घटना १:
“एअरपोर्ट, गौशाला, चाबेल, बसपार्क…” भन्दै एक मुस्लो कालो
धुवाँ फालेर एउटा पुरानो निलो-निलो रङ खुइलेको चक्रपथ परिक्रमा गर्ने गाडी
हुइँकियो। धुवाँ मेरो शरीरभरी फैलियो; म पुरै निस्सासिए तर केही भन्न सकिन।
भन्न पनि के नै सक्थे र! गाडी पर पुगिसकेको थियो। हेरिरहे।
गाडीको पछाडीतिरको सिटबाट एउटा टाउको फुत्त निस्कियो; अनि
पिच्च पार्दै रातो र आलो थुक परसम्म पुग्नेगरी थुक्यो। सायद त्यो मान्छेले
भर्खरै पान खाएको थियो होला। अनि धुँवा प्लस धुलोको कुहिरीमण्डलमा त्यो
गाडी बिलायो; हेर्दाहेर्दै।
![]() |
Image Source: Voices in Crisis |
घटना २:
“धड्याम्म!” एउटाले माथीबाट जोडले झम्पल बजार्यो। केही पत्र
अलकत्रका पाप्राहरु उप्किए; धुलोहरु बुरुरु उडे। धुलाम्मे भइसकेको
झम्पलधारी गमक्क पर्यो; फिस्स हाँस्यो। मलाई सकस भयो।
“मामु, त्यो किन भत्काएको ?” स्कुले ड्रेस लगाएको एउटा राम्री
वच्चीले धुलोले गर्दा ख्वाङ-ख्वाङ खोकेर सोधी। मलाई बच्चीको माया लाग्यो।
“मेलम्ची आउँछ रे नानू! अनि हाम्रो घरमै पानी आउँछ…” यस्तै
के-के भन्दै मामुले छोरीलाई त्यहीँ नजिकैको कस्मेटिक पसलमा छिरेर एउटा
मास्क किन्दिइन् अनि हातले डोर्याउदै स्कुलतिर जाने गल्लीमा मोडिइन्। त्यो
फुच्चीले मेलम्ची भनेको बुझी होला त ?
मैले आँखा तन्काई-तन्काई त्यो बच्चीलाई हेरिरहे। कठै! त्यो विचरी बच्ची, त्यो बच्चीलाई धुलोले कति गाह्राे भयो होला।
घटना ३:
“हाम्रो घर भत्काउन पाइदैन।” डोजर अगाडि उभिएर एकजना
बुढीआमैले आँखाबाट आँसु झार्दै नेवारीमै भनिन्। घरले नक्सा मिचेको भन्दै एक
हुल पुलिस लिएर नगरपालिकाको मान्छेहरु डोजरसहित त्यो ठाउँको घरहरु भत्काउन
खोज्दै थिए। म त्यो ठाउँमा पहिल्यै पुगिसकेको थिए, निकै पहिले
परापुर्वकालदेखी नै।
आमैको आँसुको वास्ता नगरी डोजर चल्यो। हेर्दाहेर्दै घर
भत्किदै गयो, ध्वस्त हुँदै गयो। गाह्रो भत्कियो, छत भत्कियो, भित्तो
भत्कियो। धुलो बढ्दै गयो। बाटोमा हिड्ने मान्छेहरु खोक्न थाले। आँखा मिच्न
थाले। दिन दुई गुना, रात चौ गुना टाइपले धुलो बढ्दै गयो।
डोजरले एकपछि अर्को घर भत्काउदै गयो। एवं रितले भत्किने घरको
संख्या र वातावरणमा धुलोको मात्रा बढ्दै थियो। मलाई सास फेर्नै मुस्किल
भइसकेको थियो। तर, पनि त्यहाँबाट म डेग चलिन; रमिता हेर्दै बसिरहे। म चाहेर
पनि त्यहाँबाट भाग्न सक्दैन थिए। कर्तव्यबोध भन्ने कुरा गाह्राे रैछ।
साँच्चिकै गाह्राे।
घटना ४:
“म ईन्जिनियर भा भए, योभन्दा गतिलो प्लानिङ गर्थे होला ” एक
हुल मास्कधारीहरु क्याम्पसको ड्रेस लगाएर हिड्दै थिए, एउटाले ठूलो स्वरमा
ठुलो कुरा गर्यो।
“हेर त! सरकारको केही आइडिया नै छैन। सुरुमा बाटो बनाउछन् अनि
भत्काउछन्, ढल खन्छन् अनि फेरि बाटो टाल्छन्, अनि फेरि खानेपानीको देख्छन्
……” त्यो केटोले ठूलो कुरा गर्न छाडेन। म उनीहरुको कुरा ध्यान दिएर
सुनिरहेको थिए। तर, उनीहरुलाई त्यसको थाहापत्तो थिएन।
“थाहा छ! राम्रो र चिल्लो बाटो देख्यो भने त यो खानेपानीको
मान्छेलाई भत्काउ-भत्काउ लाग्छ रे नि” सँगै हिडिरखेको मध्ये एउटा केटिले
फेसबुकमा पढेको एउटा जोक भनी। सबै केटाहरू गलल्ल हाँसे। सायद तिनीहरु सबै
त्यो केटिलाई इम्प्रेस गर्न चाहन्थे होलान्। म चुपचाप कुराहरू सुन्दै गए।
“घरबाट क्याम्पस आइपुग्दा पनि मरुभूमिमा हिडेको जस्तो हुन्छ।
पुरै बाटो धुलिधुलो, पुरै शरीर धुलैधुलो…” एउटा मोटो केटोले त्यसो भन्दै
एउटा ठूलो घरको गेट खोल्यो। त्यो सायद उनीहरुको क्याम्पस थियो क्यारे। मलाई
गेटबाट भित्र जान वर्जित थियो; पुरै कुरा सुन्नै पाइएन। झुर भो।
घटना ५:
“काठमान्डूको बाटोमा मुख खोलेर गफ गर्दै हिंड्नुपर्छ; घर
पुगेर थुक्दाखेरी मुखबाट हिलो निस्किन्छ; दिनभरी धुलो खाँदा-खाँदा” एउटाले
हिड्दै गर्दा भन्यो। अर्को खिस्स हाँस्यो; खुलेर हाँस्नै पाएन। मुख खोल्यो
कि धुलो पसिहाल्थ्यो मुखमा। साह्रै पीडा थियो काठमान्डू बासीलाई। म त्यो
सबै पिडाको साक्षी बसिरहेको थिए।
“संसारले टेक्नोलोजीको फिल्डमा काम गर्न थालिसके, हामी भर्खर
भौतिक पुर्वाधार विकास गर्दैछौ; हामी विश्वभन्दा ४०-५० वर्षले पछाडि छौ।”
एउटाले धाराप्रवाह रुपमा गफ दियो। सायद उसले भर्खरै मात्र कुनै चर्चित
पत्रीकाको ‘विचार’ भन्ने पृष्ठको लेख पढेर आएको हुनुपर्छ।
उनीहरु घरबाट राम्रै लुगा लाएर निस्केका थिए क्यारे। तर,
अहिले हेर्दा दुइटा धुलोको मुर्ती हिडेजस्तै देखिन्थ्यो। मैले उनीहरुको
प्रत्येक गफ सुनिरहेको थिए। ती गफहरु बिस्तारै धुलोबाट परिवर्तन हुँदै
चलचित्र, साहित्य, केटि, सेक्स, इतिहास हुँदै परिवर्तन हुन थाल्यो। मैले
अरु कुरा यहाँ चर्चा गर्नु उपयुक्त ठानिन।
आफ्नो कुरा:
माथीका घटना त केही प्रतिनिधि घटना मात्रै हुन्। यस्ता
घटनाहरु त मसँग चाङका चाङ छन्। तपाईंहरु सोच्दै हुनुहुन्छ होला, म काम चै
के गर्छु ? किन म बेरोजगारजस्तो जुनसुकै घटनामा पनि साक्षी बन्न पुगिरहेको
हुन्छु भनेर।
म काठमान्डूमा कहिले आए थाहा मलाई थाहा छैन। तर, मेरो होस खुल्दा म काठमान्डूको खाल्डोको एउटा कुनोमा लम्पसार परेको अवस्थामा थिए।
यो काठमान्डू खाल्डोका मान्छेहरु चिसा थिए; आफ्नो बाहेक कसैको
वास्ता गर्दैन थिए। उनीहरुले मेरो वास्ता गरेनन् त्यसैले म यो शहरमा घट्ने
अधिकांश घटनाहरुको साक्षी थिए। वा भनौ, म यो शहरमा घट्ने अधिकांश
घटनाहरुको साक्षी थिए; त्यसैले उनीहरुले मेरो वास्ता गरेनन्।
यो शहरले कहिले मेरो गालामा झापड हान्थ्यो। कहिले मेरो मुखमा खुट्टा उचालेर तुरुक्क मुतिदिन्थ्यो।
कहिले ठूलो भ्वाङ पारिदिन्थ्यो, मेरो छातिमा।
अनि अलपत्र पारेर छोडिदिन्थ्यो, मेरो शरिरलाई।
कहिले ठूलो भ्वाङ पारिदिन्थ्यो, मेरो छातिमा।
अनि अलपत्र पारेर छोडिदिन्थ्यो, मेरो शरिरलाई।
एकदिन राती कोहि नभएको बेला मैले एउटा कविता (कसै-कसैले यो
कविता नभएर अन्धाधुन्ध ईन्टर हानेको निबन्ध हो भन्नुहुन्छ होला, म त्यो
आरोप स्वीकार गर्नेछु किनभने म कुनै पेशेवर कवि होईन।) लेखेको थिए; यो
शहरको बारेमा:-
“धुलोमान्डु”
साँच्चिकै,
गाह्राे हुँदोरहेछ,
धुलो खाएर बाँच्नलाई।
अति नै,
साह्रो हुँदोरहेछ,
धुलो खाएर हाँस्नलाई।
गाह्राे हुँदोरहेछ,
धुलो खाएर बाँच्नलाई।
अति नै,
साह्रो हुँदोरहेछ,
धुलो खाएर हाँस्नलाई।
ओई मान्छे!
परापुर्वकालदेखी,
यो शहरमा,
यो धुलैधुलोको शहरमा,
वा भनौं, यो धुलोमान्डुमा,
म लम्पसार परेर बसिरहेछु।
परापुर्वकालदेखी,
यो शहरमा,
यो धुलैधुलोको शहरमा,
वा भनौं, यो धुलोमान्डुमा,
म लम्पसार परेर बसिरहेछु।
तैंले कहिल्यै सोचिस,
यो शहरमा तँबाहेक अरु पनि छन् भनेर ?
यो शहरमा तँबाहेक अरु पनि छन् भनेर ?
तैंले कहिल्यै सम्झिस,
यो शहरमा अरुले पनि धुलो खान्छन् भनेर ?
तैंले कहिल्यै देखिस,
मेरो छाती चरचरी चिरा परेको ?
तैंले कहिल्यै थाहा पाइस,
राती कसैले नदेख्नेगरि मैले यो कविता लेखेको ?
यो धुलोमान्डुमा बाँच्न
मलाई साँच्चै गाह्राे भईरहेछ।
मलाई साँच्चै गाह्राे भईरहेछ।
सडक भएर जन्मिनु के अभिशाप हो र ?