[नयाँ पत्रिकामा प्रकाशित लेखको ‘असम्पादित’ अंश]
सन् १९७५ सालमा नयाँ एवं पुराना खासै नचलेका कलाकारहरुलाई लिएर सस्तो बजेटमा तयार पारिएको एउटा चलचित्र भारतमा रिलिज भयो - जय सन्तोषी माँ। उक्त चलचित्रले अस्वाभाविक रुपमा सफलता हासिल गर्दै कमाईको रेकर्ड नै राख्यो। त्यसै साल रिलिज भएका दीवार, प्रतिज्ञा, प्रेम कहानी जस्ता स्टार-कलाकार भएको चलचित्रहरुलाई पछि पार्दै उक्त चलचित्रले ५ करोड भारुको व्यापार गर्न सफल भएको थियो। टाईम्स अफ ईन्डीयाले दिएको जानकारी अनुसार उक्त चलचित्रको निर्माण बजेट ५ लाख भारुको हाराहारीमा मात्रै थियो। लगानीको लगभग १०० गुणा बढी आम्दानी गर्न सफल यो चलचित्रले कायम गरेको कमाईको रेकर्ड अब सायदै तोडिएला।
![]() |
Image Source: Wikipedia |
केहि वर्ष पहिले नेपालको विभिन्न गाउँ-बजारमा मनकामनाको संदेश, फलानो भगवानको उत्पत्ति, पढ्ने बित्तिकै २५ जनालाई यो संदेश बाँड्नुस लगायतका विभिन्न कुराहरु लेखिएका पर्चाहरु व्यापक रुपमा पाइन्थे। सन् १९६० को दशकमा भारतको उत्तरी तथा मध्य भेगको गाउँहरुमा सन्तोषी माताको कथाहरु त्यसरी नै पर्चा र भित्तेलेखनको माध्यमबाट प्रचलित भइरहेको थियो। चलचित्र ‘जय सन्तोषी माँ‘ सन्तोषी माताको त्यहि पर्चामा लेखिएको व्रत-कथालाई धार्मिक मरमसाला बेरेर तयार पारिएको पटकथामा आधारित रहेको छ।
चलचित्रको कथा
चलचित्र ‘जय सन्तोषी माँ’ मा दुईवटा कथा छन्। एउटा कथा देवलोकमा सन्तोषी माताको बारेमा रहेको छ भने अर्को कथा मर्त्यलोकमा सत्यवतीको बारेमा रहेको छ।
देवलोकमा भगवान गणेश रक्षाबन्धनको दिन आफ्नो बैनी मानसादेवीसँग राखी लगाउदै हुन्छन्। उनको पुत्रहरू (शुभ र लाभ)ले पनि राखि लगाउनको लागि बैनी चाहियो भनेर कर गर्न थाल्छन्। त्यत्तिकैमा देवर्षी नारद प्रकट हुन्छन् र भगवान गणेशलाई पुत्री जन्माउनको लागि प्रोत्साहित गर्छन्। पत्नी, पुत्र तथा देवर्षीको चौतर्फी दवावको कारण भगवान गणेशले मन नभई-नभई पनि एकजना बालिकालाई जन्म दिन्छन्। भगवान गणेशको उक्त पुत्रीले भविष्यमा सन्तोषी माता को नाममा आफ्नो किर्ती फैलाउने भविष्यवाणी देवर्षी नारदले गर्दिन्छन्।
उता मर्त्यलोकमा सन्तोषी माताको प्रभावले सत्यवतिको भेट मिरपुर गाउँको वृजमोहन सँग हुन्छ। माताकै कृपाको कारण उनिहरु बिच प्रेम हुन्छ र विवाह पनि हुन्छ। आफ्नो ६ जना दाजुभाइ सँग बस्ने वृजमोहनलाई घरमा भाउजुहरुले राम्रो व्यवहार गर्दैनन्। उनले अरुले खाएर बाँकी रहेको रहलपहल मात्रै खान पाउथ्ये। एकदिन वृजमोहनले आफुलाई त्यसरी हेला गरेको थाहा पाउँछन् अनि ईख लिएर धन कमाउन भन्दै आफ्नो नवविवाहित श्रीमतीलाई छाडेर परदेश जान्छन्।
यता देवलोकमा देवर्षी नारदले त्रि-देवी (पार्वती, लक्ष्मी र सरस्वती) सामु गएर सन्तोषी माताको बढ्दो प्रभावको तारिफ गर्न थाल्छन्। उक्त कुरा सुनेपछि त्रि-देविमा ईर्ष्याको भावना जाग्छ अनि उनीहरु सन्तोषी माताको अनन्य भक्त सत्यवतीलाई दु:ख दिन सुरु गर्छन। जेठानीहरुको अपहेलना, भुसको रोटी खान दिने, धन कमाउन गएको पति मरेको भनेर हल्ला, दाउराको गह्रौ भारी बोकाउने, नरिवलको खवटामा मात्रै पानि दिने लगायतका अनेकौ कठिन कामहरु गर्दै भएपनि सत्यवतीले सन्तोषी माताको भक्ति गरिरहन्छिन। समय-समयमा सन्तोषी माताले कहिले जवान युवती बनेर तथा कहिले प्रौढ वृद्धा बनेर प्रकट भई सत्यवतीलाई सहयोग पनि गरिरहन्छिन्।
त्रि-देविकै षड्यन्त्रको कारण धन कमाउन गएको वृजमोहनले आफ्नो पत्नी भएको कुरा नै बिर्सेर अर्कै युवतीको प्रेममा पर्छन्। सत्यवतीको भक्तीको शक्तिले गर्दा सन्तोषी माताले वृजमोहनलाई स्मरण-शक्ति फिर्ता दिलाई दिन्छिन्। तत्पश्चात् वृजमोहनले धन-सम्पत्ती लिएर फर्कन्छन् र नयाँ घर बनाई आफ्नो पत्नीसँग बस्न थाल्छन्।
आफ्नो व्रतको अन्तिम दिन उद्यपान गर्ने क्रममा सत्यवतीको जेठानीहरुले प्रसादमा कागतीको चुक हालिदिन्छन्। सन्तोषी माताको व्रत बस्दा सख्खर र चना चढाउनु पर्छ र अमिलो सकेसम्म बार्नु पर्छ। अमिलोको प्रयोग भएपछी सन्तोषी माता क्रोधित हुन्छिन् अनि सत्यवतीको घरमा हाहाकार मच्चिन्छ। पछि नियम पुर्वक पुजा गरेपछि सबै ठिक हुन्छ।
चलचित्र ‘जय सन्तोषी माँ’ को कथा मोटामोटी रुपमा यति नै हो।
चलचित्रको धार्मिक सम्बन्ध
त्यस बेला गाउघरमा प्रचलित पर्चाहरुमा भएको व्रत-कथामा कतै पनि सन्तोषी माताको जन्म तथा उनीप्रती त्रि-देविले देखाएको इर्ष्याको बारेमा कुनै पनि चर्चा गरिएको छैन। चलचित्रलाई विश्वासिलो तथा भरोसायोग्य देखाउनको लागि त्यसमा धार्मिक कोणबाट नयाँ कुराहरु जोडिएको हो भनेर बुझ्न सकिन्छ।
पण्डित आर. प्रियदर्शीको पटकथा तथा विजय शर्माको निर्देशन रहेको यस चलचित्रमा देखाइएका धार्मिक घटनाहरु पौराणिक कथाहरुबाट सापट लिईएको छ। भगवान गणेशले मानसा देवी सँग रक्षा बन्धन मनाउदै गरेको जुन दृश्य छ, त्यो घटना कुनै पनि धर्मशास्त्रमा पाइदैन।
मानसादेवी लाई अथर्ववेदमा नागलक्ष्मी भनेर लेखिएको छ। संसारमा नागहरुको प्रकोप बढ्दै गएको र त्यसले गर्दा मानिसहरुले दुख पाएको देखेपछि नागहरुलाई शासन गर्नको निमित्त काश्यप ऋषि तथा कद्रुको पुत्रीको रुपमा मानसा देवीको जन्म हुन्छ। उनको स्मरण तथा वन्दना रक्षाबन्धनमा नभएर नागपंचमीको दिनमा हुने गरेको छ। जसरी विफरबाट जोगिनको लागि शितालामाताको आराधना गरिन्छ, त्यसरी नै नागबाट सुरक्षित रहनको निमित्त मानसादेवीको आराधना गर्ने चलन अझै पनि छ।
मानसा देवीको बारेमा अथर्ववेद र महाभारतमा मात्रै नभएर मंगलकाव्यमा पनि लेखिएको छ। १३ औं शताब्दीमा लेखिएको मंगलकाव्यले मानसादेवीको जन्मलाई अर्कै तरिकाले व्याख्या गरेको छ। काश्यप पत्नी कद्रुले ढुंगा कुदेर बनाएको युवतीको मुर्तीमा भगवान शिवजीको स्पर्श परेपछि प्राण भरियो र उनि जीवित भईन्। यसरि संसारमा मानसा देवीको आगमन शिवजी मार्फत भएको हुनाले उनलाई शिवजीको पुत्री हुन् भनेर तर्क दिन पनि सकिन्छ।
तर पौराणिक कथनलाइ नै आधार मानेर हेर्दा चै मानसादेवी गणेश भगवानको बहिनि नभएर भगवान शिवाजीको गलामा बेरिएर बस्ने कश्यप - कद्रुकै पुत्र वासुकी नागको चै बहिनि हुन्।
त्यस्तै अर्को दृश्यमा देवर्षी नारदले सन्तोषी माताको व्याख्या गरेर त्रि-देवीको मनमा ईर्ष्या प्रकट गरिदिएको, त्रि-देवले जोगीको भेष धारण गरेर सत्यवतीको घरमा भिक्षा माग्न गएको लगायतका घटनाहरु देखाइएको छ। यी सबै घटनाहरु भागवत पुराणमा व्याख्या गरिएको अनुसुयाको कथाबाट सापटी लिईएको छ।
भागवत पुराण अनुसार कर्दम्भ मुनि तथा देवहुतीको सुपुत्री अनुसुया, अत्री ऋषि सँग विवाह गरेर चित्रकुटमा रहेको आश्रममा बस्ने गर्थिन्। धार्मीक, पतिव्रता एवं पवित्र भएको कारण अनुसुयाले विभिन्न दिव्य शक्तीहरु समेत प्राप्त गरेको थिईन्।
एकदिन देवर्षी नारदले माता पार्वती, लक्ष्मी तथा व्राम्हणीको अगाडी अनुसुयाको तारिफ गर्न थाले। जसले गर्दा त्रि-देवीमा अनुसुयाप्रती ईर्ष्या प्रकट भयो। तत्पश्चात तिनै जना देवीहरुले आफ्नो पति भएको ठाउँमा गई अनुसुयाको पतिव्रता धर्म भंग गरेर आउन विभिन्न अनुनय, विनय गरेर बिन्ती गरे।
एकदिन अत्रि ऋषी आश्रममा नभएको मौका छोपी ब्रम्हा, विष्णु र महादेव तिनैजना साधुको भेष धारण गरेर चित्रकुट गई आफुहरु सन्यासी भएको र बहुतै भोक लागेको हुनाले नग्न भएर खानेकुरा ल्याउन अनुसुयालाई अह्राउछन्। त्यस्तो अलौकिक आग्रह सुनेपछि अचम्मित हुँदै अनुसुयाले ध्यानदृष्टीले हेर्दा त्रिमुर्तीलाई ऋषी भेषधारण गरेर आएको भनेर थाहा पाउछिन्। त्यसपछि उनले पानी मन्त्रेर तिनैजनालाई शिशु बनाई खानेकुरा खुवाउन थालिन्। अनुसुया एकदमै प्रतापी थिईन् त्यसैले देवताहरु आफ्नो पुर्ववत रुपमा फर्कन सकेनन् र शिशु भएरै अनुसुयाको आश्रममा रहन थाले।
लामो समय बितिसक्दा पनि आफ्नो पतिहरु अनुसुयाको आश्रमबाट फर्केर नआएपछि त्रिदेवी अत्तालिदै अनुसुयाको आश्रममा जान्छन् र अनुसुयाको आश्रममा आफ्नो पतीलाई शिशु अवस्थामा पाउँदा तिनै जना देवीहरु लज्जीत हुँदै अनुसुया सँग माफी माग्दै आफ्नो पती फिर्ता माग्छन्। अनुसुयाले तिनैजना भगवान आफ्नो गर्भबाट जन्मिने भए मात्रै पुरानै स्वरुपमा फिर्ता गरिदिने भनेर सर्त राख्छिन्। कालान्तरमा, अनुसुयाको गर्भबाट ब्रम्हा, विष्णु र महादेव तिनै जनाको अवतार स्वरुप भगवान ‘दत्तात्रय’ले जन्म लिन्छन्।
यसरी अनुसुयाको कथालाई पनि थोरै परिमार्जन गरि चलचित्रमा प्रयोग गरेको देख्न सकिन्छ।
चलचित्र सफल हुनुको कारण
कुनै पनि पुराण, वेद, उपनिषदहरुमा जिकिर नगरिएको एक पात्रले यसरी चलचित्रको माध्यमबाट प्रख्यात भगवान बन्नुको पछाडी विभिन्न कारणहरु रहेको भन्दै विस्तृत रुपमा अनेकौ अध्ययनहरु गरिएको छ।
भारतीय समाजशास्त्री वीना दासले सन् १९८१ मा यस चलचित्रको समाजिक तथा लैंगिक दृष्टीकोणबाट अध्ययन गरेको छिन्। हिन्दु धर्मशास्त्र अनुसार पुरुषले भक्ती गर्न कठिन तपस्या गर्नुपर्ने तर महिलाले भक्ति गर्न चै पतिको सेवा मात्रै गरे पुग्ने भनेर एकप्रकारको भाष्य तयार भएको छ। यो भाष्यलाई केहि हदसम्म ‘जय सन्तोषी माँ’ ले परिवर्तन गर्ने प्रयास गरेको पाइन्छ। चलचित्रकी प्रमुख पात्र सत्यवतीले भोग्नु परेको कठिनाईलाई पौराणिक पुरुषहरुले तपस्या गर्दा भोग्नु परेको कठिनाई सँग तुलना गरिएको छ, जसले महिला पात्रलाई पनि सशक्त रुपमा चित्रण गरेको छ। पुरुषले गर्ने तपस्या शक्ति र सत्ता केन्द्रित हुन्थ्यो भने महिलाले गर्ने तपस्या सन्तोष र सुख केन्द्रित देखाइएको छ।
७० को दशकमा भारतमा मसाला फिल्महरुको बोलबाला थियो। त्यसताकाको फिल्महरु नायक केन्द्रित हुने गर्दथे। खलनायकले नायकको परिवार तथा समाजलाइ विभिन्न प्रकारको दुख दिन्थ्यो र पछि गएर नायकले खलनायकलाई हराएर आफ्नो बदला लिन्थ्यो। त्यसताका भारतमा यसै जगमा अधिकांश फिल्महरु निर्माण गरिन्थ्यो। यस्तै फिल्महरु त्यो समयमा हिट पनि हुन्थे। तर, ‘जय सन्तोषी माँ’ यी चलचित्रहरु भन्दा फरक थियो। यसको प्रमुख पात्र कुनै सुगठित शरिर भएको नायक नभएर कम्जोर आर्थिक हैसियत भएकी एक अवला नारि ‘सत्यवती’ थिइन्। महिलालाई सहायक भूमिकामा मात्रै देखाइने त्यो समयमा यस चलचित्रले एउटा क्रान्ती नै गरेको थियो भनेर भन्दा पनि फरक नपर्ला।
युनिभर्सिटि अफ आइओवा मा हिन्दु धर्म पढाउने फिलिप लुट्गेनडर्फ़ले चलचित्र ‘जय सन्तोषी माँ’ लाई जातीय तथा वर्गीय दृष्टीकोणबाट व्याख्या गरेका छन्। ‘जय सन्तोषी माँ’ सफल हुनुको पछाडी त्यस बेलाको समाजमा विद्यमान छुवाछुतलाई पनि उनले औंल्याएका छन्। वर्षौ सम्म पनि हाउसफुल भएर प्रदर्शन भएको यस चलचित्रको मुख्य दर्शकहरु निम्न-मध्यम वर्गका महिलाहरु थिए। त्रि-देवीले सन्तोषी मातालाई दु:ख दिनको लागि सत्यवती लाई जेठानी मार्फत यातना दिन थाले। जसले गर्दा महिलाहरुमा सन्तोषी माता तर्फ दया पालायो।
अधिकांशले चलचित्रमा आफ्नो घरको कथा देखे। सासु तथा जेठानी बाट अपहेलित बुहारीको कथा देखे, धन कमाउन परदेश गएको आफ्नो श्रीमानको कथा देखे। चलचित्र हेरेपछि धेरैले आफ्नो जीवनसँग त्यसको तुलना गरे र आफुलाई सत्यवतीको ठाउँमा पाए। चलचित्रको कथा र अधिकांसको घरको कथा उस्तै नै थियो। जसरी सन्तोषी माताले सत्यवतीको दु:ख दुर गरिदिइन्, त्यसरी नै आफ्नो पनि दु:ख सक्किएला अनि सन्तोष प्राप्त होला भनेर महिलाहरुको मनमा गहिरो छाप पर्यो।
त्यसबेला निर्माण गरिएका धार्मिक चलचित्रहरुमा राजा, ऋषि, तपस्वी लगयातका व्यक्तीहरुले मात्रै भगवानलाई भेट गर्न सफल भएको र वरदान पाएको कुराहरु देखाइन्थ्यो। पुराणहरुमा पनि सामान्य व्यक्ति भएर भगवानको दर्शन गर्न नसकिने र भगवानको दर्शन पाउन कि सिद्ध हुनुपर्ने कि पूर्वजन्ममा कुनै ठुलो पुण्य गरेको हुनुपर्ने लगायतका कथाहरु हुने गर्दथे। तर ‘जय सन्तोषी माँ‘ ले भगवानको भक्ती गर्न सामान्य गृहिणी भए पनि हुने रैछ भनेर देखायो। जसले गर्दा महिलाहरुको ध्यान नयाँ देवितर्फ मोडियो। अझ जन्मकथा पनि जोडिएपछि मान्छेहरुले सन्तोषी मातालाई गणेश भगवानको छोरी भनेर पुजा गर्न सुरु गरे।
चलचित्रमामा सन्तोषी माता बालिका, युवति र प्रौढ तिन वटै उमेरमा देखिन्छिन्। जुन त्यसबेलाको समयमा बिल्कुल नयाँ थियो। भगवान पनि सामान्य मान्छेजस्तै जन्मिने र बुढो हुने रहेछन भनेर सन्तोषी माताप्रती दर्शकहरुको झन् आकर्षण बढेको पाइन्छ।
चलचित्र अगाडि
सन्तोषी माता न मनकामना, पाथिभरा जस्तो भौगोलिक महत्व भएको देवी हुन् न दुर्गा, काली जस्तो पौराणिक कथा भएकी देवी हुन्। कोलम्बिया युनिभर्सिटिमा धर्मशास्त्र पढाउने जोन हव्ले ले हिन्दु देवीहरूको बारेमा अध्ययन गरेर सन् १९९६ मा ‘देवी: भारतीय भागवतीहरु’ नामक पुस्तक प्रकाशन गरेका छन्। उक्त किताबमा बताए अनुसार चलचित्र ‘जय सन्तोषी माँ’ प्रदर्शन हुनुपुर्व नै भारतको जोधपुरमा सन्तोषी माताको मन्दिर रहेको थियो।
पहिले ‘लाल सागरकी माता’को मन्दिर भनेर चिनिएको उक्त मन्दीरलाई सन् १९६७ मा सन्तोषी माताको मन्दीरको रुपमा परिवर्तन गरिएको भनेर उनले लेखेका छन्। पर्चा वितरणको बढ्दो प्रभावका कारण जोधपुरको मन्दीरमा भक्तजनहरुको भिड बढ्दो थियो। त्यसरी सन्तोषी माताको दर्शन गर्न आउने भक्तजनहरुमा एकजना भक्त निर्देशक विजय शर्माको श्रीमती थिइन्। सन्तोषी माताको व्रतकथाबाट प्रभावित भएर उनैले आफ्नो श्रीमानलाई माताको नाममा चलचित्र बनाउनको निम्ति आग्रह गरेको भनेर पनि उक्त किताबमा लेखिएको छ।
ईतिहासविद माइकल ब्राण्डले सन् १९६० को आसपास नै सन्तोषी माताको नाममा ५ वटा मन्दिर भएको तथ्य उजागर गरेका छन्। पर्चा, पोस्टर तथा भित्तेलेखन मार्फत सन्तोषी माताको ख्याति महिलाहरु बीच बढ्दै गएपछि उक्त मन्दिरहरु स्थपना गरिएको र त्यसरी स्थापना गरिएको ५ वटा मन्दिर मध्य एउटा जोधपुरको मन्दिर पनि हो भनेर ब्राण्डले लेखेका छन्। तर त्यसरी बनाइएको कुनै पनि मन्दिर सन्तोषी माताको नाममा स्थापना गरिएको मन्दीर भने होइनन्। अन्य देवीको मन्दिरलाई नै परिवर्तन गरेर सन्तोषी माताको नाममा बनाइएको पाइन्छ। भारतको काँगडामा दण्डोक्शी माताको मन्दीरको नाम परिवर्तन गरेर सन्तोषी माताको नाममा मन्दिर बनाइएको भनेर पनि ब्राण्डले लेखेका छन्।
क्याथलिन अर्नड्लले सन्तोषी माताको प्रभाव बढ्नुमा प्रविधि तथा पूर्वाधारहरुको विकासको प्रमुख हात रहेको भनेर व्याख्या गरेको छिन। संस्कृतका पुस्तकहरुमा मात्रै पाइने भगवान पर्चाहरुमा पनि पाइन थाले। जसलाई अझ प्रचार गर्ने काम गाउँ-गाउँमा गित गाउदै हिड्ने गितांगे हरुले गरेका थिए । उनीहरुले गित गाउने क्रममा अतिरन्जित गरेर माताको व्याख्या गरेको हुन सक्ने भनेर पनि अर्नड्लले औल्याएको छिन।
त्यस्तै लुट्गनडर्फ़ले गरेको अर्को एउटा अध्ययनले सन्तोषी मातालाई भारतको मध्ये प्रदेश स्थित कुनै एउटा गाउँको स्थानिय देवी भनेर बताएको छ। अहिले पनि नेपाल तथा भारतको प्रायजसो ठाउँहरुमा स्थानीय देवीदेवताहरु पाइन्छन्। नेपालमा भाटभटेनी, गढिमाइ लगायतका स्थानीय देवीको शक्तिपीठहरु रहेका छन्। र, यसरी स्थानीय रुपमा उत्पन्न भएका देवीहरुको बारेमा विभिन्न जनश्रुतीहरु प्रचलित रहेका छन्।
तर सन्तोषी माताको जन्म तथा उत्पत्ती को बारेमा चलचित्र ‘जय सन्तोषी माँ‘मा देखाइएको बाहेक अरु केहि पनि कथा छैन।
चलचित्र पछाडि
चलचित्रमा सन्तोषी माताको भूमिका निर्वाह गर्ने कलाकार अनिता गुहाले एउटा अन्तर्वार्तामा बताए अनुसार मान्छेहरु चलचित्र हेर्न जाँदा फलफुल, प्रसाद, दक्षिणा लिएर जान्थे र सिनेमाघरको पर्दामा पुजा गर्दथे। त्यसबेला प्राय: सिनेमाघरको प्राङ्गणमा सन्तोषी माताको मन्दीर स्थापना गरिएको हुन्थ्यो। ५०-६० हप्ता भन्दा लामो समय चलेको उक्त चलचित्रको कारण सिनेमाघरले मात्रै नभएर प्राङ्गण्मा बनाइएको मन्दीरले पनि व्यापक रुपमा कमाई गरेको थियो।
अन्य देविहरुको पुजा गर्न सिन्दुर, गरगहना , मिष्ठान्न भोजन, फलफुल, दानदक्षिणा लगायतका प्रसादहरु चढाउनु पर्ने नियम रहेको छ। जबकी सन्तोषी माता लाइ सख्खर, चना लगायतको सामान्य कुराहरु चढाए पनि हुन्थ्यो जसले गर्दा निम्न आय भएका महिलाहरुको आकर्षण सन्तोषी माता प्रति बढेको पाइन्छ। उनले चलचित्रमा गरिब तथा असहाय महिला प्रति गरेको सहयोगले पनि सन्तोषी माता प्रति महिलाहरु आकर्षित भएको पाइन्छ। पर्चाहरुमा उपलब्ध व्रत-कथामा आफ्नो इच्छा पुरा नभएसम्म माताको व्रत गर्नु पर्ने भनेर लेखेको भएता पनि चलचित्रमा ४ महिना वा १६ हप्ता व्रत बस्नु पर्ने बताइएको छ। चलचित्रको त्यसै संवादलाई आधार मानेर आज पनि १६ हप्ता नै व्रत बस्ने गरिएको छ।
त्यो बेला भगवानको कथाहरु संस्कृतमा लेखिएको हुन्थ्यो। जसलाई सुन्नको लागि सिद्ध पण्डित को आवश्यकता पर्दथ्यो। अनुवादीत कथा पनि धेरैको पहुँच भन्दा बाहिर नै थियो। त्यत्तिकैमा सन्तोषी माताको पर्चाहरु बाँडीन थाले जसले सन्तोषी मातालाई ठुलो हिस्सामा परिचित गरायो। जसै चलचित्र प्रदर्शन भयो, त्यसले झन् ठुलो प्रभाव पार्यो । लेखपढ गर्न नजान्नेहरुले पनि भगवानलाई साक्षात् रुपमा देखे।
सिनेमाघरको प्राङ्गणमा रहेको सानो अस्थायी मन्दीरमा समेत एकदमै धेरै भेटि संकलन भएको देखेपछि व्यापक रुपमा सन्तोषी माताको मन्दीरहरु निर्माण हुन थाले। भारतकै चण्डिगढमा पनि सन् १८९९ मा स्थापना गरिएको अन्नपुर्ण देवीको मन्दिरलाई चलचित्र प्रदर्शन भए लगत्तै सन्तोषी माताको मन्दिर बनाइएको उदाहरण छ। त्यसरी मन्दिर बनाउनु को पछाडी चलचित्र सफल भएपछी धेरै भक्तजनहरुलाई आकर्षित गरेर आम्दानि गर्नु नै मुख्य उद्देश्य देखिन्छ। शिवजी तथा गणेशको पुरानो मन्दीरहरुको प्राङ्गणको एक छेउमा नातिनी तथा छोरी भन्दै सन्तोषी माताको मन्दीर बनाउने क्रम अहिले पनि जारि रहेको छ।
समयक्रमसँगै झुर प्रविधि तथा कामचलाउ सेट प्रयोग गरि निर्माण गरिएको उक्त चलचित्र हेर्नु पनि भगवानको भक्ति गर्नु सरह भएको छ। अहिले पनि शुक्रबारको दिन महिलागण भेला भई ‘जय सन्तोषी माँ’ हेरेर त्यस चलचित्रको गितहरु भजन सरह गाउने चलन रहेको छ। भारतमा विभिन्न टेलिभिजन च्यानलहरुले शुक्रबारको दिन उक्त चलचित्र प्रदर्शन गर्ने गर्छन। सन्तोषी माताको मन्दीरमा दर्शन गरिसकेपछि चलचित्रको डिभिडीलाई प्रसाद सरह दिने क्रम अझै पनि जारि नै छ।
विजय शर्माले ‘जय सन्तोषी माँ’को सफलताबाट हौसिएर सन् १९७६ मा ‘महालक्ष्मी माँ’ र सन् १९७९ मा म’हासती नैना सुन्दरी’ को निर्देशन गरेका थिए। तर ति चलचित्रहरुले आशातित सफलता हासिल गर्न सकेनन्।
नेपालमा प्रभाव
नेपालमा पनि सन्तोषी माताको प्रभाव बढ्दो रुपमा नै पाइन्छ। काठमाण्डौको नागपोखरीमा रहेको सन्तोषी माताको मन्दिर मा शुक्रबार लाग्ने भक्तजनको भिडले त्यसै भन्छ। विशेषत: मारवाडी समुहको महिलाहरुको विशेष घुइंचो उक्त मन्दीरमा देखिन्छ। व्यापारको सिलसिलामा कतै टाढा जानु भन्दा अगाडि सन्तोषी माताको मन्दीरमा गएर आशिर्वाद लिए उक्त यात्रा सफल हुने जनविश्वास रहीआएको छ।
अहिले नागपोखरी बाहेक रविभवन, धनुषा, झापा, वैतडी लगायतका क्षेत्रहरुमा पनि सन्तोषी माताको मन्दिर पाइन्छ। तर यी कुनै पनि मन्दीरहरु सन् १९७५ भन्दा अगाडी स्थापना भएका भने होइनन्। चलचित्र प्रदर्शन भए पश्चात त्यसैबाट प्रभावित भएर कि पुरानो कुनै देवीको मन्दीर परिवर्तन गरेर सन्तोषी माताको मन्दिर बनाइएको हुन् कि त नयाँ मन्दिर नै निर्माण गरिएको हुन्।
भारतमा जस्तै नेपालमा पनि विशेषत: गणेशको मन्दिर छेउमा सन्तोषी माताको मन्दिर स्थापना भएको भेटिन्छ।
र अन्त्यमा,
मान्छेहरु आफु नै भगवान बनेर आफ्नो पुजा अरुमार्फत गराइरहेको यो समयमा चलचित्रको पात्रलाई भगवान ठानेर पुजा गर्नु कुनै आपत्तिजनक कुरा त होइन। यो सबै आ-आफ्नो आस्था र विश्वासको कुरा हो। तर धर्मशास्त्रमा कतै पनि उलेख नै नभएको कुरालाई जबर्जस्ती जोडजाड पारेर सिनेमाघरमा देखाइने एउटा चलचित्रको पात्रलाई भगवानकै रुपमा मानेर चलचित्रको काल्पनिक कथालाई पौराणिक कथासरह श्रवण गरी चलचित्रकै गीतलाई भगवानको भजन ठानेर गाउनु चै एकदमै दुखद कुरा हो।
0 Comments:
Post a Comment