July 5, 2017

अखेटोपहार : एउटा अफबिट चर्चा

 [ It was published in Voices in Crisis]
Image: Radio Gorkhali
चुनावि समाचारले मात्रै मिडियामा स्थान पाइरहेको बेलामा प्रमुख अखबार तथा अनलाइन पोर्टलहरुमा एउटा अफबिट खबरले एकदमै चर्चा पायो – “मन्त्रीको उपस्थितिमा २० वर्षदेखि सङ्कलन गरिएका अखेटोपहारहरु जलाइने।” यो विषयलाई लिएर अखेटोपहार जलाउनेको पक्ष र विपक्षमा रहेर सामाजिक सञ्जालमा बहस छेडियो। केही मान्छेहरुले चोरी-शिकारीलाई निरुत्साहित गर्नको निम्ति जलाउनुपर्छ भने, केही मान्छेहरुले सङ्ग्रहालयमा राख्नुपर्छ भनेर तर्क दिए। वादविवाद जे भए पनि जैविक विविधता दिवसको अवसर पारेर सोमबार सबै अखेटोपहारहरु जलाइयो।

आखिर के हो त अखेटोपहार ?

अखेटोपहार – “आखेट” र “उपहार” दुई शब्द मिलेर बनेको संयुक्त शब्द हो। “आखेट” भन्नाले शिकारी/शिकार सम्बन्धि जनाउछ भने “उपहार” भन्नाले सौगात जनाउछ। तसर्थ अखेटोपहारको शाब्दिक अर्थ शिकारीले ल्याइदिएको उपहार अथवा शिकारबाट ल्याइएको उपहार जनाउछ। शिकारीले ल्याइदिने उपहार भनेपछि छाला, हाड, सिङ, दाह्रा आदि ईत्यादी बुझिन्छ। हिजोआज अखेटोपहार भनेपछि शिकारीले मारेको वन्यजन्तु अथवा आफै कालगतिले मरेका दुई खाले नै वन्यजन्तुको अङ्गहरु बुझिन्छ।
 

राष्ट्रिय निकुञ्ज, अखेटोपहार अनि सुरक्षा 

दुर्लभ वन्यजन्तुको सुचिमा परेका गैंडा, बाघ, हात्ती लगायतका जनावरहरुको अङ्गहरु एकदमै मुल्यवान हुन्छन्। देश तथा विदेशमा अत्यन्तै धेरै मुल्यमा विक्री गरिने भएकाले यस्ता जनावरहरुको चोरीशिकारी बढ्दो क्रममा छ। तस्करहरुले गैंडा, हात्ती, बाघ जस्ता दुर्लभ वन्यजन्तुलाई खोजीखोजी मार्ने हुनाले यस्ता जनावरहरुको सुरक्षा गर्नु आजको प्रमुख चुनौती मध्येको एक हो। कडा सुरक्षा हुँदाहुँदै पनि राष्ट्रिय निकुञ्जमा केहि जनावरहरु मारिन्छन्।

तस्करीबाट बरामद भएका अखेटोपहारहरु चितवनमा सुरक्षित  राखिएका थिए। तर, लामो समयदेखि मा राखिएको हुनाले वन्यजन्तुको अङ्गहरु सड्न थालिसकेका थिए। तिनको उचित भण्डारण जरुरी भइसकेको थियो। त्यस्तै अखेटोपहारहरु मुल्यवान भएकोले सुरक्षामा चुनौती पनि दिनप्रतिदिन थपिदै गएको थियो।

अखेटोपहार किन जलाउनु पर्छ ?

अखेटोपहार धेरै नै मुल्यवान भएकोले सुरक्षाको दृष्टिले एकदमै जोखिम भइरहेको थियो। अखेटोपहार राखिएको ठाउँमा आक्रमण गरेर त्यो चोरेर लैजाने जोखिम बढ्दो मात्रामा थियो। “हामीले अखेटोपहार जलाएर, यो केही महत्वको चिज हैन रैछ भन्ने सन्देश दिन चाहन्छौ। जसले गर्दा चोरीशिकारीमा कमि आउनेछ।” निकुञ्जका अधिकृतले भने।

तस्करहरुलाई गिरफ्तार गर्दा उनीहरुको साथबाट बरामद गरिएका वन्यजन्तुको अङ्गहरुलाई नष्ट नगरी संरक्षण गरेर राख्यो भने तस्करीलाई वैधानिकता दिएजस्तो हुन जान्छ।

पछिल्लो पटक ०५४ सालमा अखेटोपहारहरु जलाइएको थिइयो। त्यसबेला पनि जलाउनुको पक्ष तथा विपक्षमा रहेर प्रशस्त वादविवाद भएको थियो। त्यसयता २० वर्षदेखि सङ्कलन गरिएका करिब ४ हजार अखेटोपहारहरु यहि सोमबार जलाइयो।

अखेटोपहार जलाउनुपर्छ भनेर तर्क दिनेहरू भन्छन् – मान्छे र पशु भनेका उस्तै हुन्। मरेको जनावरको अङ्गहरु संरक्षण गर्नुपर्छ भन्नेहरुले यस्तो क्षमतावान् प्राणी मान्छेको अङ्गहरु किन संरक्षण गर्दैनन् ? मान्छेको पनि छाला काढेर राख्दा हुन्छ नि ?

अखेटोपहार किन जलाउनु हुँदैन ?

अखेटोपहार जलाइएको विपक्षमा तर्क दिनेहरू भन्छन् – मरेका वन्यजन्तुको अखेटोपहार सरकारले जलाएपछी जनताहरुले त्यसको केही मुल्य हुँदैन भनेर सोच्छन् भन्नू चै सरकारको मुर्खता मात्रै हो। 
करिब ४३ जनावरको ४८०० भन्दा धेरै अखेटोपहार जलाए पनि बाघको छाला, गैंडाको खाग, हात्तीको दाह्रा, कस्तुरीको बिना लगायतका अति मुल्यवान् हरु चै जलाइएको थिएन भन्ने समाचार आएको छ। तिनको सट्टामा त्यस्तै देखिने नक्कली अवशेषहरु जलाएर सक्कली चै भित्रभित्रै अन्तै बेच्न लागिएको कुराहरू पनि सुन्नमा आएका थिए। यसरी सरकारले कालोबजारीको अन्त्य गर्न आफैले कालोबजारी गर्न आँटेको भनेर विरोध भइरहेको छ।
अखेटोपहारलाई निम्न प्रकारले प्रयोग गर्न सकिन्थ्यो :-
१) म्युजियम बनाएर त्यसमा संग्रह गरि वन्यजन्तु सम्बन्धि पढाई हुने विश्वविद्यालय/क्याम्पसहरुबाट विद्यार्थीहरुलाई बोलाएर उनीहरुलाई त्यससम्बन्धी प्राक्टिकल ज्ञान दिने
२) संग्रहालयलाई पर्यटक आकर्षित गर्ने एउटा माध्यम बनाएर आयआर्जनको एउटा माध्यम बनाएर देशको आर्थिक विकासमा टेवा पुग्थ्यो
३) लिलाम गरेर खुला प्रतिस्पर्धाबाट अखेटोपहार बेची त्यसबाट आएको पैसाले बाँकी रहेका वन्यजन्तुलाई बचाउनको लागि सुरक्षा व्यवस्थामा खर्च गर्न सकिन्थ्यो।
भालुको पित्त प्रयोग गरि आयुर्वेदिक औषधि  बनाइन्थ्यो। त्यसैले औषधि बनाउनको लागि सिंहदरबार वैद्यखानामा नियमित पठाइन्थ्यो। तर, अब अखेटोपहारहरु सबै जलाइसकेपछी त्यो क्रम अब अन्त्य भइसकेको छ। जसको विरोध पनि भइरहेको छ।
 
;