अङ्ग्रेजीमा एउटा फेमस भनाई छ – Don’t judge a book by its
cover अर्थात कसैको हुलिया मात्रै हेरेर उसको बारेमा धारणा बनाउने काम
नगर्नुस। तर, हाम्रो नेपालमा प्रत्येक किताबको आवरण हेरेरै विश्लेषण
गरिन्छ। मान्छेको हुलिया हेरेर उसको बानीव्यवहारको बारेमा अड्कल काट्ने
गरिन्छ। उसको लुगा, उसको कपाल हेरेर उबारेमा आफ्नो धारणा बनाइन्छ। अझैसम्म
पनि दारी-कपाल पाल्ने केटाहरूलाई नेपाली समाजले राम्रो दृष्टिकोणले हेरेको
देख्न पाइन्न।
देखाई :
“ठूलो मामाको छोरा त बिग्रेछ नि।” स्कुलबाट घर पुग्नेबित्तिकै सुने। म त्योबेला त्यस्तै ४-५ क्लासमा पढ्थे होला।
“के भएछ ?” मैले ट्वाँ परेर सोधे।
“कपाल पाल्न थालेछ।” उत्तर आयो। “अब त चुरोट नि खान्छ होला। बिस्तारै ड्रग्स नि खान्छ। भित्ती भएर सक्किने भो। त्यस्तो ज्ञानी थ्यो पहिला।” भित्ती भनेर भनेको हाम्रोतिर सबैभन्दा बिग्रेको मान्छेलाई भन्ने गरिन्थ्यो। लाकपाल पाल्नु भनेको बिग्रीनु हो। मैले आधारभुत शिक्षा पाए।
दुई वर्षसम्म पालेपछी ठूलो मामाको छोराले खै कुन्नि के भएर हो
कपाल काटे। अनि अब चै केटो सुध्रेछ भन्ने हल्ला गाउँमा पुनश्च: व्याप्त
भयो।
**
“यो संसारमा आफ्नो ईच्छाअनुसार बाँच्न सकिन्न। बुझिस कान्छा
?” एसेल्सी दिएर भर्खर-भर्खर काठमान्डू पसेको मलाई एकजना आफन्ती दाजुले
गहिरो कुरा सुनाए।
“बुझे दाजु।” मैले भित्तामा झुन्ड्याइएको दाइले झ्याप्प कपाल पालेको ठूलो फोटो हेरेर टाउको हल्लाउँदै भने।
“उ मेरो कपाल त्यत्रो थियो। आठ वर्षसम्म पालेको थिए।” दाइले
फोटो देखाउदै भने। “फूपू काठमान्डू घुम्न आउनु भ’को थ्यो। घुमाउनु पर्ने
मेरो जिम्मा। तैंले कपाल नकाटेसम्म यस्तो हेर्दै गुण्डाजस्तो देखिने
जगल्टेसँग कतै पनि घुम्न जान्न भनेर इमोसनल ब्लाकमेल गर्नु भो।” झन्डै
रुँलारुँला जस्तो गरेर दाजुले भने। “बा’को एकमात्र बहिनी नमान्नु पनि कसरी ?
फोटो स्टुडियो गए, फोटो खिचे, ठूलो फ्रेम गर्दिनु भनें। अनि कपाल काटे।”
यो संसारमा आफ्नो ईच्छाअनुसार बाँच्न सकिन्न।
सुनाई:
“कपाल काटेर आइज” स्कुलमा मैले सबैभन्दा बढी सुनेको वाक्य यहि
थियो। स्कुलमा बिहान बिहान मर्निङ एसेम्ब्ली हुन्थ्यो। त्यहाँ ड्रेसदेखि
लिएर नङसम्म सबै कुरा चेक हुन्थ्यो। सबैभन्दा बढी चै कपाल हुन्थ्यो। दुईचार
चोटि त म पनि कपाल काट्नको लागि सैलुनसम्म धपाइएको थिए। स्कुलमा मात्रै
होइन। क्याम्पसमा पनि यहि कुरा सुनिन्थ्यो। विद्यार्थीले कत्तिको पढ्छ
भन्दा पनि कत्तिको लामो कपाल पाल्छ भन्ने कुराको खोजिनिधी हुन्थ्यो। स्कुल
फेरियो, क्याम्पस फेरियो तर अहँ यो ‘कपाल काटेर आईज’ भन्ने डायलग कहिल्यै
फेरिएन। सदावहार।
**
“कपाल पालेर अहिलेसम्म एकचोटि मात्रै सन्तुष्ट भ’को छु।” मेरो
क्याम्पस (मिनभवन क्याम्पस) अगाडिको सुप्रीम बुक्स एन्ड स्टेसनरीको दाइले
एकचोटि कुरैकुरामा सुनाए।
“कहिले ?” मैले पनि ठाडा कान लगाए।
“दिदिसँग गाडीमा चढेको थिए। खलासीले अति नै हेप्न थाल्यो। अनि
पछाडि उभिएको एउटा मान्छेले पनि दिदिलाई लास्टै पेल्न थाल्यो। रिस उठ्यो। ”
पहिला निकै लामो जटा पालेको टाउको सुम्सुम्याउदै दाइले सुनाउन थाले। “लामो
कपाल पालेको, कुण्डल लगाएको मैले नि खलासीलाई एकलट थर्काए। खलासी डरले
हच्क्यो। त्यो पछाडिको मान्छेलाई यसो आँखा तरेर हेरे। दिदिले ‘आज पहिलोपल्ट
तैंले कपाल पालेकोमा खुशी लाग्यो।
गुण्डाजस्तो देखिने भाइ हुनु भनेको पनि
राम्रै कुरो रैछ। तर, भाइ तँ कपाल काट’ भन्नुभो।” एकोहोरो कपाल पुराण
सुनाएपछी दाइ चुप लागे। त्यसको दुईचार दिनपछि दाइले सैलुन गएर कपाल काटेर
आएछन्।
कपाल पाल्नु साँच्चिकै खराब चै हैन रैछ। मैले लख काटे।
भोगाई:
खै कताबाट हो, मलाई पनि यो दारी-कपाल पाल्ने भुत बेलाबेला
चल्थ्यो। तर स्कुल-क्याम्पसको कडा नियमले गर्दा यो सिजनल भुत जसरी चढ्थ्यो,
त्यसरी नै उत्रिन्थ्यो। तर पनि लामो बिदाको समयको फाइदा उठाई कहिलेकाही
पाल्थे। दारी-कपाल पाल्न थालेपछि त सधैं मसँग झुत्तिने सानी भान्जी मसँग
डराउन थाली। म दिदिकोमा जाँदा जहिल्यै हुत्तिदै आउथी, अब लुक्न थाली।
गाडीमा पहिला ‘कार्ड छ’ भन्दा ‘खै कार्ड देखाउनु त’ भन्ने
खलासीले अब अनुहार मात्र हेर्न थाल्यो। लामो नङ भ’को, मुन्द्रा लाउने,
झ्याप्प दारी-कपाल पाल्ने मलाई देखेर होला सायद कार्ड माग्न छोड्यो।
कुनैकुनैले चै माग्थे फेरि।
एकचोटि गाडीमा मेरो छेउमा मात्रै एउटा सिट खाली थियो। एकजना
आन्टी चढ्नुभो, सिट खाली देखेर मेरो छेउमा आउनु भो। तर, मलाई देखेर
बस्नुभएन, उभिएरै यात्रा गर्नुभो।
सबैभन्दा अचम्म त गाडी भिड भ’को बेला हुन्थ्यो। मेरो छेउछाउको
उभिएका मान्छेहरु मलाई देखेर आफ्नो पर्स छामछुम गर्थे। अनि एउटा हात
त्यही राखेर मलाई कर्के आँखाले हेरिराख्थे। पाकेटमारको कपाल लामो हुन्छ हो ?
द्वन्द्वकालको बेला हाम्रो गाउँमा एउटा हल्ला व्याप्त थियो –
माओवादीहरुले कपाल पाल्ने केटाहरूलाई बाटोबाटोमा समातेर कपाल काट्दिन
थालेको छ अरे। यो हल्ला कतिसम्म सत्य थियो, थिएन त्यही हल्ला फैलाउनेले नै
जानोस। तर, यति त्यो हल्ला सत्य थियो भने देशको मुहार फेर्छु भनेर महान
क्रान्तिमा होमिएको पार्टी ठिटाहरुको कपालमा अल्झेर बस्न थालेको थियो।
स्कुलमा पढाईको बाधक लामो कपाल यहाँ देशविकासको बाधक भइसकेको थियो।
बुझाई:
सिग्मण्ड फ्रायडको सिद्धान्तअनुसार मान्छेलाई जुन कुरा नगर्नु
भनेर बन्देज लगाउन खोजिन्छ, उसले त्यही कुरा गर्न खोज्छ। बच्चाबेला देखि
नै कपाल पाल्नु हुन्न भनिन्छ, कपाल काट्न बाध्य बनाइन्छ। त्यसले अवचेतन
मनमा ठूलो जरो गाडेर बसेको हुन्छ। तपाईंहरु मान्नुस या नमान्नुस सबैलाई
जिन्दगीको एउटा क्षणमा लामो कपाल पाल्ने ईच्छा हुन्छ। कतिले पाल्न सुरु
गर्छन्, तर स्याहार गर्न झुर भएर अथवा असुहाँउदिलो भएपछि काट्छन्। तर,
पाल्ने कोसिस चै अवश्य पनि गर्छन्। बच्चा बेलादेखि नै कपाल काट्न जोड
लगाइएपछि यसले दुई प्रकारले असर गर्छ। एक, कपाल पाल्ने सबै खराब हुन् भन्ने
छाप बस्छ अर्को जसरी पनि एकचोटि चै कपाल पालेरै देखाउछु भन्ने एक दृढ
विश्वासको निर्माण हुन्छ।
युरोपियन मुलुकहरुमा लामो कपाल पाल्नेहरुलाई मेटल-ब्यान्डको
सदस्य वा हिप्पी भनेर सोचिन्छ। दक्षिण एसियाली मुलुकहरुमा चै कपाल
पाल्नेहरुलाई गुन्डा अथवा बिग्रेको मान्छे भनेर सोचिन्छ। समाजसास्त्री
चैतन्य मिश्रका अनुसार हाम्रो समाजमा प्रचलित धर्मसास्त्रहरुमा राक्षसको
चित्रण लामो कपाल भएको, लामो नङ्ग्रा पाल्ने भयानक व्यक्ति भनेर गरिन्छ।
यसको छाप हामिमा कति गहिरो भएर गाडिएको छ भने अहिलेसम्म पनि हामिले त्यसलाई
हटाउन सकेको छैनौ। भयानकता भन्ने कुरो दिमागमा आउनेबित्तिकै जगल्टा सुरुमै
आउँछ।
र अन्त्यमा,
दारी-कपाल पाल्नु साँच्चै नराम्रो हो त ? के खराब मान्छेहरुले मात्रै दारी-कपाल पाल्छन् ? दारी-कपाल पाल्ने बित्तिकै मान्छे गुन्डामा रुपान्तरण हुन्छ ?
दारी-कपाल पाल्नु साँच्चै नराम्रो हो त ? के खराब मान्छेहरुले मात्रै दारी-कपाल पाल्छन् ? दारी-कपाल पाल्ने बित्तिकै मान्छे गुन्डामा रुपान्तरण हुन्छ ?