“विश्वरूपको मन्दिरमा पूजा गरेपछि संसारका
सबै मन्दिरमा पूजा गरेबराबरको फल प्राप्त हुन्छ ।” पशुपतिनाथको मन्दिरको
भर्याङ चढ्दै गर्दा उसले सुनाई । खै किन हो, उकालो चढ्दा जहिल्यै मेरो सास
फुलेर आउँथ्यो । त्यही भएर मैले केही उत्तर दिइनँ । दिन सकिनँ ।
“ऊ... त्यही त हो विश्वरूपको मन्दिर ।
जाऊँ न एकपटक पुगेर आऊँ । यहीँ नजिकै घर भए पनि भूकम्प आएपछि आजसम्म म
त्यहाँ ग’को छैन ।” ठिक्क भर्याङको टुप्पोमा पुग्नेबित्तिकै उसले आग्रहले
भरिएका आँखाले मतिर हेरी ।
![]() |
Image Source: Google |
एक त आग्रह, त्यसमाथि केटीको, मैले कसरी नमानूँला ? सिधै लागेँ उसका पछिपछि विश्वरूपको मन्दिरतिर ।
“यही खण्डहर देखाउन लेरा’को हो मलाई ?”
मैले मन्दिरभित्र पस्नेबित्तिकै झर्केर सोधेँ । भूकम्पले जस्तो छोडेको
थियो, मन्दिर ठ्याक्कै त्यस्तै थियो । पुनर्निर्माण प्राधिकरणका हाकिमहरू
फेरिए पनि यो मन्दिरको अवस्था फेरिएको थिएन । काठमाडौंभित्रैका भगवान्को
घरको हालत त यस्तो छ, झन् काठमाडौंबाहिरका जनताको घर कस्तो होला ?
“भित्र हिँड न पहिले । कत्ति कचकच
गरि’रा होला ?” उसले झर्किँदै सुनाई । अब धेरै नबोल्ने भन्दै म उसका पछिपछि
भत्किसकेको मन्दिरका इँटा र ढुङ्गा पन्छाउँदै हिँड्न थालेँ । उसले आफ्नो
पुराण बन्द गरेकी थिइन ।
“संसारका सबै मन्दिरहरूको दर्शन
गरेबराबरको फल यो मन्दिरमा दर्शन गरेपछि पाइन्छ । त्यसैले यसको नाम नै
विश्वरूप रहन गयो । पशुपतिनाथको छेउँमा भ’कोले मात्रै हो यसको हुनुपर्ने
जत्ति प्रचार नभएको । नत्र यो मन्दिर पशुपतिनाथको मन्दिरभन्दा प्रख्यात
हुन्थ्यो ।” उसको धर्मप्रतिको यस्तो आसक्ति देखेपछि मलाई गर्लफ्रेन्डसँग
घुम्न नगएर हजुरआमासँग मन्दिर गएजस्तो लाग्थ्यो । कत्ति कुरा जान्न सकेको
हो यार !
“बन्द गर धूनहरू...,” मैले बेसुरमा नै
एक्कासि यो गीत गाउन थालेँ । ऊ आफ्नो पुराण–प्रवचन सुनाउँदै थिई । जब उसको
कुरादेखि म वाक्क–दिक्क–प्याक्क हुन्थेँ, तब म यो गीतको यही हरफ गाउँथेँ ।
उसले बुझिहाल्थी, मलाई दिक्क लाग्यो भनेर । सिधै ‘ह्या ! अब धेरै नबोल’
भन्न मिल्दैन थियो ।
“उसको फुटबलको कुरा चैं सबै मैले
सुन्दिनुपर्ने । अझ चेल्सीको म्याचको दिन त राति सुत्नै दिँदैन । हारे पनि
फोन गर्छ, जिते पनि फोन गर्छ । अनि मैले अलिकति आफ्नो धर्मसंस्कृतिको कुरा
गर्न खोज्यो कि उसलाई टर्चर हुन्छ ।” रुन्चे–रुन्चे आवाज पारेर उसले मलाई
गाली गर्न थाली । मलाई रमाइलो लागि’रा थियो, कम्तीमा उसको पुराण त
सुन्नुपरेको थिएन ।
“हुन त हाम्रो देशमा केटीहरूलाई आफ्नो
इच्छा लागेको कुरा गर्न पाउने अधिकार नै कहाँ हुन्छ र !” ऊ फेमिनिस्ट बन्दै
थिई । म चूप बसिरहेँ किनभने यस्तो बेला के बोल्ने मलाई थाहा थिएन । ऊ
एकोहोरो फलाक्दै थिई ।
“अझ धर्मको कुरा गर्यो । यति धेरै
मन्दिर छन् संसारमा तर किन देवीका मन्दिर धेरै छैनन् ? किन देवताका
मन्दिरको संख्या बढी छ ? सबैभन्दा धेरै त धर्मले नै केटीहरूलाई हेपेको छ ।”
उसको कुरा सुन्न मन नलाग्दा नलाग्दै पनि उसले मलाई सत्ययुगमा लगेर जोडिदिई
। कस्तो रमाइलो !
“तिमी भ्रममा छ्यौ बालिके ! धर्मले
कहिल्यै महिलाहरूलाई हेपेको छैन,” एक्कासि एउटा भारी आवाज आयो । उसले मैले
नै आवाज फेरेर बोलेजस्तो सोची क्यारे, खाउँलाजस्तो गरेर हेरी ।
“दायाँबायाँ मुन्टो नबटार बालिके,
मन्दिरको ढोकाको खापा खोलेर भित्र पस,” फेरि त्यही भारी आवाज आयो । अब
चैँ केटी डराउन थाली । डर त मलाई पनि लागेको थियो तर केटीका अगाडि डराउनु
हुँदैन, डराए पनि डर देखाउनु हुँदैन भन्ने आधारभूत तालिम मैले बच्चैमा
पाएको थिएँ । एक मनले त ‘आ ! जोसुकै होस् आवाज सुनेको भरमा भित्र गइन्नँ,
भित्र गएपछि ‘यो सबै प्य्राङ्क हो ! ऊ... त्यहाँ हेर्नुस् त क्यामेरा’
भन्देलान्’ भन्ने सोच्यो ।
फेरि सोचेँ, के भो त एकचोटि भित्र जाऊँ न
। प्य्राङ्क भए युट्युबमा अनुहार देखिएला, नभए केही ज्ञानगुनका कुरा
सुनिएला भन्दै भित्र जाने सोच बनाएँ ।
दायाँबायाँ हेरेँ । अघिसम्म घुमिराखेको
पुलिस छेलिएर खैनी माड्दै थियो । वरपर अरू कोही पनि थिएन । त्यसैले कसैको
डर लागेन । बडो मुस्किलले ढोका छेउँका ठूल्ठूला दुइटा ढुङ्गा हटाएँ ।
ढोकाको खापा भत्किसकेको रै’छ । ढुङ्गा पन्साउनेबित्तिकै झरिहाल्यो । त्यही
एउटा खापाबाट हामी बडो मुस्किलले भित्र छिर्यौं ।
“आऊ बालिके, भित्रै आऊ ।” निकै गहिरो अनि भारी आवाज आयो ।
बाहिरबाट भित्र छिर्दै गर्दा मलाई
चैँ भित्र पूरै उज्यालो होला अनि कोही साधुले केही कुरा सिकाउला जस्तो
लागेको थियो । तर, यहाँ त पूरै अँध्यारो थियो । बोल्ने मान्छेको अनुहार नै
देखिँदैनथ्यो । अनि अघि भर्खरै छिरेको बाटो पनि कता हरायो, कता । हामी
अँध्यारोमा छामछाम–छुमछुम गर्दै अलिअलि पाइला पनि सार्दै थियो । ऊ केही
बोलिन । लामो–लामो सास चैँ फेर्दै थिई ।
“तिमीहरू चकटीमाथि छौ, आरामले त्यहीँ
बस,” फेरि आवाज आयो । वरिपरि निष्पट्ट अँध्यारो थियो । यसो खुट्टाले छाम्दा
चकटी हो जस्तै लाग्यो । थ्याच्चै बसियो । जेहोस् मन्दिरभित्र यस्तो होला
भन्ने मैले चैं कहिल्यै सोचेको थिइनँ । कस्तो निष्पट्ट अँध्यारो ।
“तपाईं को हो ? अनि, हामीलाई यहाँ किन बोलाउनु भ’को ?” उसैले सुरुमा मुख फोरी । उसको आवाजमा प्रचुर मात्रामा डर मिसिएको थियो ।
“एउटा कथा भन्नुपर्ने थियो । बाहिर
तिमीहरूको गफगाफ सुनेँ अनि तिमीहरूलाई नै सुनाऊँ कि भनेर बोला’को,” फेरि
उस्तै आवाज आयो । मलाई त्यो आवाजले लोभ्याइराखेको थियो । कस्तो गज्जबको
आवाज ।
“ल सुन एउटा सत्य घटनामा आधारित
कथा...,” यति भनेपछि कथा सुरु भयो । हामी दुईजना खै के सनकले हो, त्यस्तो
अँध्यारोमा बसेर त्यो कथा सुन्दै थियौं । उसले मेरो हात दह्रो गरेर समातेकी
थिई । पूरै कथा त मलाई याद छैन तर याद भएजति यहाँ लेखेको छु ।
कथावाचन:
“धेरै पहिलेको कुरा । भगवानका पालाको ।
अझ भनौँ यो सत्ययुगको कुरा हो । त्यस बेला सारा संसारमा भगवानकै राजकाज
थियो । त्यो बेला यो संसारमा एउटै धर्म थियो, हिन्दूधर्म । अरू धर्म त
कालान्तरमा अस्तित्वमा आएका हुन् ! हिन्दूधर्ममा त्रिदेवको शासन चल्थ्यो ।
ब्रह्माले बनाउँथे, विष्णुले पालनपोषण गर्थे अनि शिवजीले बचेखुचेको काम
गर्थे । तर, यी कुनै पनि भगवान् आफैंले गएर काम गर्दैनथे । भगवानहरू केवल
निर्देशक थिए । निर्देशन पालना गर्ने देवताहरू थिए । तीन जना भगवानका
निम्ति काम गरिदिनका लागि ३३ करोड देवताहरूलाई नियुक्त गरिएको थियो ।
प्रतिभगवान ११ करोडका दरले देवताहरू थिए ।
देवताहरूले आफूलाई छुट्याइएको काम
राम्रैसँग गरिराखेका थिए । भगवानहरूलाई कुनै चिन्ता थिएन । जेहोस् सृष्टि
राम्रैसँग चलिरहेको थियो । आक्कलझुक्कल गोडाचारेक राक्षसहरू युद्धका लागि
आउँथे । त्यसबेला देवताहरूको फौजले सबैलाई हराउँथ्यो । अलि बलवान्
राक्षसहरू आए भने भगवान् आफू पनि युद्ध गर्न जान्थे ।
कामको बाँडफाँड गर्दाखेरि सबैभन्दा
महत्त्वपूर्ण फाँट भनेको शिक्षा, सम्पत्ति र शक्ति थियो । यी तीनवटा फाँट
जसको हातमा हुन्थे, ती देवतालाई सबैले सम्मानका साथ हेर्थे । त्यसैले सबै
देवतालाई शिक्षा, सम्पत्ति अथवा शक्ति चलाउने इच्छा हुन्थ्यो । अहिलेको
राजनीतिमा अर्थ मन्त्रालय, गृह मन्त्रालयहरू जस्तै जस्तै ।”
“म प्रोफेसनल कथावाचक हैन । त्यसैले
कथाको घटनाक्रम अगाडि–पछाडि हुन सक्छन् । मिलाएर बुझ है ।” अँध्यारोबाट
फेरि आवाज आयो । मलाई कथाको फ्लो बिग्रेकोमा झनक्क रिस उठ्यो । तर, केही
भनिनँ ।
पुनः कथावाचन :
“भगवान् शिवजीको चित्रण
धर्मशास्त्रहरूमा एकदमै मस्तमौला टाइपको देख्न पाइन्छ । गाँजा खाएर मस्त
हुने, हिप्पीहरूसँग घुम्दै बस्ने । यतिसम्म बहुलठ्ठी कि उनी हिमालमा पनि
जाबो बाघको छालामात्रै बेरेर जान्थे । उनी वास्तवमा मान्छे थिए पनि उस्तै ।
त्यसैले उनको त्यस्तो बानीको अरूले नै फाइदा उठाए ।
शिवजीको विशेष पहलमा जेठा छोरा गणेशलाई
शिक्षाको देवता, अनि कान्छा कुमार (कार्तिकेय)लाई शक्तिका देवता अनि शिवकै
अनन्य भक्त कुबेरलाई सम्पत्तिका देवता बनाइयो । यसरी सबै प्रमुख फाँटजति
शिवजीको हातमा गयो । यसले अरू देवताको चित्त नबुझे पनि कसैले मुख फोरेर
भन्न सकेन । आखिर शिवजी भनेको शिवजी हो नि !
गणेशले त आफू शिक्षाको देवता
हुनेबित्तिकै कैयौं कृतिहरू लेखे । उनी आफूले कुनैको सिर्जना गर्न त
सक्दैनथे तर अरूले भनेको एकदमै छिटो लेख्थे । महर्षि वेदव्यासले भनेपछि
उनले महाभारत लेखे । अझ भनिन्छ, चारवटै वेद, अठारवटै पुराण सबै लेख्ने
भगवान् गणेश नै हुन् । गणेशको यस्तो क्षमता देखेपछि शिवजी खुसी भए। अरूले
खोट लगाउने ठाउँसमेत पाएनन् ।
कुमार कार्तिकेयका पिता शिवजी भए पनि
आमा ६ जना थिए भन्ने हल्ला त्यसबेला व्याप्त थियो । उमेरको हिसाब गर्ने हो
भने त कुमार कार्तिकेय गणेशका भाइ पर्थे । कसै–कसैले गणेशका दाजु हुन् पनि
भन्छन् । सानो बच्चोलाई शक्ति (युद्ध)को देवता बनाएर शिवजीले शक्तिको
खिल्ली उडाए भनेर कुरा काट्नेहरू प्रशस्तै थिए । तर, जब उनले आफ्ना दाजु र
पिताको मद्दतले तारकासुरजस्तो शक्तिशाली राक्षसको वध गरिदिए, तब सबैको
मुखमा बुजो लाग्यो । जेहोस्, उनको पद थमौती भयो ।
असुर कुलमा जन्मेका भए पनि ब्रह्माजीको
कृपाले यक्षहरूका राजा भएका थिए, कुबेर । आफ्नो राज्य लङ्का सौतेनी भाइ
रावणले खोसे पनि उनी ब्रम्हालाई रिझाएर यक्षहरूका राजा भए । उनी एकदमै
महत्त्वाकांक्षी थिए, त्यसैले यक्षहरूका राजामात्रै भएर बस्न रुचाएनन् ।
उनले बुझिसकेका थिए, शिवजीको कृपाले उनले जस्तोसुकै पद पनि पाउन सक्थे ।
त्यसैले उनले ब्रह्माको छाडी शिवजीको चाकरी सुरु गरे अथवा भनौं तपस्या सुरु
गरे । शिवजीको कृपाले उनले सम्पत्तिको देवता हुने मौका पनि पाए । उसबेला
कुबेरको बगैंचामा सुन र चाँदीका फूलहरू फुल्थे भन्ने हल्ला नै चलेको थियो
।”
“निदाएका त छैनौ नि नानी–बाबु हो ?” कथा
भन्दाभन्दै एक्कासि यस्तो आवाज आयो । एकसुरमा कथा सुनिरहेका हामी झसङ्ग
भयौँ । बालिकेबाट सिधै बाबु, खुसी पनि लाग्यो ।
“छैनौँ, भन्नुस् न,” संयोगवश हामी दुबैजनाले एउटै उत्तर दियाैँ । के यो माया हो ?
पुनः पुनः कथावाचन :
तर, समय सधैं एकनासको कहाँ हुन्छ र ! बिस्तारै प्रमुख देवताहरूको कार्यक्षमतामा समस्या देखिन थाल्यो ।
गणेशको त शिवजीका भक्त परशुरामसँग झगडा
नै पर्यो । हात हालाहालको स्थिति आइपर्यो । संसारमा आविष्कार भएका सबै
हतियार चलाउन सक्ने व्यक्ति भनेका परशुराम मात्रै हुन् भनिन्थ्यो । ऋषिको
छोरा भएर पनि उनले धेरैचोटि पृथ्वी जितिसकेका थिए । अझ उनी शिवजीका
प्रियभक्त पनि थिए । सानो बच्चोले निहुँ खोजेपछि परशुरामको आत्मसम्मानमा
ठेस पर्यो अनि उनले गणेशमाथि हमला गरे । भाग्यवश गणेशको एउटा दाँतमात्रै
भाँचियो । पछि शिवजी आएर छुट्याउनु पर्यो । यसले गर्दा शिवजीकै नजरमा पनि
गणेश माथि उठ्न सकेनन् । हुन पनि हो, छोरो भनेको त जत्ति पनि पाउन सकिन्छ
तर भक्त पाउन मुस्किल छ ।
अझ कुबेरले त शिवजीलाई नै आफ्नो पैसाको
तुजुक देखाए । उनले ठूलो भोज आयोजना गरेजस्तो गरेर धन प्रदर्शनी गर्न
खोजेका थिए । शिवजीले कुरो बुझिहाले अनि गणेशलाई धनको घमण्ड तोड्न पठाए ।
कुबेरले देखाएको जसको जौं खानु, उसकै जुँगा मोल्नु जस्तो कुराले शिवजीको
चित्त दुखेको थियो ।
गणेशले थापेको बाजीका पछि लागेर पृथ्वी
परिक्रमा गर्न हिँडेका कुमार त कति दिनसम्म आउँदै आएनन् । जाने बेलामा
कसैसँग बिदा पनि लिएनन् उनले । उनको त्यो केटाकेटी हर्कतले गर्दा अरूलाई
धेरै नै गाह्रो भयो । राक्षसहरूले दुःख दिइराख्थे तर युद्ध गर्ने प्रमुख
सेनापति नै थिएनन् । साह्रै गाह्रो अवस्थामा पुर्याए कुमार कार्तिकेयले ।
यसरी प्रत्येक प्रमुख फाँट सम्हालेर
बसेका देवताहरूको कार्यक्षमतामा खोट देखिन थाल्यो । शिवजी आफैंले नियुक्त
गरेका मान्छेहरूसँग रिसाउन थालेका थिए । अदक्ष मान्छेहरूलाई नियुक्त गरिएछ
कि जस्तो पनि लाग्यो होला उनलाई । गणेश र कुमार त केटाकेटी नै भए तर
यक्षहरूका राजा कुबेरजस्तो मान्छेले पनि केटाकेटीपन देखाएपछि चाहिँ शिवजी
झनै विरक्तिएका थिए ।”
“ख्वाक्क, ख्वाक्क, ख्वाक्क...” लगातार ७
चोटिसम्म खोकेको आवाज आयो । त्यसैले कथावाचन रोकियो । मैले पनि पलेंटी
कसेको खुट्टा यसो तन्काएँ । उसले के गरी थाहा भएन तर कसोकसो सर्याकसुरुक
गरेजस्तो आवाज आयो ।
“अब त बूढो भएजस्तो छ । अलिकति धेरै बोल्यो भने दम बढ्न थालिहाल्छ,” फेरि आवाज आयो ।
म यो बोल्ने मान्छे कस्तो होला भनेर
कल्पना गर्न थालेँ । लामो लामो जटाधारी, निधारमा बिगुत घसेको, गेरुवस्त्र
धारण गरेको, खै कस्तो कस्तो ।
पुनः पुनः पुनः कथावाचन :
“पहिले मैले आफ्नो एकाधिकार कायम
गरेकोले मुख्य फाँटमा आफ्नै मान्छेमात्र नियुक्त गरेँ । तर, उनीहरूले
राम्रोसँग काम गरेनन् । अब सबैको समान प्रतिनिधित्व हुने गरी नियुक्त
गर्नुपर्छ,” शिवजीले चिलिम तान्दै भने । शिवजी आफैंले प्रमुख देवताहरूको
कार्यक्षमताको समीक्षा गर्न विष्णु र ब्रह्मासँग एउटा गोप्य बैठक राखेका
थिए।
“अरूलाई नियुक्त गर्नुको सट्टा अब प्रमुख फाँट हामी नै हातमा लिएर चलाम् न, हुन्न ?” विष्णुले मुख फोरे ।
“हुन्न । तपाईंलाई अवतार लिँदैमा फुर्सद
छैन । झन् काम गर्न सक्नुहुन्न । त्यसैले अहिलेको भन्दा डामाडोल हुन्छ
स्थिति,” ब्रह्माले ठाडै आपत्ति जनाए ।
“मलाई दिन नमिल्ने भए लक्ष्मीलाई दिम् न त,” विष्णुले हल्का रिसाएजस्तो गरेर भने ।
चिलिम तान्दातान्दै शिवजी टक्क रोकिए ।
अरू बेला पनि कुनै महत्त्वपूर्ण विषयमा निर्णय लिनुपर्दा यसरी नै ब्रह्मा र
विष्णु बहस गर्थे । अनि त्यही बहसबाट शिवजीले कुनै एउटा उपाय सुझाउँथे ।
“यसो गरौं बरु,” शिवजीले आफ्नो विचार
राख्न थाले, “प्रमुख फाँटमा पुरुषका सट्टा अब महिला नियुक्त गरौं । अनि
हामी तीन जनाले एक–एकवटा फाँटमा आफ्ना मान्छे नियुक्त गरौं । त्यसो गरेपछि
भेदभावको कुरो पनि आउँदैन ।”
“तर, महिला नै किन ? हामी आफैं बस्दा पनि हुन्छ नि,” ब्रह्माले मसिनो आवाजमा विरोध गरे ।
“पुरुषले भन्दा महिलाले तौलिएर निर्णय
लिन्छन् । अनि महिलाहरू अलि असन्तोषी पनि हुन्छन्, जसले गर्दा उनीहरूलाई
रिझाउन मुस्किल पर्छ । तपस्या गर्नेबित्तिकै हामीले जस्तो प्रशन्न भएर जे
मन लाग्यो त्यही आशीर्वाद पनि दिँदैनन्,” शिवजीले चम्किलो आँखा पार्दै
सुनाए ।
विष्णु र ब्रह्माले यो कुरामा एकछिन गम खाए । अनि स्वीकृतिस्वरूप टाउको हल्लाए ।
“ल त्यसो भए शक्तिको फाँट चैं म लिन्छु । अरू दुइटा फाँट तपाईंहरू मिलेर लिनुस्,” शिवजीले झट्ट सुनाए ।
ब्रह्माले केही बोल्न नपाउदै विष्णुले सम्पत्तिको फाँट लिइहाले ।
भोलिपल्ट :
सबै देवताहरूलाई भगवानका तर्फबाट एउटा सूचना पठाइयो ।
सूचनाको सार :
“भोलिको दिनबाट लागू हुने गरी प्रमुख
फाँटका पदाधिकारीहरूको फेरबदल गरिएको छ । जसअनुसार शक्तिको फाँटमा शिवजीका
तर्फबाट उहाँकै श्रीमती पार्वतीको अर्को रूप दुर्गामाता, सम्पत्तिको फाँटमा
विष्णुजीका तर्फबाट उहाँकी श्रीमती लक्ष्मीमाता अनि शिक्षाको फाँटमा
ब्रह्माजीका तर्फबाट उहाँकी छोरी सरस्वती मातालाई नियुक्त गरिएको छ । यसको
प्रमुख कारण भनेको महिला सशक्तीकरण तथा शक्तिको समान बाँडफाँड गर्नु हो ।”
“हाछ्युँ,” नाकमा खोइ के भुन्भुनाएर हो, एक्कासि मलाई हाछ्युँ आयो । कथावाचन भङ्ग भयो । मलाई आफैंसँग रिस उठ्यो ।
“देख्यौ त नानी, धर्मले कहिल्यै नारीलाई
हेपेको छैन । बरु उल्टै प्रोत्साहन गरेको छ । हिन्दूहरूका प्रमुख देवता
ब्रह्मा, विष्णु, महेश्वर भए पनि प्रमुख चाडका रूपमा चैं दुर्गाको दशैं,
लक्ष्मीको तिहार अनि सरस्वतीको वसन्त पञ्चमी मनाइन्छ । खोइ परापूर्वकालदेखि
महिलाहरूलाई हेपिएको ?” अघिसम्म कथावाचन गरिराखेको आवाजले एउटा प्रश्न
गर्यो । उत्तर दिनु मलाई आवश्यक थिएन, ऊ पनि चुप लागिरहेकी थिई ।
“बाबाजी,” मैले कथा भन्ने मान्छे कुनै
बाबा नै होला भन्ने सोचेर भन्न थालें, “तपाईंको लजिक प्लस कल्पनाशीलताबाट म
प्रभावित भएँ । तर, तपाईंले न्यारेसन गर्दा चैं उति मजा आएन । तपाईंको
क्रियटिभिटीको चैं म खतरै फ्यान भएँ । हुँदै नभ’को कुरालाई यसरी साँच्चिकै
घटेको जस्तो गरी सुनाउनु भयो ।” अलि ठूलै कुरा गरेँ मैले पनि । उसले
चिरिक्क चिमोटी मलाई, शायद अलिकति कठोर भएर बोलेकोले अब नबोल भन्न खोजेकी
थिई होला ।
“हाहा, बाबु ! मेरो काम भन्ने हो ।
पत्याउने नपत्याउने काम तिम्रो हो,” मैले त्यस्तो प्याच्च भन्दा पनि अलिकति
नरिसाईकन आवाज आयो । म ट्वाँ परेँ ।
“बाबाजी, तपाईंको यति धेरै कुरा सुनियो ।
एउटा सेल्फी खिचौँ न है,” उसले अगाडिको सेल्फी क्यामेरामा पनि फ्लस भएको
सामसुङको मोबाइल निकाल्न खोज्दै भनी ।
“तर बाबाजी, तपाईंलाई यो भगवानको पालाको कुरा, भगवानको भित्री गफगाफ कसरी दुरुस्तै थाहा भयो ?” खसखस लागेर मैले सोधें ।
“हाहा !” ठूलो अट्टहास आयो, “म त्योबेला
त्यहीँ थिएँ नि त ।” मोबाइलको फ्ल्यास झुलुक्क बल्यो । एउटा बूढो हेर्दै
रोगीजस्तो बाँदर मुख बाएर हाम्रा अगाडि बसिरहेको थियो । तर, मोबाइल
बल्नेबित्तिकै बुर्लुक्क उफ्रेर हिँडिहाल्यो ।
“जय हनुमान ज्ञानगुन सागर,” उसले एक्कासि दुई हात जोडेर हनुमान चालीसा गाउन थाली ।