May 12, 2020

अष्ट्रेलियामा कोरोनाले नेपाली विद्यार्थीलाई पारेको असर

[Published in Kathmandu Press]


गत वर्ष जुनमा सुरु भएको डढेलोले अष्ट्रेलियामा ठुलो क्षति पुर्यायाे। झन्डै एक अर्ब जनावरहरुको मृत्यु भएको उक्त डढेलोमा परि ३४ जना मानिसहरुले समेत ज्यान गुमाएका थिए भने करोडौं हेक्टर जंगल डढेर खरानी भयो। डढेलोको साे कहरबाट मुक्त हुन नपाउँदै विश्वका अन्य देशहरुलाई जस्तै अष्ट्रेलियालाई पनि कोरोना भाइरसले प्रभावित पार्यो।


संयुक्त राष्ट्र संघले मार्चको पहिलो साता कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गर्दासम्म अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या १ सय ५० नाघिसकेको थियो भने केही संक्रमितहरुको मृत्यु पनि भइसकेको थियो। अष्ट्रेलियन सरकारले कोरोनाको प्रकोप थप फैलिन नदिन मान्छेहरुको जमघट हुने विभिन्न ठुला कार्यक्रमहरु रद्द गर्यो । साथै मान्छेहरुको जम्मा हुने संख्यामा कडाइ पनि गर्दै लग्यो । हाल २ जनाभन्दा बढी सँगै हिँड्न पाइँदैन भने हिँड्दा पनि १.५ मिटरको दुरी कायम गर्नुपर्दछ। गाडिमा सकभर दुईजना सँगै बसेर यात्रा गर्नु हुँदैन, एकजना अगाडि बसे अर्को व्यक्ति पछाडीको सिटमा बस्नुपर्दछ। प्रहरीले कडाइका साथ चेकजाँच गरि नियम नमान्नेहरुलाई जरीवाना पनि तिराइरहेकाे छ ।




हालसम्म अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या करिब ६ हजार पुगिसकेको छ भने ६० जनाको मृत्यु भइसकेको छ। पछिल्लाे समय अष्ट्रेलियामा संक्रमितको वृद्धिदर घटिरहेकाे छ भने यो दर अझै घट्दै जाने जानकारहरुले जनाएका छन्। यदाकदा केहि व्यक्तिहरुले नियम नमानेको समाचार आइरहे पनि यसरी संक्रमितको संख्या वृद्धि हुने दर घट्नुकाे मुख्य कारण सरकारले लागू गरेको नयाँ नियम नै हो। कुनै काम नपरि फोकटमा बाहिरफेर निस्केको खण्डमा ठुलो जरिवाना तिर्नुपर्ने हुनसक्छ। नागरिकहरुले सरकारसँग समन्वय गरेका कारण पनि अष्ट्रेलियाले लकडाउन नगरी कोरोना नियन्त्रण गर्न सक्ने विश्वास लिइएको छ। तर, कोरोनाको प्रभाव ढिलो गरि मात्र थाहा हुने भएकाले अहिल्यै यकिनका साथ भन्न सकिने अवस्था भने छैन ।


अष्ट्रेलियामा बस्ने सबैजनालाई कोरोनाको प्रभावित बनाएकाे छ जसबाट आप्रवासी नेपालीहरु अछुतो रहने कुरो भएन। तथ्यांक अनुसार अष्ट्रेलियामा एक लाखभन्दा बढी नेपालीहरु छन् जसमा विद्यार्थीको संख्या अधिक छ। अधिकांश नेपालीहरु न्यू साउथ वेल्स राज्यको सिड्नी र भिक्टोरिया राज्यको मेलबर्न सहरमा बसोबास गर्दछन् । कोरोनाको प्रकोप पनि अन्य क्षेत्र भन्दा यिनै क्षेत्रमा ज्यादा फैलिएको छ।


तथ्यांक अनुसार अष्ट्रेलियामा बस्ने अधिकांश नेपाली स्वास्थ्य क्षेत्रमा कार्यरत छन् र कोरोनाको सबैभन्दा ठुलो जोखिम पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने मानिसहरुमा रहेको पाइएको छ। सरकारले जोखिम न्यूनिकरणको लागि सुरक्षाका विभिन्न उपाय तथा उपकरणहरु प्रयोग गरिरहेको छ। त्यसैले पनि अहिलेसम्म स्वास्थ्य क्षेत्रमा संलग्न कुनै पनि नेपाली लाई संक्रमण हुन पाएको छैन। सिड्नीमा ४, मेलबर्नमा ३ र तास्मनियामा १ गरि ८ जना नेपालीहरुमा कोरोना संक्रमण देखिएको भएता पनि उनीहरुको अवस्था जटिल नभएको जानकारी आएको छ।


कोरोनाको मार अष्ट्रेलियाका धेरै व्यापार व्यवसायहरुमा परेको छ, जसको प्रत्यक्ष असर त्यहाँ कार्यरत कामदारहरुलाई पर्न गएको छ। पर्यटनसँग सम्बन्धित होटेल, रेस्टुरेण्टहरु प्राय: जसो ठप्प भएका छन्। अष्ट्रेलियामा स्थापित भइसकेका नेपालीहरुलाई पनि उल्लेखनिय असर परेको भए तापनि सबैभन्दा ठुलो असर भने विद्यार्थी वर्गलाई पर्न गएको छ। यतै बसेर काम गर्दै युनिभर्सिटि/कलेजकाे शूल्क पनि तिर्ने र नेपाल पनि पैसा पठाउने साेचले आएका विद्यार्थीहरुलाई कोरोनाको कारण देखिएको मन्दीले ठूलाे धक्का पुगेको छ।


केही विद्यार्थीहरुलाई एकदमै समस्या परेको भएतापनि सामाजीक सञ्जालमा हल्ला भएजस्तो अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको कन्तबिजोक भने भएको छैन। त्यस्तै, नेपाली फेसबुक तथा युट्युबमा भाइरल भएका ‘अष्ट्रेलियन सरकारले नेपालि विद्यार्थीहरुलाई घर फर्कन निर्देशन’ ‘नेपाली विद्यार्थीको अष्ट्रेलियामा रुवाबासी’ लगायतका समाचारहरुमा पनि कुनै सत्यता छैन। यि सबै भ्रामक तथा अतिरन्जित खबरहरु मात्र हुन्।


अष्ट्रेलियन सरकारले कुनै पनि विद्यार्थीलाई देश छोडेर जाने निर्देशन दिएकाे छैन। भर्खरै आएका तथा आफ्नो ६ महिनासम्मको लागि खर्चको बन्दोबस्त गर्न नसक्नेहरुलाई मुस्किल हुन्छ भने आफ्नो देश फर्किन सकिन्छ भनेर सुझाव मात्र दिइएको हो। प्राय सबै कलेज तथा युनिभर्सिटीहरुले आफ्ना कक्षा अनलाइन प्रणालीबाट पढाउन सुरु गरेका छन्, जुन पढाई विश्वको जुनसुकै कुनामा बसेर पनि गर्न सकिन्छ। कुनै कुनै कलेजले त आफ्ना विद्यार्थीहरुलाई शुल्कमा सहुलियत पनि दिएका छन्। तर, अष्ट्रेलिया लगायत विश्वका अधिकांश देशले आफ्ना सबै अन्तर्राष्ट्रिय उडान रद्द गरेको बेला आफ्नो देश जान सकिन्छ भन्ने आशयको अभिव्यक्तिमा कुनै पनि प्रकारको व्यवहारिकता भने भेटिन्न।


अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो प्रमुख दायित्व आफ्ना नागरिक तथा स्थायी वासिन्दाहरु प्रति हुने भएकोले आप्रवासीहरुलाई कुनै पनि प्रकारको आर्थिक सहयोग गर्न नसकिने बताएका थिए। तर, अष्ट्रेलिया आएर काम गरेको एक वर्ष कटेका विद्यार्थीहरु साँच्चिकै आर्थिक संकट परेको अवस्थामा भने सुपरएनुएसन (सञ्चय कोष ) बाट १० हजार डलरसम्म निकाल्ने सुविधा दिएका छन्। अष्ट्रेलिया आएको एक वर्ष पनि नपुगेका विद्यार्थीहरुलाई भने मुस्किल पर्ने देखिन्छ। अहिलेको अवस्थामा व्यापार-व्यावसाय ठप्प भएकोले नयाँ काम पाउन असम्भवप्रायः छ। यदि साँच्चिकै मुस्किल पर्ने भए आफ्नै देशबाट पैसा मगाउनु पर्ने अवस्था पनि हुनसक्छ तर नेपालमा सरकारले पुर्ण रुपमा लकडाउन गरेको हुनाले त्यो पनि सहज विकल्प भने हाेइन ।


त्यस्तै, विद्यार्थीहरुलाई अरुबेला हप्ताको २० घण्टा मात्रै काम गर्ने ब्यबस्था थियो भने अहिले स्वास्थ्य क्षेत्र र सुपरमार्केटहरुमा काम गर्ने विद्यार्थीहरुले फुल टाइम नै काम गर्ने सुविधा पाएका छन्। स्मरण रहोस्, स्वास्थ्य क्षेत्र र सुपरमार्केटहरु मानिसहरुको चहलपहल बढि हुने क्षेत्र हो, जहाँ कोरोना भाइरस फैलिने जोखिम एकदमै धेरै रहेको छ।


अष्ट्रेलियामा रहेको नेपाली दुतावासले यताका विद्यार्थीहरुको लगत संकलन सुरु गरिसकेको छ जसबाट कुनै विद्यार्थीहरुलाई कुनै समस्या परे तत्काल सम्पर्क गरेर सहयोग गर्न सकिने बताइएको छ। त्यस्तै, एनआरएनए लगायत विभिन्न संस्था तथा केहि समाजसेवीहरुले व्यक्तिगत तवरले आपतमा परेका विध्यार्थीहरुलाई सहयोग गरिरहेका छन्। मुख्य रुपमा होटेल, रेस्टुरेण्ट लगायत पर्यटनसम्बन्धी कामहरु पुरै ठप्प भएकाले त्यस क्षेत्रमा काम गर्नेहरु बढी बेराेजगार भएका छन्। अन्य क्षेत्रमा काम गर्नेहरुको पनि काम गर्ने समय घटेको छ। फेसबुक लगायतका सामाजीक सञ्जालहरुमा केहि विद्यार्थीहरुले आफुलाई एकदमै समस्या परेको बताइरहेका पनि छन्, जसको लागि समाजसेवी नेपालीहरुले स्वःस्फूर्त रुपमा सहयोग गरिरहेको पनि देखिएको छ। 


खाद्यसामग्रीका पसलहरु बन्द नभएको हुँदा खानको लागि त खासै समस्या नहोला तर महँगो घरभाडाले भने विद्यार्थीहरुलाई मारमा पारेको छ। केही घरबेटीहरुले भाडामा सहुलियत दिएका त छन् तर त्यो सबै विद्यार्थीहरुले प्राप्त गरेका छैनन्। अष्ट्रेलियन सरकारले विद्यार्थीहरुलाई कुनै प्रकारको आर्थिक सहायता नदिए पनि घरभाडामा केही छुट दिए विद्यार्थीहरूले ठुलो राहत महसुस गर्ने थिए।


अष्ट्रेलियाको मुख्य आम्दानीको स्रोतमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु पर्दछन् । गत वर्ष मात्रै करिब ७ लाख अन्तर्राष्ट्रिय विद्यार्थीमार्फत् अष्ट्रेलियाले ३४ अर्ब अष्ट्रेलियन डलर आम्दानी गरेको थियो। जसमा विद्यार्थीहरुले तिरेको शूल्क, उनीहरले खानबस्न गरेको खर्च लगायत उनीहरुले तिरेको कर पनि समावेश छ। अष्ट्रेलियामा सबैभन्दा धेरै चीनबाट विद्यार्थीहरु पढ्न आउँछन् भने दोस्रो र तेस्रो नम्बरमा क्रमशः भारत र नेपाल रहेकाे छन् । त्यसकारण पनि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई उचित सम्बोधन गरिनु पर्छ नत्र त्यसले भविष्यमा अष्ट्रेलिया आउने विद्यार्थीहरुको संख्यामा ठुलो असर गर्छ भनेर सरोकारवाला निकायहरुले सरकारकाे ध्यानाकर्षण गराइरहेका छन्।


यदि अष्ट्रेलियामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएर स्थिती अहिलेको भन्दा भयाभह बन्न गयो भने त्यसले ठुलो दीर्घकालिन असर पुर्याउनेछ। जसको सबैभन्दा ठुलो पीडीत अन्तर्राष्ट्रिय विद्यार्थीहरु हुनेछन्। नेपाल भित्रिने रेमिट्यान्समा खाडी मुलुक र दक्षिण कोरियासँगै अष्ट्रेलियन विद्यार्थीहरुले पठाउने पैसाको पनि ठुलो हिस्सा रहेको छ। तर कोरोनाका कारण ती सबैमा ठूलो मात्रामा गिरावट आएको छ। विश्वको अर्थतन्त्र नै धराशयी हुने अवस्थामा रहेकाे अन्तराष्ट्रिय मुद्रा कोषले चेतावनी नै दिइसकेको छ। त्यसले रेमिट्यान्समा टिकेको हाम्रो देशलाई ठुलो असर पुग्न सक्छ।


अब अष्ट्रेलिया आउने नयाँ विद्यार्थीहरुले कम्तिमा पनि एक-डेढ वर्षको लागि आफ्नो खर्च धान्न सक्ने ब्याक-अप प्लान सहित आउनु नै उत्तम हुन्छ। नेपालबाट ऋण काढेर अष्ट्रेलियामा आएर युनिभर्सिटिको शूल्क तिरी बचेको पैसा घरमा पठाउने प्राय सबै विद्यार्थीहरुको लक्ष्य हुन्छ । तर, अब केही समय याे असम्भव देखिन्छ।

0 Comments:

Post a Comment

 
;