January 31, 2017

किर्तिपुर नोस्टाल्जिया

[पृथ्वीजयन्तीको अवसर पारेर बाह्रखरी डटकममा प्रकाशित कथा।]
“ऊ ... त्यो परबाट देखिएको भू–भागजति सप्पै कीर्तिपुर हो,” उसले परैबाट मुख चोसो पारेर देखाउँदै भन्यो । मैले पुलुक्क हेरेँ ।
Image Source: baahrakhari.com



म्युजियमबाट सापटी मागेर ल्याइएका जस्ता घर, चल्तापुर्जा इतिहासका ठेलीजस्ता देखिने मान्छे, खेती गर्नकै लागि भनेर सृष्टि गरिएका जस्ता खेतका गह्राहरूले भरिएको कीर्तिपुर हेर्दै लोभलाग्दो देखियो । अझ नियालेर हेर्दा कीर्तिपुर त काठमाडौं उपत्यकाको शिरजस्तो पो देखिन्थ्यो । ठीक त्यसैबेला भित्र कतै मनमा कीर्तिपुर छिर्ने दीर्घकालीन लक्ष्य तयार भयो । तर, त्यो दिनको अन्तरिम लक्ष्य अर्कै भएकोले कीर्तिपुरतिर नलागी हामी डाँडैडाँडा उक्लियौं ।
“कीर्तिपुरका मान्छेहरूको अनुहार र भक्तपुरका मान्छेहरूको गर्धन अश्वेत हुन्छ,” एकदिन चियाभट्टीमा एउटाले सुनायो ।
विगतमा केही समय मैले भक्तपुरमा बिताएको हुँदा भक्तपुरबासीको गर्धन अश्वेत देखेको थिएँ । तर, कसरी भयो, कसैलाई सोधेको भने थिइनँ ।
“साँच्ची, कसरी पो त्यस्तो कालो भ’को होला ?” मैले लुरुक्क परेर त्यो एउटालाई सोधेँ ।
ऊ एकछिन हाँस्यो, हाँसिराख्यो अनि क्रमशः त्यो चियाभट्टीका सबैजना हाँसे । भित्र भान्सामा दूध उमालिराखेको साहुजी पनि हाँस्यो । 
म ट्वाँ परेँ, परिरहेँ ।
“ल त्यति पनि थाहा छैन ?” त्यो एउटाले आँखीभौं खुम्च्याउँदै भन्यो । अनि एउटा चुरोटको हत्या गर्यो ।
“कुरा के भन्देखुन्, ऊबेलादेखि उपत्यकाका मान्छेहरूको काम गर्ने ठाउँ भनेको काठमाडौं हो । घाम उदाउनेबित्तिकै काठमाडौं छिरेका मान्छेहरू घाम अस्ताउन लाग्दा मात्रै आफ्नो घरतिर लाग्थे ।” 
उसले भन्यो । मैले ‘अनि ? अनि ?’ भन्दै सोधेँ । साहुजी पनि दूध उमाल्न छोडेर कुरा सुन्दैथ्यो ।
“अनि, पूर्वबाट घाम उदाउनेबित्तिकै काठमाडौं छिरेको भक्तपुरेको गर्धनमा घाम पथ्र्यो, घाम अस्ताउन लाग्दा भक्तपुर छिर्दा फेरि पनि गर्धनमै घाम पथ्र्यो । त्यसैले उसको गर्धन अश्वेत भइदियो ।” 
मैले ‘ए !’ भन्दै लामो लेग्रो तानेँ । अब कीर्तिपुरेको कसरी अनुहार अश्वेत भयो, मैले बुझिहालेँ । तर, पनि उसले कथा भनिराख्यो । । म भने जुरुक्क उठेर हिँडें ।
भक्तपुरबासी त देखेकै थिएँ, अब मलाई कीर्तिपुर जाने हुटहुटी जाग्यो ।
० ० ०
“मलाई टीयू गएर जुनसुकै संकायमा भए पनि भर्ना गरिदे है,” मैले उसलाई भनेँ । उसले टाउको हल्लायो अनि जुरुक्क उठेर गयो । यत्तिको विश्वासिलो मान्छे पाउनु मेरो लागि अहोभाग्य थियो ।
“उ त मर्योे रे नि त !” एउटा अपरिचित नारी आवाजले प्राइभेट नम्बरबाट फोन गरेर भन्यो । म ‘सक्ड’ भएँ ।
“तैट ! ऊ मर्नै सक्दैन । ऊ भर्खरै कीर्तिपुर छिरेको छ, टीयूमा मेरो भर्ना गर्दिन,” मैले नपत्याउँदै भनेँ ।
“हाहा,” उताबाट नारी आवाज हाँस्यो । मान्छेको मृत्युको समाचार सुनाउँदा पनि हाँस्ने कस्तो सोमत नभएकी रै’छे !
“कीर्तिपुर पुग्नै नपाई उसलाई माइक्रोले हान्दिएछ । मान्छेहरूले भनेका– त्यो माइक्रो कीर्ति राज्यलक्ष्मीले चलाएकी थिइन् रे ! कीर्ति राज्यलक्ष्मीले नै संरक्षण गर्ने भएकोले त्यो ठाउँको नाम कीर्तिपुर भ’को रे ! ऊ पसेपछि कीर्तिपुरको अहित हुन्छ जस्तो लागेर उसलाई अगाडि नै मार्देको रे !” उताबाट नारी आवाजले उसको मृत्युको घटना ‘न्यारेट’ गर्यो । लगत्तै फोन काटियो ।
कीर्ति राज्यलक्ष्मीको बारेमा त मैले पनि सुनेको थिएँ– कीर्तिपुरको संरक्षणकर्ता देवी हुन् भनेर । तर, आजकालको जमानामा पनि देवीदेवता हुन्छन् र ?
ह्वाट अ बुलसिट !
“कीर्तिपुर प्रवेशद्वारमा नाम नखुलेको महिला चालकले चलाएको नम्बर खुल्न नसकेको एउटा माइक्रोले ठक्कर दिएपछि एक पदयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी ।” टिभीमा समाचार आउँदै थियो । मलाई त्यो हेर्न मन लागेन । एउटा विश्वासपात्रको निधन भएकोमा म दुःखी थिएँ । त्योभन्दा दुःखी चाहिँ म कीर्तिपुर पस्न नपाएकोमा थिएँ ।
० ० ०
“कीर्तिपुरबाट नेपालको राष्ट्रिय परिकार गुन्द्रुकको सुरुवात भएको थियो रे नि त, तँलाई थाहा छ ?” गाडीमा होटल म्यानेजमेन्टका दुईजना केटीहरू गफ गर्दै थिए ।
कीर्तिपुरको नाम सुन्नेबित्तिकै मैले कान ठाडा बनाएँ । तर, मेरो ध्यान जानेबित्तिकै उनीहरू गाडीबाट उत्रिहाले । साह्रै पीडा भएर आयो । भोलिपल्टै पुस्तकालय पुगेर इतिहासको किताब पल्टाउँदै गुन्द्रुकको इतिहास खोतल्न थालेँ ।
एउटा मोटो तर पुरानो किताबको एउटा पन्नामा गुन्द्रुकको बारेमा लेखिएको थियो ।
सारांश–
“ऊबेलाको कुरा हो, पहाडतिरको कुनै एउटा राज्यको एउटा राजालाई स–साना सबै राज्य एकीकरण गर्ने भूत चढ्यो रे ! एकीकरण गर्ने क्रममा उनी कीर्तिपुर आइपुगेछन् । कीर्तिपुरमा पहिलोपटक आक्रमण गर्दा कीर्तिपुरेहरूको बारीमा लहलह साग थियो रे !
बारीको साग टिप्दै गर्दा एक्कासि आक्रमण भएपछि कीर्तिपुरेहरूले सागलाई त्यही खाल्डोमा हालेर युद्ध गर्न गएछन् । बालकदेखि वृद्धसम्म, महिलादेखि पुरुषसम्म सप्पैले युद्धमा भाग लिएकोले त्यो युद्ध कीर्तिपुरेहरूले आरामले जितेका थिए रे ! तर, युद्ध सक्किने बित्तिकै त्यहाँको मान्छेहरूलाई भोकमरीले सताउन थालेछ । सबैजना युद्धमा गएकाले खेतीपातीतिर कसैले ध्यान दिनै पाएन ।
मर्नुभन्दा बहुलाउनु निको भन्ठानेर त्यही खाल्डोमा गाडेर छोडेको, हेर्दै कुहिएको साग नै फेरि निकालेर पकाउने कोसिस गरेछन् । अलिअलि अमिलो–अमिलो जस्तो स्वाद भएको त्यो गज्जबको खानेकुरा बनेछ । सबैलाई मीठो लागेकोले आगामी वर्षहरूमा उनीहरूले जानीजानी साग कुहाएर त्यस्तो बनाउन थालेछन् । बनाउन सजिलो, खाँदा मीठो भएकोले त्यो देश–देशावरसम्म फैलिएर गयो । कालान्तरमा, खै कसरी हो ‘गुन्द्रुक’ को नामले त्यो खानेकुरा चर्चित भएछ ।”
गुन्द्रुकको आविष्कार पनि कीर्तिपुरेहरूले गरेको थाहा पाएपछि त कीर्तिपुरप्रतिको मोह झन् बढेर आयो । गुन्द्रुकको बारेमा पढेको दिन मैले घरमा आएर गुन्द्रुक झोल प्लस गुन्द्रुककै अचारसँग भात खाएँ ।
० ० ०
“भाइ, जा त मेरो लागि कीर्तिपुरमा एउटा कोठा खोज्दे । अब केही समयको लागि म त्यतै गएर बस्नुपर्यो,” उसको मृत्यु भएको केही समयपछि मैले भाइलाई काम अह्राएँ ।
मेरो भाइलाई बाइक हाँक्न पाएपछि अरु केही चाहिन्नथ्यो । त्यसैले ‘जो हुकुम भ्राता’ भन्ने टाइपले मेरो कुरा भुइँमा नझर्दै ऊ बाइक लिएर निस्किहाल्यो । डेरामा बस्दा के–के सामान चाहिन सक्छ, म लिस्ट बनाउन थालेँ । खै कसरी हो, त्यो त थाहा भएन तर कीर्तिपुरप्रति म एकदमै आकर्षित भइसकेको थिएँ ।
“बाबु, तेरो भाइ.....” भन्दै आमा रुन थाल्नुभो । बाले निकै अगाडि हाम्लाई छोडेर जानुभएकोले हाम्रो अभिभावक भनेकै आमा हुनुहुन्थ्यो । आमालाई रुवाएर ईश्वरलाई खुसी बनाउन सकिँदैन, एक्कासि यो भनाइ याद आयो ।
“के भयो आमा, भाइलाई ?” मैले पनि आत्तिँदै सोधेँ । मान्छेहरूले सौतेनी भाइलाई नराम्रो व्यवहार गर्यो भनेर कुरा काट्लान् भन्ने डरले म भाइप्रति जहिल्यै सजग हुन्थेँ ।
“हिँड मसँग,” भन्दै आमाले मलाई लिएर बाहिर जानुभयो । बाटोमा ट्याक्सी स्टान्डबाइ रै’छ । हामी त्यसैमा चढ्यौँ । ट्याक्सीभरि आमा मसँग बोल्नुभएन, सुँक्क–सुँक्क मात्रै गरिराख्नुभयो ।
“भाइ ! यहाँ रोक्दिनू है,” हस्पिटलमा आइपुगेपछि आमाले भन्नुभो । 
अब चाहिँ मेरो पनि मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । भाइलाई के भएछ ? आमालाई एउटी केटीले फोन गरेको थिई रे, भाइलाई हस्पिटलमा भर्ना गरेको छ भनेर ।
“अहिले तपाईंको भाइ खतराभन्दा बाहिर हुनुहुन्छ । तर, बाइक द्रुत गतीमा भएका कारण उहाँको टाउकोमा चैँ निकै नराम्रोसँग चोट लागेको छ । धन्न हेल्मेट भएकोले खासै ठूलो चोट लागेन तर अब उहाँको एउटा आँखाले काम गर्दैन,” डक्टरले निकै लामो सुस्केरा हाल्दै भन्यो ।
आमा भुइँमा थचक्क बस्नुभो ।
० ० ०
“तपाईंको भाइ कीर्तिपुर प्रवेश गर्न खोजेकोले उसलाई कीर्ति राज्यलक्ष्मीले सजाय दिइन्,” साँझतिर मेरो मोबाइलमा अपरिचित नम्बरबाट म्यासेज आयो ।
आमालाई दिउँसो फोन आएको नम्बर खोजेँ, भेटिएन । कीर्ति राज्यलक्ष्मीले नै यो सबै गरिराखेकी थिइन् भनेर अबचाहिँ मैले पत्याएँ । मलाई किन कीर्ति राज्यलक्ष्मीले यसरी रोक्न खोजिरहेकी थिइन्, थाहा भएन ।
“कीर्ति राज्यलक्ष्मीलाई हराउने हो भने गोरखनाथको सहारा लिनुपर्छ,” मेरो अतिप्रिय मित्र गुगलले मलाई भन्यो ।
अब जुनसुकै हालतमा भए पनि कीर्तिपुर प्रवेश गर्ने मेरो लक्ष्य थियो । अब कीर्तिपुर प्रवेश मेरो लागि सोख नभएर इगो भइसकेको थियो । तर, कीर्ति राज्यलक्ष्मी हुन्जेल मलाई त्यहाँ छिर्न सजिलो थिएन ।
“तँ अब कीर्तिपुर प्रवेशको तयारी गर् बालक, बाँकी सबै कुराको जिम्मा मलाई छोड्दे,” सात दिन, सात रातसम्म अनवरत रूपमा तपस्या गरेपछि एकदिन गुरु गोरखनाथले यस्तो आकाशवाणी गर्नुभो । अब कीर्तिपुर यात्रा प्रतिष्ठाको विषय भइसकेको थियो ।
जुनसुकै हालतमा कीर्तिपुर प्रवेश गरेर कीर्ति राज्यलक्ष्मीलाई हराउने मेरो एकमात्र लक्ष्य बन्यो । तर, भाइको उपचारमा धेरै खर्च भइसकेकोले मेरो आर्थिक हालत खतम भइसकेको थियो । अझ दुःखको कुरा– मलाई कसैले पनि ठूलो ऋण पत्याउँदैनथे ।
साह्रै चिन्तित भएर म चियाभट्टीमा बसिरहेका बेला एउटा साथी आयो । ऊ मेरै छेउमा बस्न लागेको थियो, मैले आफ्नो ठाउँ फेरेँ । उसले अप्ठ्यारो मान्यो । शायद ऊ दलित भएको कारण चिया छोइदेला भन्ने पीर मलाई परेको थियो । हुन त मलाई जातपातमा विश्वास लाग्दैन । तर पनि भित्र अवचेतन मनमा ठूलो जातको अहंकार जाग्दो रै’छ । मैले जहिल्यै मेरो दलित साथीलाई हेयको दृष्टिले हेरिरहेँ ।
“के पीर परेको हो ? हाम्लाई भने नि हुन्थ्यो । केही न केही सहयोग गर्न सक्थेँ कि ?” उसले मलाई हेर्दै लेग्रो तान्यो । मलाई झर्को लाग्यो ।
“तैंले सहयोग गर्न सक्दैनस्, धेरै ल्याङ नगर्,” मैले मन नभई–नभई पनि बोलेँ । मलाई ऊ त्यहाँबाट जतिसक्दो छिटो गए हुन्थ्यो जस्तो लागेको थियो ।
“पक्कै पनि पैसाको समस्या हुनुपर्छ,” उसले औंला हल्लाउँदै भन्यो । 
म झसंग भएँ । उसले कसरी थाहा पायो ? 
“बच्चैदेखि लभ परेको केटी त उसको दाइसँग झगडा परेपछि छोडिदिने मान्छे होस् तँ । त्यसैले केटीको टेन्सन हुनै सक्दैन । भाइको उपचार खर्च धेरै लाग्यो रे भन्ने सुनेको थिएँ, त्यही भएर पक्कै पनि पैसाको टेन्सन हुनुपर्छ,” उसले फेरि थप्यो । म उसलाई हेर्दै टोलाइरहेँ ।
“ला, यति राख् । योभन्दा बढी दिन सक्दिनँ । सबैसँग अलिअलि गर्दै लिइस् भने सजिलो हुन्छ । कसैले नाइँ पनि भन्दैन,” उसले हिँड्ने बेलामा मेरो टेबुलमा पैसा फाल्दै भन्यो ।
मलाई यो उपाय गज्जब लाग्यो । दलित भनेर उसलाई हेला गरेकोमा आत्मग्लानी पनि भयो ।
० ० ०
“पाँगा दोबाटो छ है,” तेस्रो पटकको कठिन प्रयासपछि बल्ल कीर्तिपुर छिर्न पाएको थिएँ, माइक्रोको लास्ट सिटबाट चिच्याएँ ।
खलासीले भाडा माग्यो । मैले ‘कार्ड छ’ भन्दै सय रुपैयाँको नोट तेस्र्याएँ । खलासीले कार्ड हेर्दै मेरो नाम पढ्यो, “पृथ्वीनारायण शाह !”
० ० ०
[उपसंहार : आफ्नो विश्वासपात्रको हत्या र भाइको फुटेको आँखाको बदला तिर्न मैले कीर्ति राज्यलक्ष्मीको सहरका अधिकांश मान्छेहरूको नाक र कान काटेर एउटा विशाल थुप्रो बनाएँ । भविष्यमा नाक र कानबिनाका मान्छेहरू कीर्तिपुरमा हिँडिरहेका भेटिन्थे अरे !]
 
;