त्यसबेला मैले भर्खर-भर्खर ग्रीन टी को बारेमा थाहा पाएको थिए। मार्केटमा ग्रीन टी खाने फेसन नै चलेको थियो। सेलिब्रेटीहरु, खेलाडीहरु, प्रतिष्ठित व्यक्तित्वहरु आदीहरु इत्यादीहरु सबै जनाले ग्रीन टी खान्थे। ग्रीन टी खायो भने पेट घट्छ, अनुहार राम्रो हुन्छ, क्यान्सर समेत निको हुन्छ, यहाँ हुन्छ, त्यहाँ हुन्छ भनेर खबरहरु आइरहन्थे।
![]() |
Image Source : Google |
लौ न त, यस्तो अद्भुत चिज के रैछ त भनेर मैले पनि कालो चिया भन्दा दोब्बर मूल्य तिरेर ग्रीन टी किनेर ल्याए। सबैले ग्रीन टी खा'को फोटो हाले पनि कसरि बनाउने भनेर कहिल्यै हाल्दैन थिए। यदी जाबो कुरा त गुगलमा खोजेर अथवा अरुलाई सोधेर भए पनि थाहा हुने हो तर म भित्रको झापाली-अहम् ले मलाइ त्यसो गर्न दिएन। नेपालको सबैभन्दा धेरै चिया उत्पादन ठाउँको वसिन्दा भएर पनि चिया कसरि पकाउने भनेर खोज्छन् ? तैट।
ग्रीन टी को प्याकेट घरमा ल्याएर खोलेर यसो हेर्दा त ठ्याक्कै हाम्रो तिर पाइने हाते-चिया जस्तै रैछ। ग्रीन-टी भनेको हरियो पातलाई नसुकाइकन नै प्याक गरेको रैछ भन्ने लख काटे। १२ वर्षको उमेरदेखि चिया पकाउन थालेको मान्छेलाई जाबो ग्रीन-टी त आइहाल्छ नि लाग्यो। पानि उमाले, चिनि हाले, मरिच हाले, ग्रीन टी को पात हाले - यत्ति त हो। ग्रीन टी तयार भयो। खाए। अलिअलि तितो अझै भएकोले मैले पुन: चिनी थपेर भए पनि खाए।
ग्रीन टी त खान थालियो तर अरुलाई त्यसको जानकारी कसरि दिने भन्ने पीरले मलाई पिरोल्न थाल्यो। कसैले पनि तँ ग्रीन टी खान्छस् कि खान्दैनस् भनेर सोध्दैन थियो। मलाई अरुलाई म पनि ग्रीन टी खान्छु भनेर सुनाउन नपाउदा बहुत गाह्रो हुन थालेको थियो।
त्यसपछि मैले कुरैकुरामा जबर्जस्ती ग्रीन टी को प्रसङ्ग घुसाउन सुरु गरे। थाहा छ, ग्रीन टी खायो भने यो हुन्छ, त्यो हुन्छ भनेर सुनाउथे। अनि लास्टमा मा पनि ग्रीन टी खान्छु नि भनेर भन्थे। सेन्ट जेभियर पढ्ने कुनै पनि विद्यार्थीहरुसंग कुरा सुरु गर्नुस। आधा घण्टा भित्रमा जसरि पनि कुरा घुमाएर म सेन्ट जेभियर पढेको हुँ नि भनेर भन्छन् रे। मैले पनि त्यसै गरे।
त्यसबखत मेरो घनघोर लभ परेको थियो। लभ परेको बेला डेटिङ्ग जानुपर्छ रे। त्यसैको सिलसिलामा एकदिन क्याफे गइयो। खाजा खान। मलाई अब उनको अगाडी ग्रीन टी खान्छु भनेर सुनाउनु थियो।शान दिनु थियो। म प्राय: चिनी नहालेको कालो कफी पिउने गर्थे। गर्छु। क्याफेमा अरु पनि मान्छे थिए, उनीहरुले पनि मैले ग्रीन टी खाने गरेको थाहा पाउन भनेर हल्का ओभर स्मार्ट भएर मैले भने -
भाई! मलाई चै चिनी नहालेको ग्रीन टी ल्याईदेउ है। मैले सधैं खाने कफी जस्तै।
भाई - दाई! ग्रीन टी मा कहिले पनि चिनी हालेर खाँदैनन् नि।
पल्लो टेबुलका मान्छेहरु हाँसे। हुन त उनीहरु अगाडीबाटै हाँसिरहेका थिए। तर, अहिलेको चै मलाई उडाएर हाँसेका हुन् कि जस्तो लाग्यो।
ग्रीन टी त तितो पो हुने रैछ। मैले ग्रीन टी खान छोडे।
0 Comments:
Post a Comment