घरबाट बाहिर निस्किने बित्तिकै देखे - बाटोको छेउमै एउटा पहेलो रंगको ट्याक्सी उभिइरहेको थियो। ट्याक्सीको ड्राइभर सिटमा ‘ट्राभिस बिकल’ एक थान भावविहिन सपाट अनुहार लिएर मतिर हेरिरहेको थियो। मैले हिजो भर्खर ‘मार्टिन स्कोर्सेसी’ को कालजयी तथा मेरो सर्वप्रिय फिल्म ‘ट्याक्सी ड्राइभर’ १२२औ पटक हेरेको थिए। आज त्यहि फिल्मको प्रमुख पात्र मेरो अगाडि उभिएको थियो, उही पहेलो ट्याक्सी लिएर।

ट्याक्सी ड्राइभर र मेरो उमेर लगभग उस्तै छ - २६ वर्ष। उसको र मेरो समस्या पनि लगभग उस्तै नै छ - राति निन्द्रा नलाग्ने। ट्राभिस पहिला आर्मीमा थियो। उसले भियतनामको युद्ध लड्यो। जित्यो? पदक पायो। सम्मान पायो। तर उसले आफुलाई चै गुमायो। उसले लडेको युद्ध कसको लागि थियो ? त्यो जित कसको लागि थियो ? ट्राभिस फर्केर आएपछि उसलाई निन्द्रा लाग्न छोड्यो। समाजमा घुलमिल हुन उसले सकेन। जान्दै जानेन। समाज उसले छोडेको ठाउँ भन्दा धेरै अगाडी पुगिसकेको थियो। तथाकथित महान युद्धको वाछिटा परेको उ अनिद्राको पिडित भयो - म जस्तै। भलै म कुनै युद्धमा सहभागी भएको छैन, तर पनि म राम्रोसँग नसुतेको लगभग ६ वर्ष जति भयो होला।
मलाई राति निन्द्रा लाग्दैन, त्यसैले राति काम गर्छु। वा भनौं, म राति काम गर्छु, त्यसैले मलाई राती निन्द्रा लाग्दैन।
मैले दाहिने हातमा बाँधेको घडी हेरे - रातको १०:३० बजेको थियो। मेरो काम रातको ठिक ११:३० बाट सुरु हुन्छ। म शहरको सबैभन्दा प्रख्यात मुर्दाघरमा मुर्दा कुर्ने काम गर्छु। यदि यो एउटा आम रात हुँदो हो त म देशमा भर्खर भर्खर आएको ऐतिहासिक रेल चढेर आफ्नो काममा गइरहेको हुन्थे। तर आज त मलाई लिन खुद ट्याक्सी ड्राइभर आएको छ, पहेलो ट्याक्सी लिएर।
***
ट्याक्सी ड्राइभर र मेरो यो भेट पहिलोपटक भएको थिएन। यो हाम्रो १२२ औ भेट थियो । मैले ट्याक्सी ड्राइभर भन्ने फिल्म हेरेपछि त्यसको भोलिपल्ट ट्राभिस मलाई भेट्न आइपुग्छ। उ आजसम्म मलाई भेट्न आउन चुकेको थिएन। हाम्रो भेट जहिल्यै म बस्ने घरको बाटोको छेवैमा हुन्छ। ठिक १०:३० बजे। अनि म उसको Taxi चढेर मुर्दाघर जाने गर्दथे। यो क्रम मैले पहिलोपटक ट्याक्सी ड्राइभर हेर्न थाले देखि नै सुरु भएको थियो, जुन आजसम्म अनवरत रुपमा चलिरहेको छ।
“यो शहरमा बहुत धेरै प्रदुषण छ यार। मलाई प्रदुषण देखेर धेरै दिक्क लाग्छ।” ट्राभिसले एकदिन मलाई सुनायो। यो कुरा उसले फिल्ममा पनि भनेको छ। फिल्मभरी उ शहरको प्रदुषण र त्यसलाई सफा गर्नुपर्ने कुरा मात्रै गर्छ। गरिरहन्छ।
“मलाई पनि।” मैले ट्याक्सीको बाहिर हेर्दै एकदमै छोटो भने। बाहिर शहरमा केहि थान मान्छेहरु हिडिरहेका थिए, ट्याक्सी ड्राइभरको भाषामा भन्नुपर्दा प्रदुषणहरु अघि बढिरहेका थिए। प्रदुषणहरु बढिरहेका थिए।
सडकमा भेटिने चोर, हत्यारा, फटाहा, लुटेरा, वेश्या, भिखारी, दुर्व्यश्यनी आदी ईत्यादी सबैलाई उ फोहोर भन्थ्यो। यो सबैलाई नहटाएसम्म शहर सफा हुँदैन भनेर उसले मलाई सुटुक्क भनेको थियो। उसले युद्धमा मान्छेहरु मारेको थियो। तर पनि उसलाई हत्याराहरु मन पर्दैन थियो। उ आफुले मान्छे मारेको विषयमा केही बोल्दैन, वा भनौं बोल्न चाहदैन। उ सयवटा मुसा मारेर त्यसको पाप पखाल्न तीर्थयात्रा जाने एउटा बिरालो हो।
उसलाई वेश्याहरू पनि मन पर्दैन थियो। तर उ प्रत्येक हप्ता अश्लिल चलचित्र हेर्न जान्थ्यो। उसलाई यौनकर्मी मन पर्दैन तर यौन मन पर्थ्यो।
ट्याक्सी ड्राइभर तपाई हामी जस्तै नै छ - विरोधाभासै विरोधाभासले भरिएको। म बाहिर एकथोक भन्छु तर भित्र अर्कोथोक गर्छु। तपाई पनि एकचोटी आफुले आफुलाई आदर्शको कसीमा नापेर हेर्नुस् त ? आफुले आफुलाई कस्तो पाउनु हुन्छ ? तपाई समाजमा भेदभाव हुनु हुँदैन भन्नु हुन्छ तर नजानिदो पाराले भेदभाव गर्नु हुन्छ। मलाई त्यसैले त ट्राभिस बिकल मन पर्थ्यो किनभने उ ठ्याक्कै मै जस्तो वा भनौ तपाई जस्तै विरोधाभास नै विरोधाभासले भरिएको थियो।
***
मैले मुर्दाघरमा काम गर्न थालेको ठ्याक्कै ५ वर्ष भइसकेको थियो। मलाई इन्सोम्नियाले छोएको ठिक एक वर्ष पछि मैले यो काम पाएको थिए। म आफ्नो अनिद्राको सदुपयोग गर्ने काम खोजिरहेको थिए। शहरको प्रख्यात मुर्दाघरमा राति काम गर्ने एउटा चौकिदार चाहिएको रहेछ। कामको एउटै सर्त थियो - राती सुत्न पाईदैन। त्यो सुनेर म मनमनै बहुत मुस्कुराए।
मुर्दाघरमा काम गर्ने म एक्लो थिइन। त्यहाँ ‘एड्गार एलान पोए’को ‘टेल टेल हर्ट’भन्ने कथामा भा’को गिद्धको जस्तो आँखावाला बुढो चै मुर्दा कुर्ने काम गर्थ्यो। म चौकीदारी गर्थे, बुढो मुर्दा कुरेर बस्थ्यो। बुढोको एउटा खुबी थियो - उ आँखा हेरेरै सुत्न सक्थ्यो। त्यसैले कसैलाई पनि बुढो काममा सुतिरहेछ कि उठिरहेछ भन्ने थाहा हुँदैन थियो।
एकदिन अचानक मुर्दाघरमा बुढो आफै मुर्दा भयो। मुर्दाघरमा एउटा ठुलो हल थियो, त्यही हलमा मुर्दाहरु मिलाएर राखिएको हुन्थ्यो। उसको लास पनि मुर्दाघरको त्यहि हलमा मिलाएर राखियो। बुढोले आफ्नो लास पनि त्यहि मुर्दाघरमा मिलाएर राखिन्छ भन्ने सायदै सोचेको थियो होला।
यो मुर्दाघरमा कैयन् लासहरु मिलाएर राखिएको छ। यहाँ छोराको हत्यारालाई सजायको माग गर्दागर्दै मृत्युवरण गरेका एकजना बाबुको लास पनि राखिएको छ। कहिलेकाही तिनको लासमा पनि राजनीति गरिन्थ्यो। यहाँ जातको नाममा प्रेमीकाको आफन्तहरुले घाँटी न्याकेर मारिएको एउटा महान् प्रेमीको लास खाल्डोबाट उत्खनन गरेर ल्याई राखिएको छ। जस्तोसुकै भयानक प्रकृतिको लास भए पनि उनीहरुलाई मिलाएर नै राखिन्थ्यो। राजनीतिमा जसले राम्रोसँग लासको व्यवस्थापन गर्यो, उसले चाँडो प्रगति गर्छ भनेर एउटा हल्ला व्याप्त थियो। मुर्दाघरभित्रको कुनामा अझ भयानक-भयानक लासहरु पनि छन्। खैर छोडौ, लासहरुको बारेमा म एकदिन बेग्लै भनौला।
बुढो मरेपछि मैले उसको त्यो मुर्दा कुर्ने काम गर्न थाले, तर मेरो ठाउँमा नयाँ चौकिदीर कोहि पनि आएनन्। कतिले बुढोको हत्या मैले नै गरेको हुँ समेत भनेका थिए रे तर मलाई याद छैन। हिजोआज मलाई धेरै कुरा याद हुन छोडेको छ। कुनै बेला ट्याक्सी ड्राइभर हेरेपछि त्यसैबाट प्रभावित भएर John Hinckley Jr भन्ने मान्छेले अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको हत्या गर्ने प्रयास गरेको थिए। एउटा फिल्मको कस्तो भयानक प्रभाव। सायद त्यसै फिल्मबाट प्रभावित भएर मैले पनि बुढोको हत्या गरे कि ? थाहा छैन। हुन पनि सक्छ।
निद्रा नपर्ने मान्छेको दिमागबाट धेरै कुराहरु हराउन थाल्छन्। उसको स्मरण शक्ती खिईदै जान्छ र दिमागमा भयानक कुराहरु खेल्न थाल्छन्। मैले आफ्नो कैयौं रात मुर्दाहरुसँग बोलेर बिताएको छु। मुर्दा घरमा म एक्लै जिवित व्यक्ती हुन्थे तर मलाई म चै मृत र सारा मुर्दाहरु चै जिवित् मान्छेहरु हुन् कि जस्तो लाग्थ्यो। मुर्दाहरु सास नफेर्ने लास हुन्, म सास फेर्ने लास हुँ। संसारमा तपाइँ हुनु र नहुनुले कसैलाई पनि यदि कुनै फरक पार्दैन भने यो संसारमा तपाइँ हुनुको कुनै अर्थ छैन। ट्राभिस लाई यो समाजको हिस्सा हुन् मन थियो। उसलाई शान-ओ-शौकत केहि पनि चाहिएको थिएन; मात्र समाजले उसलाई स्विकार गरिदिए पुग्थ्यो।
***
म ट्याक्सी चढ्ने बित्तिकै ट्राभिसले ट्याक्सी कुदाईहाल्यो। उसको ट्याक्सीमा कालीप्रसाद रिजालको कालजयी “दुई कदम साथै हिंड, छुट्टिनु त छँदैछ…” भन्ने गीत बजिरहेको थियो। मलाई त्यो गितको प्रत्येक शब्दहरु सिधै उडेर मतिर आएजस्तो लाग्छ। यस्तो लाग्छ कि शब्दहरु एक अर्कासँग म्याराथन दगुरिरहेका छन्। ट्राभिस र म २ कदम साथै हिडिरहेका थियौ र हामि मुर्दाघरमा पुगेर छुट्टिन्थ्यौ। मैले मुर्दाघरमा जुनी जुनी सम्म नछुट्ने कसम खाएको जोडीहरु पनि छुटेको देखेको छु। त्यसैले पनि मलाई कालीप्रसाद रिजालको उक्त गीत मन पर्थ्यो।
मैले नै उसलाई सिफारिस गरेको यो गित बाहेक उसले अरु गित आफ्नो ट्याक्सीमा बजाएको मलाई याद छैन। हुन त मलाई आजकाल के नै पो याद हुन्छ र। सबै बिर्सिन्छु। कहिलेकाही त लाग्छ म एकदिन सास फेर्न बिर्सिएरै मर्छु होला। एक्लोपना र अनिद्रा तपाइँले सोचेभन्दा भयानक कुरा हुन्छन्। जब तपाइलाई आफु किन यो संसारमा छु, कसको लागि छु भनेर थाहा हुन् छोड्छ तब तपाइँ बहुत ठुलो द्वन्दमा फस्नु हुन्छ। तपाइँ आफु यो संसारमा छु भनेर देखाउनको लागि जेसुकै पनि गर्न तयार बन्नु हुन्छ।
***
म प्राय: कालो कफि पिउँछु। सुरुमा मैले कफि रहरले पिउन सुरु गरे। एकचोटी खै कुन्नि कसले हो असली कफि खानुको मजा चिनी नहालेको कालो कफिमा हुन्छ भनेर मलाई सुनायो। मैले असली मजा लिने कोशिस गरे। सुरुको २-४ पटक गाह्रो भयो। पछि सजिलो भयो। बानी पर्यो। लत लाग्यो। कुलत भयो। संसारमा धेरै कुराहरु लहडमा सुरु हुन्छन र कुलतमा गएर अन्त्य हुन्छन्।
ट्याक्सी ड्राईभरले आफुले आफैलाई खोज्ने ठुलो प्रयास गर्यो। तर, उसले कतै पनि आफुलाई पाएन। आफुलाई खोज्ने लहडमा सिद्धार्थ गौतम घर छाडेर टाढा गए। जंगलमा बसे। आफुलाई खोज्ने लहडमा, आफु पनि यो संसारमा छु है भनेर जानकारी दिन ट्याक्सी ड्राईभरले हत्या गर्यो। मैले पनि आफुलाई खोज्ने कोसिस गरे। तर, उसले जस्तो हत्या गर्न सकिन। म एक्लो मात्र हैन डरपोक पनि छु। तपाई पनि डरपोक हुनुहुन्छ। तपाइँ र मैले आफ्नो सपनाहरुको बाहेक अरु केहिको पनि हत्या गर्न सक्दैनौ।
लगातार १८ घन्टासम्म काम गर्दा पनि सुत्न नसक्नुको पिडा कि म बुझ्छु, कि ट्राभिसले बुझ्छ। थकाई लाग्छ, निद्रा लाग्दैन। वाणको शय्यामा सुतेका भीष्म पितामह घाउ दुखेर रुन्थे, कराउथे मर्न खोज्थे तर मर्न सक्दैनथ्ये। हामी सबै आधुनिक भीष्म पितामह हौ। लाचार।
ट्याक्सी ड्राईभर पहिलोपटक मैले कसरी र कहिले हेरे याद छैन। तर हेर्ने बित्तिकै मलाई त्यो आफ्नै कथा जस्तो लाग्यो। रातमा काम गर्नेहरुको कथा। निशाचरहरुको कथा।
त्यो बेला सायद म अनिद्रा सम्बन्धी फिल्महरु खोज्दै थिए। र, ‘फाइट क्लब’ हेरिसके पछि लगत्तै मैले ट्याक्सी ड्राइभर हेरेको थिए। मैले धेरै पछि मात्रै थाहा पाए, अनिद्रा भयानक ठुलो रोग हो।
***
एकदिन ट्राभिस कु-टाइममा मुर्दाघर आयो। मैले हिजो ट्याक्सी ड्राइभर हेरेको थिइन तर पनि उसको र मेरो जोगले हुन्छ भेट… वाला भेट भयो। हिजोआज उसले आफ्नो ट्याक्सीलाई शव बाहन बनाएको रहेछ। विश्वमा महामारी फैलिएसँगै जिउँदो मान्छे भन्दा मरेका मान्छेहरु धेरै हुन थालिसकेका थिए। लासहरुको पनि ईज्जत लुटिएको उसले सुनेको थियो। लासहरुमाथी राजनिती गरेको त झन् उसले आफ्नै आँखाले देखेको थियो। उ लासहरुसँग पैसा नलिई उनीहरुको ओसारपसार गर्थ्यो।
उसले ट्याक्सीबाट एउटा फ्रेस लास निकाल्यो अनि मेरो अगाडि छोडेर गयो। आज पहिलोपटक ट्राभिस म सँग केहि नबोली गएको थियो। म ट्वाल्ल परे। परी रहे। मैले लासको अनुहार हेरे - त्यसको अनुहार मेरो अनुहार सँग मिल्थ्यो। त्यो मेरै लास थियो। तर म को हुँ ? मैले बिर्सिए। त्यसपछि ट्राभिसले ल्याएको सबै लासहरुको अनुहार मेरो अनुहार सँग मिल्न थाल्यो।
शहरको फेमस अखबारहरुमा भोलिपल्ट पनि सधैं आउने जस्तै नै समाचारहरु आई रहेका थिए। नयाँ केहि थिएन।
“क्वारेण्टिनमा एकजना युवकको मृत्यु …. “
“उच्च जातको व्यक्तीहरु द्वारा प्रेम गरेको आरोपमा दलितको हत्या…”
“भोकको कारण घरमै गरिबको मृत्यु…”
“परदेशबाट हिडेर घर आइपुग्ने बित्तिकै एक महिलाको मृत्यु…… “
तर, यसपटक भने प्रत्येक समाचारमा मेरो फोटो थियो। प्रत्येक पटक म मरिरहेको थिए। ए, हैन हैन। म मरेको थिईन; मलाई प्रत्येक पटक मारिएको थियो। ऐना हेर्नुस त - म नै तपाइँ हुँ ।
0 Comments:
Post a Comment