January 29, 2017

फिलिम

"ओइ! जाँता, जुम् फिलिम हेर्न। बजाराँ राइस्मालको फिलिम चलिरा छ रे। गुण्डाहरुलाई त एक्कै बक्सिङमा ढाल्दिन्छ भन्थ्यो अचार्जो माइलोे।" किस्नेले माटोको ढेल्ला आँपको बोटतिर हान्दै भन्यो। बुरुरु धुलो छर्दै ढेल्ला गएर आँपको पत्तामा ठोक्कियो, आँप झरेन। म गलल्ल हाँसे, किस्नेले मतिर ढेल्ला हान्यो। तर्किए।

"फिलिम हेर्न त पैसा लाग्छ रे नि त मुची! छ तँसग ?" मैले अर्को ढेल्ला माथी आँपको बोटतिर हान्दै भने। हाम्ले भख्खर-भख्खरै जाँता-मुची भन्न सिकेका थिम। तिनताक डिल्लीमा कमाएर फर्किएकाहरुले खुप भन्थे यस्तो कुरा, हाम्लाई बहुत चाख लाग्थ्यो। शब्दैपिच्छे त्यसो भन्दा ठुलै मान्छे भइन्छ कि जस्तो लागेर भनिराख्थिम्।
Image Source: Google



"तँ हुन्छ मात्रै भन् न। टिडिक त म लगाई हाल्छु नि।" किस्नेले दाइने हातको चोर औंलो कन्चटमा लगाउदै भन्यो। तर, मलाई थाहा थ्यो तेल्ले टिडिक लगाउन सक्दैन भनेर।

बिहानै चिया र बासी भात खाएर बाख्रा ले'र खेततिर गएपछि काइल्बाउको लाले कित्तामा भ'को आँपको बोटाँ फलेको कटमिरा आँपमा ढेल्ला हान्नु हाम्रो दैनिकी थ्यो। राशिफल राम्रो हुँदाखेरी कहिलेकाही गोडाचारेक आँप त झर्थे पनि। आज चै हाम्रो राशिफल राम्रो थेन जस्तो थ्यो। एउटा नि आँप झरेन।

"देबिथान जुम्, पैसो भेटिन्छ।" किस्नेले यत्रो ठुल्ठुलो आँखा पारेर भन्यो। लाले कित्ताको छेउमा खोला थियो, खोलाको छेउमा देबिथान। पुर्णेको दिन हामी जहिल्यै पुजा गर्न जान्थिम अनि पैसा, फुल, अछेता चढाएर फर्किन्थिम्। पुर्णेको दिन बाहेक अरु दिन देबिथान पस्यो भने देबिले सराप दिन्छिन्, अनि रातो गु हग्ने माँसी परेर मान्छे मर्छ भनेर काइल्बाउले डर देखा'का थिए। मलाई डर लाग्यो।

"थुक्क पापी।" मैले किस्नेतिर बल गरेर थुक्दै भने "देबिथान जानुहुन्न, खुन हगेर मरिन्छ भन्ने तँलाई थाहा छैन ?"

"आफ्नोमा पो जानुहुन्न त, अर्काकोमा जाँदा केही हुन्न मुची, मलाई अस्तिनै निरौला बाजेले भनेका।" बुर्लुक्क आलीमा उफ्रीदै किस्नेले भनो। 

"अचार्जा हरुको देबिथान जुम्।" सबैको आ-आफ्नो थर अन्सारको देबिथान हुन्थ्यो। हाम्रो देबिथान नगिचै भए पनि अचार्जाहरुको अलिक पर थियो। तर, इस्पिट कुदेर गयो भने के नगिच, के पर। किस्ने कुदि हाल्यो। मैले पनि पछ्याए।

"पख् न जाँता! कोखा हान्यो।" मैले कोखा समात्दै भने। अलिकति कुदेपछी मलाई कोखा हानेर हुरुक्कै हुन्थ्यो। ब्यान खा'को बासी भात हुलुक्कै उल्टी आउलाआउलाजस्तो भो। 'येल्ले पानी थोरै खान्छ, अनि कोखा हानेर भुतुक्कै हुन्छ। अलि धेरै पानी खा भनेको मान्दैन।' आमाले भनेको झल्झली सम्झिए। आ! मुत्नको काल, कल्ले खाओस पानी जस्तो लाग्थ्यो। अबदेखि पानी धेरै खान्छु, मनमनै भन्दै अलिकति माटो बुढीऔलाले निधारमा दल्दै धरती-कसम पनि खाए। धरती-माताको कसम तोड्यो भने भुकम्पमा परेर मरिन्छ रे।

"म त्याहा गएर हेर्न मिल्दैन, तँ गएर हेर त। पैसो छ कि छैन।" बिस्तारै-बिस्तारै हिडेर अचार्जाहरुको देविथान पुग्ने बित्तिकै किस्नेले भन्यो। अचर्जाहरु हाम्रो बुवाको मावली पर्थे, मेरो बूढो मावली। त्यसैले कहिलेकाही सरादहुँदी अचार्जका पुगियो भने पहेलो टीका लगाएर आठाना पाई पनि हालिन्थ्यो। अझ खिर खान दिन्थे त्यो पनि मटरको अचारसँग। मलाई अचार्जाहरुकोमा सराद भइराखोस जस्तो लाग्थ्यो।

"एउटा नम्बरी पैसा रैछ, दुइटा आठाना। टिपुम् ?" भुइँमा टाउकोले ढोग्दै म देबिथान छिरे। चप्पल त लगाउने बानी भा पो फुकाल्नु।

"सप्पै टिपेर ले।" किस्नेले आदेश दियो। मैले जो हुकुम सरकार भन्ने टाइपले उसको आदेश शिरोपर गरे।
त्यहाँबाट पैसो टिपेर गोजीमा हालेपछी पछाडि नफर्की घरतिर कुदिम। किस्ने आफ्नो घरतिर गयो, म आफ्नो। भात खाएपछि भेट्ने सल्लाह गरिम। ठिक्क भात खाने बेला भ'को रैछ। फर्सीको झोल र हिजोको अमिलो मोहिसँग एक बटुको भात खाइसक्ने बित्तिकै जिउमा अर्कै फुर्ती आइहाल्यो नि। छुट्टीको दिन भ'कोले स्कुल जानू पर्थेन। दिउँसो कतै नजा है, नुहाउनु पर्छ भनेर आमाले भन्नुभो।

"दुई रुप्पे दिनु न त। कपाल काटेर आउछु अनि नुहाम्ला।" मैले हल्का ढिपी गरे। किन चाहियो नि दुई रुप्पे ? एक रुप्पेमा कपाल काट्दिहाल्छ नि। आमाले दुई रुप्पे दिनै मान्नुभएन; एक रुप्पे मात्रै दिनुभो। हात हल्का धोएर भेस्टमा पुस्दै म टाँडमा चढे। बुवासँग पनि फेरि दुई रुप्पे मागे, बुवाले एक रुप्पे दिनुभो। अब यो भन्दा बढी चन्दा सङ्कलन हुँदैन भनेर मलाई थाहा थ्यो। त्यसैले हिडे सिदै किस्नेको घरतिर। दाँत मोल्ने चलन थिएन।

"मैले सबै बेबास्ता मिलाए। लु जुम।" किस्नेले उस्को घर पुग्नेबित्तिकै भन्यो। अनि हामी बजारतिर कुदिम। मैले हाप्पेनको देब्रे गोजीमा पैसा बोकेको थ्ये; एक हात गोजिमै हालेर कुदे। जाँदाजाँदै बाटैमा झ्वाँकिको बाउको गोरु-गाडा भेटियो। बूढो धानको बोरा लेर मिल जाँदै रैछ। किस्नेले बाटो हिड्दाहिड्दै बुढोसँग कुरो मिलायो। म कोखा समातेर पिछिपिछी बिस्तारो आउँदै थ्ये। किस्ने बुरुक्क उफ्रेर गोरु-गाडामा चढ्यो। म भने बल्लतल्ल मरेर चढे। झन्डै पैसा झर्यो नि।

"तिमेरु झर अब ठेट्ना हो, बजार आइपुगो।" गोरुको पुच्छर निमोठ्दै बुढोले भन्यो। गौरादह बजार आइपुग्यो। बजार त तल हाम्रो गाउँतिर पनि लाग्ने गर्थ्यो। तर, फिलिम हल चै गौरादहमा मात्रै थियो। 'गौरादहको बजारैमा…' भन्ने गित गाउदै हामि हिड्न थालिम। फिलिम हल कता थियो त्यो पनि थाहा थिएन हामिलाई त। मलाई सोध्न लाज लाग्थ्यो। किस्नेले एउटालाई सोध्यो। अनि त्यही एउटाले भनेतिर हामी लागिम्।

"खोइ अब पैसा निकाल्, भित्र गएर टिकट किन्नुपर्छ रे।" किस्नेले भन्यो। मैले बिहान चोरेको २ रुप्पे अनि घरबाट मागेर लेरा'को २ रुप्पे गरेर चार रुप्पे किस्नेलाई दिए। उसले पनि बडो स्टाइलका साथ गोजीमा हात हालेर १ रुप्पे निकाल्यो। थुइक्क मुची। कस्ताको भरमा फिलिम हेर्न आइएछ जस्तो लाग्यो।

"दाइ, फिलिम हेर्न के गर्नुपर्छ ?" किस्नेले ढोकामा उभिएको मान्छेलाई सोध्यो। म परै बसेर हेरिरहेको थिए।

"टिकट काट्नुपर्छ। आजको शो सुरु भइसक्यो, अब भोलिमात्रै हेर्न पाउछस।" उसले पिच्च खैनी थुकेर भन्यो। खैनीले गर्दा उसको दाँत काला भइसकेका थिए। किस्ने खिस्रीक्क पर्यो। म झन् डबल खिस्रीक्क।

"भोलि त आउनै पाइन्न। आजै मिलाइदिनु न।" नगिचै गएर मैले पनि बिन्ती गरे। नाकभरी सिंगान, नमोलेको दाँत, मैलो न मैलो कातिजस्तो भेस्ट, दाग लागेको हाप्पेन, रुँला रुँला जस्तो अनुहार यस्तो रुपको मलाई देखेर होला उसलाई पनि माया लागेको।

"खोइ, कति पैसा छ ?" उसले फेरि खैनी थुक्दै भन्यो। किस्नेले हातको डलर पैसा जति सबै अघि बढायो। गेटपालेले आँखैले पैसा गन्यो।

"ल! यति पैसाले त हाफट्याम पछी मात्रै हेर्न मिल्च। यहि बसिराख। म भित्र जाने बेलामा भन्छु।" देब्रे हातले पैसा सोहोर्दै त्यसले थर्कायो।

"यो जाँतालाई बाटो छेकेर हान्नुपर्छ।" किस्नेले मेरो कानमा खुसखुस गर्दै भन्यो।
"पख! पहिला फिलिम हेरेर फाइट त सिकुम्।" मैले पनि थपे। हामी मान्छे साना भएपनी कुरा चै ठुल्ठुला गर्थिम।

"ओए केटा! यहाँ आइजो, आइजो।" गेटपालेले मलाई बोलायो। ला! कुरो सुनेर बोलाएछ कि क्या हो भन्दै डराउदै डराउदै छेउमा गए।
"ला यो पैसा, उ त्यहा गएर पान लिएर आइज त।" एक रुप्पे दिंदै पालेले भन्यो। म खुरुरु कुदेर गए।

"पख, एकछिन। एउटा दबाइ गर्नुछ।" पान लिएर फर्किने बेलामा किस्नेले भन्यो। त्यो पनि मेरै पिछी लागेर आको थ्यो।
"के दबाइ ?" मैले भनीनसक्दै किस्नेले मेरो हातको पान खोस्यो। अनि भित्तामा लुकेर त्यसमा ख्वाक्क थुक्यो। मैले पनि थुके। अनि फेरि जस्ताको तस्तै पोको पारे। अनि कुदाउदै लगेर पालेलाई दिए।

"खायो बज्जेले" किस्नेले मसँग खुसुक्क भन्यो। नभन्दै पालेले ग्वाम्म मुखमा पानको बुझो हाल्यो। मलाई झन्डै उल्टी आयो।
एकछिनपछी गुरुरु धेरै मान्छे निस्किए। किस्नेले हाफट्याम भएजस्तो छ भन्यो। धेरै जसो मान्छे  चै मुत्न गए। कोहि कोहि चै फिलिमको कहानी यस्तो हुन्छ होला र उस्तो हुन्छ होला भनेर ठुल्ठुलो स्वरमा हल्ला म गर्दै थिए। फेरि तिनीहरु भित्र जान थाले, हामी पनि गएर गेटपालेको छेउमै उभियौ। उसले पान चपाउदै चपाउदै कि लास्टमा गएर बस्नु, कि फस्टमा गएर बस्नु भनेर भन्यो। हामी अरु मान्छेको पिछी पिछी गइम्।

"ओइ जाँता! कस्तो अँध्यारो हौ यहाँ त निस्सासिन्छ कि क्या हो।" किस्नेले भन्यो। मैले केही बोलिन। गोजीमा धेरै हात हालेकोले हाप्पेनको इलास्टिक लुज भएछ क्यारे, त्यही समातेर हिडिरहे। हामी  हिड्दाहिड्दै सबैभन्दा अगाडी पुगिम्। अगाडिको ब्रेन्ची खाली जस्तै नै थियो। थुचुक्क बसे। बस्नेबित्तिकै बत्ती निभ्यो। म बसेर बत्ती निभेको हो कि जस्तो लागेर फेरि उठे तर अहँ बत्ती बलेन। डर लाग्यो।
हेर्दाहेर्दै अगाडिको सेतो सेतो भित्तामा चित्रहरु देखिए, ठुल्ठुलो आवाज पनि आउदै थियो। मैले केही बुझिन। बेला बेला दमाहा बजेजस्तो डुङ डुङ गर्थ्यो। त्यो बेला मान्छेहरुले सिटि बजाउथे, सुसेली हाल्थे। किस्नेले पनि  ताली बजाउन थालिसकेको थियो। सिधै माथि मुन्टो उठाएर हेर्नुपर्दा त गर्धन दुख्न थालिसकेको थियो।

हेरेको हेर्यै गरेपछि बल्ल अलिअलि भेउ पाउन थाले। त्यो सेतो भित्तामा त मान्छेहरु रैछन्। अनि त आवाज पनि बुझिहाले। एउटा जगल्टावाला मान्छेले सबैलाई जित्यो। किस्नेले कानमा खुसुक्क 'उ त्यही हो राइस्माल' भनेर भनेर भन्यो। अनि त मैले पनि हाप्पेनको इलास्टिक छोडेर ताली बजाउन थाले। अरु मान्छेले जतिबेला चिच्याउथे, हामिले पनि त्यतिबेला नै कराउथिम्। मैले एक्कैछिनमा फिलिम हेर्नू भनेको एउटा मान्छेले धेरैलाई कुट्दा कराउने, चिच्याउने हो रैछ भनेर बुझिहाले।

"यो पर्दा पुरानो भइसक्यो तर पनि यो हलले कहिल्यै फेर्न आँटेन। अब देखि फिलिम हेर्न त दमक जानुपर्ला" पछाडिबाट एउटा आवाज आयो। मलाई बल्ल त्यो अगाडिको सेतो भित्ता पर्दा हो भन्ने थाहा भयो। अनि कस्तो मैलो मैलो पनि लाग्यो। एकछिनपछी फिलिम सक्कियो। हामिले लास्टको नामसम्मै हेरिम्। तर, फिलिममा फाइट बाहेक अरु मलाई केही याद भएन।

"दाइ, त्यो पर्दा फेर्नु नि। कस्तो मैलो रैछ। फिलिम हेर्दाखेरि टाउको पनि दुख्यो। बेन्चीहरु अलिक पछाडि पनि सार्नु नि" बाहिर निस्किदै गर्दा मैले पालेलाई ठूलो मान्छेले जस्तै गरेर भने।

'भ्वाक्क' एउटा ठूलो आवाज आयो। आवाजसँगै म पनि हुत्तिएर पर पुगे। इलास्टिक लुज भ'को हाप्पेन फुत्तै फुस्कियो। भित्र कट्टु लाउने बानी थिएन। मुची गेटपालेले लात्तीले हानेछ।

"इत्रा इत्रा छैनन् सिकाउदै हिड्छन्...." उसले अरु पनि के के भन्दै थियो। मैले सुनिन।

"छाड्दे अहिले, हामी ठूलो हुँदा त्यो बूढो हुन्छ। अनि राइस्मालले जस्तै गरेर गोद्नुपर्छ।" किस्नेले मलाई उठाउदै बिस्तारै भन्यो।
मलाई भने गेटपालेको पानमा थोरै थुकेकोले पछिसम्म थकथक लागिराख्यो।

0 Comments:

Post a Comment

 
;