए।


“भिमसेन बलवान थियो। हामी दाजुभाईमा सबैभन्दा बलवान उ नै हो। यो कुरामा दुईमत छैन।” दुर्योधनले सुस्केरा हाले। “उसले आफ्नो बलको प्रदर्शन जहिल्यै पनि हामी कौरवहरु माथी मात्रै गर्थ्यो। म लगायत मेरा भाईबैनीहरु सबैलाई दु:ख दिईराख्थ्यो। भिमको हातबाट हामीले कति कुटाई खायौ, त्यसको कुनै पनि लेखाजोखा छैन। उसले धेरैपटक मेरो बैनी दु:शालालाई लछारपछार पारेर उसको कपाल लुछेको छ। मेरा भाईहरु कतिको हात भाँच्चियो, कतिको खुट्टा। बलवानले आफ्नो बल प्रदर्शन निर्धाहरुमाथी त गर्ने होईन नि। म सबैभन्दा जेठो कौरव भएको नाताले आफ्नो भाईबैनीहरुको रक्षा गर्नुपर्ने जिम्मेवारी मेरो काँधमा थियो। तर, म आफै लाचार थिए।” दुर्योधनले आसुँ चुहिएला जस्तो अनुहार बनाएर आफ्नो वाक्यको अन्त्य गरे।


“तर, त्यती हुँदैमा हत्या नै गरिहाल्नु हुन्थ्यो त। यो त ठिक भएन नि।” मैले एकदमै मसिनो आवाज निकालेर प्रतिप्रश्न गरे। सायद यो म नभएर अप्सरा गल्लीमा पाईने स्टीलको गिलास भित्रको झोलिलो पदार्थ बोलिरहेको थियो।


“मैले भीमको सिकायत प्राय: सबै ठुलाबडाहरुसँग गरे। पितामह भिष्मसँग गरे, गुरु द्रोणसँग गरे, पिता धृतराष्ट्रसँग पनि गरे।  तर, मैले जतिसुकै सिकायत गरे पनि पाण्डवहरु अनाथ हुन्, उनीहरु ज्ञानी छन् भनेर कसैले पनि उनिहरुको खिलाफको उजुरी सुन्नै मान्दैन थियो। कसैले पनि मेरो अवस्था बुझ्ने कोसिस नै गरेन। एउटा किशोर भित्रभित्रै पीडाको रापमा पिल्सिरहेको थियो।”


“हेर्नुस्, त्यो बेला मलाई जे ठिक लाग्यो। मैले त्यही गरे। र, मलाई आफ्नो त्यो कार्यप्रती कुनै पनि ग्लानी छैन। केहि पश्चाताप छैन।” दुर्योधनले स्टीलको गिलास एकदमै जोडसँग टेबलमा राख्दै बडो ठुलो स्वरमा भने। गिलासको आवाज सुनेर वेट्रेस अप्सरा दगुर्दै बाहिर हाम्रो छेउमा आईन्।


हामी अप्सरा गल्लीमा रहेको अप्सरा खाजाघरमा थियौ। 


अप्सरा खाजाघरको एउटा कुनामा बुढी औंला नभएको एकलव्य बहुत मार्मिक तरिकाले सुर्ती मोल्दै थियो। चुरोट त कसैले पिएको थिएन तर सायद भान्साबाट निस्किएको धुँवाको कारण होला पुरै खाजाघर धुँवा नै धुँवाले भरिएको थियो।

अप्सरा खाजाघरमा जम्मा चारवटा टेबुल थिए। सबैभन्दा कुनाको टेबुलमा बुढीऔंला नभएको एकलव्य बसिरहेको थियो। ढोका छेवैको टेबुलमा म र दुर्योधन थियौ। दुर्योधनले कतिवटा स्टीलको गिलास रित्यायो, त्यसको हिसाब मैले राख्न छोडिसकेको थिए। सायद वेट्रेस अप्सराले राखिरहेको थिईन् होला।


***


म पान्चाल नरेश द्रुपदको राज्यसभामा आयोजित द्रौपदीको स्वयंवरमा कर्णको कुर्सी पछाडी उभिईरहेको थिए। मेरो देब्रेतिर दुर्योधन उभिएर एकटकले द्रौपदीतिर हेरिरहेको थिए। आफ्नो हुनेवाला भाउजुलाई त्यसरी एकोहोरो हेर्न कुनै पनि क्षेत्रियलाई शोभा दिदैन थियो।


“म यो राज्यसभामा उपस्थित सबै मान्यजनसँग यो निवेदन गर्न चाहन्छु कि म कुनै पनि शुद्रसँग विवाह गर्न सक्दिन।” द्रौपदीले धनुषमा ताँदो हाल्दै गरेको कर्णतर्फ हेर्दै चर्को आवाजमा निवेदन गरिन्। म सभामा पुग्नेबित्तिकै कर्ण आफ्नो कुर्सी छाडी धनुष राखेको ठाउँतर्फ अघि बढिसकेका थिए।


दुर्योधन: राजकुमारी द्रौपदी! मान्छेको जात उसको जन्मले होईन, कर्मले निर्धारण गर्दछ। मान्छेले जस्तो कर्म गर्दछ, त्यस्तै 

जात पाउँछ। ब्राम्हणको घरमा जन्मिएको मान्छे पनि आफ्नो कर्मको कारण शुद्र बन्न सक्छ; शुद्रको घरमा जन्मिएको बालक पनि कालान्तारमा ब्राम्हण बन्न सक्छ। मेरा परममित्र कर्ण जन्मले शुद्र भए पनि कर्मले कुनै क्षत्रिय भन्दा पनि कम छैनन्।


द्रौपदी: मलाई एउटा शुद्रसँग विवाह नै गर्नु छैन।


दुर्योधन: कर्ण अंग देशको राजा हुन्।र, उनले राजाको रुपमा अंग देशमा रहँदा पुर्ण रुपमा क्षेत्रिय धर्मको पालना गरेका छन्।


कर्ण: (चुपचाप)


सभामा उपस्थित अन्य: (चुपचाप)


म: (अलमल्ल)


धृष्टधुम्न: स्वयंम्बरमा अन्तिम निर्णय जहिले पनि वधुको नै हुन्छ। यदी दिदीलाई अंगराज कर्णसँग विवाह नै गर्नु छैन भने हामी कर गरेर, कुनै पनि तर्क गरेर हुँदैन। हाम्रो पान्चालमा नारीको मतको पनि सम्मान गर्ने चलन छ।


दुर्योधन: ईच्छा अनिच्छा आफ्नो ठाउँमा छ, राजकुमार। तर, कसैलाई आमन्त्रण गरेर उसको क्षमता नहेरी जन्म मात्रै हेरेर निर्णय गर्ने र सम्मान गर्नुको सट्टा अतिथीलाई अपमान गर्ने चलन चै तपाइँको पाञ्चालमा मात्रै रैछ राजकुमार ।


द्रौपदी: मलाई दलितसँग सम्बन्ध गाँस्नु छैन। तपाई जतिसुकै तर्क दिनुस् युवराज दुर्योधन तर म एउटा दलितलाई आफ्नो श्रीमानको रुपमा कदापी स्विकार्न सक्दिन।


कर्ण: यदी त्यस्तो थियो भने मलाई यो स्वयम्बरको निम्तो किन दिईयो। म सहभागी भईन्जेल किन केही भनिएन। मैले धनुषमा ताँदो चढाइञ्जेल किन केहि पनि भनिएन। र, अहिले अन्तिममा आएर जातको आधारमा मेरो किन अपमान गरियो ?


द्रौपदी: (चुपचाप)


धृष्टधुम्न: (चुपचाप)


म: (आश्चर्यचकित)


“पान्चाल देशमा अरुलाई अपमान गर्ने चलन पुरानो नै हो। पहिले पान्चाल नरेशले गुरु द्रोणलाई अपमान गरे। पछि मेरो मित्र कर्णलाई। ईन्द्रप्रस्थको मायावी दरबारमा पान्चालीले मेरो पनि अपमान गरिन्। राजकुमारी द्रौपदी एकदमै घमण्डी छिन्, मात्तिएकि र पुल्पुलिएकइ छिन्।” युवराज दुर्योधनले एकदमै क्रोध मिश्रित आवाजमा मलाई सुनाए। “यो एकदमै असंस्कारी देश हो। यहाँ धेरै समय बस्नु हुँदैन। जाऔं।”


म पुन: अप्सरा खाजाघर तर्फ जाने तयारी गर्दै थिए।


“आज यस रंगभुमीमा उपस्थित सबैजना समक्ष म एउटा ऐतिहासिक घोषणा गर्न गईरहेको छु।” गुरु द्रोणाचार्य एउटा अग्लो आसनमा उभिएर एकदमै चर्को तर शान्त आवाजमा बोलिरहेको थिए।


पाण्डव तथा कौरब राजकुमारहरु भर्खर मात्रै आफ्नो शिक्षा सक्काएर गुरुकुलबाट हस्तिनापुर फर्किएका थिए। उनीहरुको स्वागतको लागि हस्तिनापुर दरबारको प्रांगणमा रंगभूमि तयार पारिएको थियो। रंगभुमीमा सबै राजकुमारहरुले आफ्नो कला प्रदर्शन गरेपश्चात् गुरु द्रोणाचार्यले अर्जुनलाई संसारकै सर्वोत्कृष्ट धनुर्धर घोषणा गर्न गईरहेको थिए। म त्यतै मुख्य द्वारमा खटिएको दरबानको छेउमा उभिईरहेको थिए; युवराज दुर्योधन पनि मसँगै एउटा खुट्टा खोच्याएर उभिईरहेका थिए।


हामी द्रौपदी स्वयम्भरबाट अप्सरा खाजाघर नगई सिधै रंगभुमी तर्फ आएका रहेछौ। 


“एकछिन आचार्य ! प्रतियोगिता नै नगरी तपाईं कसरी अर्जुनलाई संसारकै सर्वश्रेष्ठ धनुर्धर घोषणा गर्न सक्नुहुन्छ ?” मेरै छेउबाट रंगभुमीमा प्रवेश गर्दै अधिरथ पुत्र वाशुसेन चिच्याए। “म परशुराम शिष्य कर्ण, आज यो आकाश धर्ती सुर्य वायु ऋषीगण हस्तिनापुर र यहाँ उपस्थित सबै व्यक्तिहरुलाई साक्षी राखेर अर्जुनलाई खुला चुनौती दिन चाहन्छु।” वाशुसेनको चुनौती देखेर मन्चमा आसिन दुर्योधनको आँखा अलिकति तन्कियो।


कृपाचार्य - हे योद्धा, रंगभुमीमा केवल राजा तथा राजकुमार हरुलाई मात्रै आफ्नो कला देखाउन अनुमती हुन्छ। त्यसैले अर्जुनलाई लल्कार्नु भन्दा अगाडी आफ्नो परिचय देउ।


कर्ण - म अधिरथ तथा राधाको पुत्र वाशुसेन हुँ। मैले आफ्नो सबै शिक्षा गुरु परशुरामसँग लिएको छु।


भीष्म - अहो ! तर यो रंगभुमीमा शुद्रहरुले आफ्नो कला प्रदर्शन गर्न पाउदैनन् हे स्वघोषित महान् योद्धा।


दुर्योधन - तपाईंहरु जस्तो मान्यजनले एउटा महान् योद्धालाई जातको कारण आफ्नो कला प्रदर्शन गर्नबाट बन्चित गर्न पाउनुहुन्न।


द्रोणाचार्य - तर, रंगभुमीको नियम त हामीले परिवर्तन गर्न मिल्दैन राजकुमार। कर्ण न त राजा हुन्, न त राजकुमार। राजवंशी त परको कुरा कर्ण त क्षेत्रिय पनि हैनन्। कर्णले यो प्रतियोगितामा भाग लिनु रंगभुमीकै नियम विपरित हुनेछ।


दुर्योधन - आज यो सभामा उपस्थित सबैको सामुन्ने म परशुराम शिष्य कर्णलाई आफ्नो विशेषाधिकार प्रयोग गरी हाम्रै हस्तिनापुरको राजपाठ अन्तर्गत पर्ने अंग देशको राजा बनाउने घोषणा गर्दछु। र, अंग देशको राजा भईसकेपछि कर्णले औपचारिक रुपमा अर्जुनलाई चुनौती दिन पाउनेछन्।


म - यो बहुत स्वार्थी निर्णय गर्नुभयो दुर्योधनजी, तपाईंले।


ब्राम्हणहरु कर्णको राज्यभिषेकको तयारी गर्दै थिए।


दुर्योधन - कसरी ?


म - तपाईको लागि तपाईंको सबैभन्दा ठुलो शत्रु पाण्डवहरु हुन्।र, पाण्डवहरुको खम्बा भनेकै भीम र अर्जुन हुन् किनभने  युधिष्ठिर, नहकुल र सहदेव हराउनको लागी तपाइको ९९ जना भाइहरुले मज्जाले सक्छन्। भीमलाई तपाईंले गदायुद्धमा मज्जैले हराउन सक्नु हुन्छ। तर, अर्जुनलाई टक्कर दिनसक्ने तपाईंसँग कोही थिएन। आज कर्णको रुपमा तपाईंले अर्जुन विरुद्ध प्रयोग गर्न सकिने हतियार फेला पार्नु भएको छ। राजा बनाईदिएको गुन बापत तपाईं कर्णलाई प्रयोग मात्रै गर्न चाहनुहुन्छ। तपाईं स्वार्थी हुनुहुँदो रहेछ दुर्योधनजी।


कर्ण अंग देशको राजा भईसकेका थिए।


दुर्योधन - अरे…. तपाईंले त पुरै पुर्वाग्रही कुरा गर्नुभयो यार।


म - ईतिहास साक्षी छ युवराज।


दुर्योधन - ईतिहास जित्नेहरुले लेख्छन्। यदी हार्नेहरुले पनि ईतिहास लेख्न पाउने छुट भईदिएको भए आज ईतिहासका धेरै नायकहरु खलनायक भईसकेका हुन्थे। मैले समाजको नियममाथी प्रश्न उठाए, समाजले मेरो नियतमाथी नै प्रश्न उठाईदियो। परापुर्व कालदेखि चलिआएको सामाजिक कुप्रथा नमानेको आरोपमा मलाई असामाजिक घोषणा गरियो।


म - मतलब ?


दुर्योधन - मलाई मान्छेको जन्मको आधारमा जात र जातको आधारमा कामको विभाजन गरेको कहिल्यै मन परेन। कर्ण दलित भए पनि मैले उसको क्षमता पहिचान गरी उसलाई राजा बनाए। तर, रुढीले जरा गाडेको समाजले मलाई खलनायक बनायो। एउटा रथ हाँक्ने सारथीको छोराले देश हाँक्न सक्छ भनेर मैले गरेको कुरा कसैलाई पचेन। समाजमा परिवर्तन ल्याउन मुस्किल छ। तर, असम्भव छैन। दलितले छोएको खाने राम भगवान भए, दलितलाई राजा बनाउने म राक्षस भए। मान्छेको जात जन्मले हैन, कर्मले निर्धारण गर्दछ।


दुर्योधन - र, अर्को कुरा यदी मैले कर्णसँग उसलाई पाण्डव विरुद्ध प्रयोग गर्नको लागी मात्रै मित्रता गाँसेको थिए भने किन उसलाई युद्धको पहिलो १० दिन युद्ध नगर्न भने त ? भीष्म पितामहको मैले आजसम्म कुनै पनि कुरा मानेको छैन तर कर्णलाई युद्धमा सहभागी हुन नदिने शर्त मन्जुर गर्नुको कारण के हो त ? कर्णलाई म आफ्नो मित्र मान्दथे, आफ्नो मित्र अलिक लामो समय बाँचेको हेर्ने ईच्छाले नै म त्यो शर्त मान्न मन्जुर भए। अझ तपाई भन्नुहुन्छ कि म कर्णलाई पाण्डव विरुद्ध प्रयोग मात्रै गरिरहेछु। ईतिहासमा सबैले क्रान्ति गर्छन्, गर्नै पर्छ। क्रान्ति सफल भए क्रान्तिकारीहरु नायक हुन्छन्, असफल भए खलनायक।  


म - (नतमस्तक)


अंगराज कर्ण की - जय।

महाराज कर्ण की - जय।

राजकुमार दुर्योधन की - जय।

***


“तपाईंहरुलाई अब के ल्याउ त ?” अप्सरा खाजा घरकी वेट्रेस अप्सराले सोधिन्। अघिको अप्सरा डिउटी सक्काएर घर गएको कारण होला, नयाँ अप्सरा आएकी रैछिन्। सुर्ती माड्दै कुनामा बसेको एकलव्य अहिले थिएन। सायद सहरमा कुनै भुस्याहा कुकुर खोजेर त्यसको मुखमा वाणको बुजो लगाउन हिडेको होला। एकलव्यले छाडा पशु व्यवस्थापन गर्ने विभागमा काम गर्न थालेको हो र ?


“यही अघिदेखि खाइरहेकै थपी दिनुस् न, माता।” मैले स्टीलको गिलास देखाउदै अप्सरालाई सम्मानपुर्वक भने। नयाँ अप्सरा मलाई नानाभाँती गाली गर्दै सन्केर हिडिन्। मलाई पुरानो अप्सराको याद आईहाल्यो।


“तर तपाईं चै स्वर्ग कसरी पुग्नुभयो ?” मैले दाँत कोट्याउने छेस्कोले एक टुक्रो सुकुटी मुखमा हाल्दै एकदमै फोहोरी तरिकाले सोधे।


“कुरुक्षेत्र भनेको धर्मक्षेत्र हो। धर्मक्षेत्रमा वीरगती प्राप्त गर्ने सबै स्वर्ग जान्छन्।” दुर्योधनले एकदमै रुखो र ठाडोजवाफ फर्काए।


म - तर, पाण्डवहरु चै किन स्वर्ग पुग्न सकेनन् त ? उनीहरु त तपाईं भन्दा धर्मात्मा थिए त।


दुर्योधन - तपाईं अझै गलत ईतिहासको गलतफहमीमा हुनुहुन्छ।


म - लौ न त, त्यसोभए मलाई साँचो ईतिहास सुनाएर वैतरणी नदी पार लगाईदिनुस्।


दुर्योधन उवाच:

पाण्डवहरु ढोंगी थिए। तपाईलाई थाहै छ, उनीहरुले अनेक जालझेल गरेर भए पनि कुरुक्षेत्रको युद्ध जितेरै छाडे। अनि लासैलासले भरिएको राज्यको वागडोर सम्हाले। कुरुक्षेत्रको त्यो महान युद्ध सक्किदा लगभग विश्वको असी प्रतिशत जनसंख्या सक्किईसकेको थियो। युद्धमा सहभागी हुन नसक्ने बालक, वृद्ध, महिला, अपांग ईत्यादी मात्रै भएको देशमा बडो शानले युधिष्ठिरको राज्याभिषेक गरियो।


युद्ध गरेर जित हासिल गरेपछि त्रेता युगमा रामले १० हजार वर्ष भन्दा बढी राज गरि रहँदा किन चै युधिष्ठिरले चै जम्मा ३६ वर्षमै राजपाठ त्यागेर हिड्नुपर्यो त ? किनभने उनको राज्याभिषेक ताका बालक नै रहेका प्रजाहरु ३६ वर्षमा वयस्क भईसकेका थिए। उनीहरु बुझ्ने भइसकेका थिए। युधिष्ठिर राजा बन्न योग्य छैनन् भनेर प्रजाहरुलाई थाहा भइसकेको थियो। भित्रभित्रै उनको विरुद्ध आन्दोलन चर्किईरकेको थियो। राजा भनेको कुटनैतिक पनि हुनुपर्छ, सत्यवादी मात्रै होईन। युधिष्ठिरमा राजा हुने गुण केही पनि थिएन। यदी युधिष्ठिरले आफै राज्य त्याग नगरेको भए उनलाई जनताहरुले नै गद्दीच्युत गराउने थिए।


म हस्तिनापुरको युवराज भएको ताका पुजापाठ र दानधर्म नियमित रुपमा गरिरहन्थे। प्रजाहरु अत्यन्तै खुसी थिए। मेरो विरुद्ध पाण्डवहरु बाहेक कोही पनि थिएनन्। त्यत्रो युद्ध गरेर, स्वजन हत्या गरेर आखिर उनीहरुले के पाए ? मरेको लास र जिउँदो लासले भरिएको राज्य ? अरुको त के कुरा उनीहरुले आफ्नै आमालाई पनि खुसी दिन सकेनन्। युधिष्ठिर राजा भएसँगै काकी कुन्ती पनि मेरो माता र पिता सँगै वनबास जानुभयो। आखिर त्यो सबै के को लागि ?


तपाइलाई थाहै छ, पाण्डवहरु आफुलाई धर्म र न्यायको हिमायती नै ठान्दथे। तर, कुरुक्षेत्रको अन्तिम युद्धमा हेर्नुस्, कसरी आफ्नो लत्तो छाडे। भिष्म पितामह, गुरु द्रोणाचार्य, कर्ण र मलाई समेत छलपुर्वक  हत्या गरे। हो, अभिमन्युको हत्या युद्धको नियम विपरित भएको थियो। यो कुरा म स्विकार्दछु। चक्रब्युहमा पसेपछि कुनै पनि व्यक्ती त्यो ब्युहको शिकार बन्न पुग्छ। अभिमन्यु पनि ब्युहको शिकार भईदिए। तर, जाबो १६ वर्षे किशोरलाई सुरक्षाको झुटो वाचा गरेर त्यत्रो खतरनाक चक्रब्युहमा पस्न दिने भिम लगायतका महान पाण्डवहरु चै अभिमन्युका असली हत्याराहरु हुन्।  


युधिष्ठिर सत्यवादी भईकन पनि एकदमै जुवाको शौखिन थिए। उनको मनपसन्द खेल जुवा हो भन्ने ठानेर मैले सबै पाण्डवहरुलाई निम्तो दिए। र, खेलमा युधिष्ठिरले हार्दा हार्दा यति धेरै हारे कि आफ्नो सारा ईन्द्रप्रस्थ नै जुवामा थापे। जुन मैले जिते। तर, मलाई जुवा नराम्रो अम्मल हो भनेर थाहा थियो। त्यसैले युधिष्ठिरको सबै जितेको सम्पत्ती फिर्ता पनि गरिदिए।


तर, फेरी युधिष्ठिरलाई के सनक चढेछ कुन्नी पुन: जुवा खेल्न बसे। मामा शकुनी जुवाको पेशेवर खेलाडी हुनुहुन्थ्यो। उहासँग जुवा खेल्नु भनेको हार्नु नै हुन्थ्यो।यो कुरा युधिष्ठिरलाई पनि थाहा थियो। युधिष्ठिरले पुन: जुवा खेल्दाखेरी फेरी हार्न थाले। यो खबर खै कसले द्रौपदीलाई सुनाईदिएछ कुन्नी, उनी पुरै रिसको झोकमा हान्निएर सभामा प्रवेश गर्न लागिन्।


उनी महिनावारी भएर पर सरेको हुनाले ठुलोबडो मान्छेहरु समक्ष आउन नहुने थियो; तर द्रौपदी जस्तो घमन्डीले कसलाई टेर्ने।

मैले दु:शासनलाई - जा भाई गएर भाउजुलाई यता भित्र आउन नदे भनेर अह्राए। दु:शासनले गएर द्रौपदी छिर्न आँटेको बेला ढोकाको खापा ठेलिदिएछ। जसमा अल्झिएर उनको सारी फुस्किन पुग्यो।


तर, द्रौपदीले उता गएर दुर्योधनले दु:शासनलाई भनेर मेरो सारी फुस्काईदियो। मेरो वस्त्रहरण भयो भनेर गुहार माग्न थालिन्। यो मामिलामा मेरो धेरै चित्त दुखाई छ। मैले एउटा आदर्श क्षत्रीयले गर्ने कार्य मात्रै गरेको थिए।


 द्रौपदीले हामीलाई देखिसहन्न थिईन्; मायाजाल ले भरिएको दरबारमा बोलाएर पनि हाम्रो अपमान गरिएको थियो। तर मैले कहिले पनि त्यसको गुनासो कसैसँग गरिन।


यदी कुरुक्षेत्रको युद्ध हामिले जितेको भए आज कथा अर्कै हुन्थ्यो। झुटको पुलिन्दा हुँदैनथ्यो। सत्यको पक्षमा हुन्थ्यो।


म महाभारतको साँचो ईतिहास सुनेर एकछिन नेपालीको अफ्ठ्यारो शब्द भए - किंकर्तव्यविमुढ।

मैले आजसम्म सुनेको र पढेको महाभारत भन्दा यो नितान्त नौलो र फरक थियो।


“यो जर्किन नै अन्तिम हो। अरु सबै सक्किईसक्यो।” एउटा पुरानो जर्किन हाम्रो अगाडी राख्दै खाजा घरकी नयाँ अप्सराले पुन: ठाडो आवाजमा बोलिन्।


राँगा प्लस भैंसीका अजिबोगरिब परिकारहरु टेबुलमा लडिरहेका थिए।म बेलाबेला क्वाप्प टिपेर चपाउदै पनि थिए। दुर्योधन एकटकले मास्तिर हेरिरहेको थियो। पल्लो कुर्सीको एकलव्य अझै आईपुगेको थिएन।


दुर्योधनले एक गिलास मदिरा एकैचोटि स्वाट्ट पारेर गिलास जोडले टेबुलमा बजाए  - ट्याङ्ग।


“नरोवा कुन्जरोवा अश्वस्थमा हतोहत।” युधिष्ठिरले मध्य दिउँसोमै आफैलाई शिक्षा दिने गुरुसँग सफेद झुट बोले। एउटा जाबो राज्यको लागी आफ्नो ईज्जत माथी नै खेलवाड गरे। र, झुट बोलेर कमाएको राज्य उनले ३६ वर्षमै छोड्नु पर्यो। हस्तिनापुर बिलाईसक्यो। आज ३६ हजार वर्ष पछि पनि उनको नाममा लागेको कालो उस्तै छ। उनले आफ्नो जीवनकाल भरि बोलेको सत्य कुरा भन्दा एकचोटी मात्रै बोलेको झुटको चर्चा ज्यादा हुन्छ।


मैले युधिष्ठिरको बारेमा यति सोचिन्जेलमा धृष्टधुम्नले कुरुक्षेत्रमै समाधि लिएर बसेका द्रोणाचार्यको गला छिनाईसकेको थिए। कठै। हात-हतियार बिना मैदानको बिचमा पुत्रशोकमा परि पद्मासनमा बसिरहेको वृद्धको हत्या गरेर पाण्डव सेनापतिले ठुलो उत्सव मनाए।


पितामह भिष्मले महिला विरुद्ध हतियार उठाउदिन भनेर खुद आफैले आफुलाई कसरि हराउन सकिन्छ भनेर पाण्डवहरुलाई सुनाउदै थिए। युवराज दुर्योधनलाई आफ्नै सेनापतिले धोका दिदै थिए। र धर्मको पर्यायवाची को रुपमा परिभाषित पाण्डवहरुले आफ्नै पितामहलाई धोका दिदै थिए। जुन युद्ध छल-पुर्वक लडिएको छ, त्यो युद्धलाई धर्मयुद्ध किन भनियो भनेर म सोचमग्न थिए। आफुले भोगेको लैंगिक विभेदलाई पूर्वजन्मको फल भनेर राजकुमार शिखण्डीले चित्त बुझाइरहेका थिए र यो सबैको लागि गङ्गापुत्र भिष्म जिम्मेवार छन् भनेर उनलाई विश्वास दिलाईएको थियो। तसर्थ आफुले जीवनभरि भोगेको अपमानको कारकतत्वलाई नै नाश गर्ने अवसर उनले गुमाउन चाहदैन थिए। उता भिष्म पुरै पुरातनबादी सोचले ग्रस्त थिए। तेश्रो लिंगीहरु लाई पनि उनि महिलाकै दृष्टिले हेर्दथे। र, त्यसैको कारण उनको मृत्यु पनि भयो।


म युद्ध मैदानमा आफ्नै सुरमा हिड्दाहिड्दै कर्णको अगिल्तिर पुगेको थिए। महान भईकनपनि श्रापित भएकोले उनलाई म ईतिहासकै सबैभन्दा अभागी योद्धा ठान्दथे। खै कसरि कसरि उनको रथको पाङ्ग्रा जमिनमा भासिन पुग्यो। र, धर्म युद्धमा धर्मको पक्षबाट युद्ध गरिरहेका अर्जुनले खै के को उन्मादमा हो सहयोग गर्नुको सट्टा निरिह एउटा मान्छेलाई धनुष ताक्दै थिए। मैले रोक्ने कोसिस गरे, तर सायद मलाई अर्जुनले देखेनन्। हेर्दाहेर्दै महान धनुर्धरी अर्जुनले एउटा लाचार मानिसको हत्या गरे र ठुलो उत्सव मनाए। 


अनि, आफुले आफैलाई संसारको सर्वश्रेष्ठ धनुर्धर घोषणा गरे। छ्या !


अघिनै खाजाघरबाट भुस्याहा कुकुर खोज्न निस्किएको एकलव्य फर्किएको भए अहिले अर्जुनको घमन्ड तोड्न हुन्थ्यो। 


भिमसेन र दुर्योधन अन्तिम गदा-युद्ध गर्न तम्तयार थिए। बलपूर्वक दुर्योधनलाई हराउन सकिदैन भनेर तथाकथित धर्मको पक्षबाट युद्ध गरिरहेको भिमसेनालाई थाहा भइसकेको थियो। त्यसैले पुन: छलपुर्वक, नियम विपरित दुर्योधनको तिघ्रामा प्रहार गरे। म त्यहि थिए। दुर्योधनको तिघ्राबाट रगत चुहिन थाल्यो।


पाण्डवहरु किन नर्क गए र किन दुर्योधन चै स्वर्ग गए भनेर मैले उत्तर पाइसकेको थिए। म अब दुर्योधन सँग चित्रगुप्तको न्यायसभामा गएर पुरै छलफल हेर्न चाहन्थे। तर, अप्सरा खाजाघरको टेबलमा म एक्लै थिए। मेरो अगाडि कोहि थिएन।  खालि प्लेट र खालि गिलासहरु मात्रै थिए।


नयाँ वेट्रेस अप्सरा आएर मलाई भनिन् - “दुर्योधनजी, ए दुर्योधनजी। अब हुटेल बन्द गर्ने बेला भो। तपाईलाई अरु केहि चाहिन्छ कि पुग्यो ?”

0 Comments:

Post a Comment

 
;