समय: दिउँसोतिर
स्थान: आफ्नै कार्यालय, बौद्ध
"कता हो सरकार ? आज साँझ चिया खान भेट्न सकिन्छ होला ?" मोबाइलमा एउटा म्यासेज चुस्स आयो ।
मोबाइल खोलेर हेरेँ, हाइवेले पठाएको रै'छ । उसको नाम जेसुकै होस्, मतलब भएन । चिन्नेले उसलाई हाइवे भनेर चिन्छन् ।
"समय र स्थान खबर गर्नुस्, भेटौँला नि त," मैले हतारहतार उत्तर फर्काएँ ।
"उही पुरानो अखडा कोटेश्वरको महादेवस्थानमा भेटौं न, साँझतिर," उताबाट एकछिनमा रिप्लाइ आयो । मैले यसो हेरेँ अनि छोड्दिएँ । रिप्लाई गर्नु जरुरी ठानिनँ ।
![]() |
Image Source: Google |
समय: साँझतिर
स्थान: कोटेश्वरको महादेवस्थान मन्दिर
"खोइ त यार ? म उता परदेखि अघि नै आइसकेँ यार, तपाईं यहीको मान्छे भएर पनि अहिलेसम्म खोइ त ?" मैले पुग्नेबित्तिकै हल्का झर्किँदै फोन गरेँ । पर्खाउन रमाइलो लागे पनि पर्खिनचाहिँ साह्रै झुर लाग्छ मलाई ।
"एकछिन है, हामी आइहाल्यौँ । सौगात दाइ पनि आउँदै हुनुहुन्छ ।" उताबाट आवाज आयो ।
मलाई झ्याउ लाग्यो । अब के गरेर बस्नू ?
छेउमा मन्दिर थियो, महादेवस्थानको । यसो धर्म नि हुन्छ, टाइमपास नि हुन्छ
भनेर छिरेँ मन्दिरतिर ।
मैले मीनभवन क्याम्पस पढेको हुनाले धेरैपटक यो मन्दिरको बाटो भएर ओहोरदोहोर गरेको थिएँ । त्यसैले मेरो लागि महादेवस्थानको मन्दिर कुनै नयाँ थिएन । उही पुरानो मन्दिर, उही पुरानो पुजारी, उही पुरानो म, उही पुरानो घण्टी, उही पुराना भित्ताहरू ।
आफूलाई त मज्जाले टाइमपास गर्नु थियो । त्यसैले मन्दिरको कुनाकाप्चा सबैतिर घुम्न थालेँ । नयाँ कुरा भेटिने त केही हैन, त्यही पनि हेर्दैमा के जान्छ र ?
अलिकति पर पुगेपछि एउटा शिलालेखले ध्यान आकर्षित गरायो । त्यो औसत शिलालेख थियो, अरु सामान्य शिलालेख जस्तै । मैले धेरै शिलालेखहरू देखेको थिएँ तर कहिल्यै कुनै पढेको थिइनँ । आज यसो पढ्दिम् न त भनेर निहुरिएर हेरेँ । आधामात्रै रैछ । आधा जमिनमुनि गाडिएको थियो होला । सबै कुरा संस्कृतमा लेखिएको रै'छ, पढ्नै सकिनँ ।
अनि मोबाइल निकालेँ, फ्ल्यास बालेर चनमते दाइले हाल्देको क्याम-स्क्यानरले त्यो शिलालेखको फोटो खिचेँ, एङ्गल-एङ्गलबाट ।
केही समयपछि हाइवे र सौगात दाइसँग चिया खाएर शिलालेखको फोटोहरु लिएर फर्किएँ ।
० ० ०
समय: रातितिर
स्थान: कोटेश्वर रत्नमार्ग, घर नं १३, आफ्नै कोठामा
गुगलमा संस्कृतलाई उल्था गर्ने एउटा साइट खोजे अनि मोबाइलले स्क्यान गरेको फोटो खिचेको सबैलाई कम्प्युटरमा कपी गरेँ । अनि त्यो साइटमार्फत शिलालेखका कुराहरू पढ्ने कोसिस गरेँ ।
शिलालेखको सार––
"देवादिदेव महादेवका धेरै भक्तहरु थिए । ती
सबै भक्तमध्ये सबैभन्दा श्रेष्ठ भक्त लङ्काका राजा रावण थिए । शिवजीले
जहिल्यै नृत्य गर्ने ताण्डव लेख्ने पनि रावण नै थिए । शिवजीको लागि भनेपछि
रावणले जस्तोसुकै कठिन तपस्या पनि गर्दथे ।
एकचोटि हिमालयतिर बसेर रावणले शिवजीको ठूलो
तपस्या गरे । तपस्याको इतिहासमै सबैभन्दा कठिन तपस्या गरेकोले होला, शिवजी
रावणसँग प्रशन्न भए । अनि आफूले जहिल्यै साथै लिएर बस्ने, संसारको सम्पूर्ण
शक्तिको स्रोत आफ्नो 'ज्योतिर्लिङ्ग' दिएर पठाए ।
भन्छन्, कुनै पनि कुराको महत्व
नपाइन्जेलसम्म मात्रै हुन्छ; पाएपछि त्यसको महत्व घट्छ । रावणलाई पनि
त्यस्तै भएछ क्यारे । हिमालयमा तपस्या गर्न गएका रावणले अब ज्योतिर्लिङ्ग
लिएर आफ्नो राज्य लङ्का पुग्नुपर्ने थियो । बीचमा विशाल फाँट पर्थ्यो ।
(हालको नेपाल र भारत । उनी तपस्या गर्न नेपालकै हिमालतिर गएका थिए ।)
ज्योतिर्लिङ्ग साथमा लिएर हिँडेपछि रावणको ठाँटै बदलियो । उनले अरुलाई
मान्छे गन्नै छोडे । उनमा एकप्रकारको घमण्ड बढेर आयो ।
लङ्का फर्किने क्रममा एउटा उपत्यका भएर जानुपर्थ्यो । त्यही उपत्यकामा पुगेपछि रावणको हातबाट त्यो ज्योतिर्लिङ्ग खस्यो……"
ऐतिहासिक झुर भयो । पढ्दापढ्दै शिलालेखमा लेखिएको सबै कुराहरू सक्कियो । ज्योतिर्लिङ्ग त्यसपछि के भयो ? खटपट खटपट भएर रातभरि निदाउनै सकिनँ ।
० ० ०
समय: भोलिपल्ट बिहान
स्थान: फेरि त्यही महादेवस्थाको मन्दिर
"गुरुजी ! यहाँ मैले एउटा शिलालेख भेट्टाएको थिएँ ।"
मैले मन्दिरको पुजारीलाई आफूले शिलालेखमा पढेको सबैकुरा बेलिविस्तार लगाएँ । अनि त्यसपछि के भयो भनेर सोधेँ ।
"मलाई थाहा छैन, बुबालाई थाहा होला ।" उनले अनभिज्ञता प्रकट गरे ।
एउटा सानो फुच्चेलाई बोलाएर 'अङ्कललाई लिएर
जा अनि बुवासँग भेटाइदे' भनेर अह्राए र पूजा गर्न थाले । मैले मन्दिरमा २०
रुप्पेको नोट फुत्त फाल्दिएँ अनि एकचोटि ढोगेर त्यो फुच्चेसँगै उसको पछि
लागेँ । त्यो फुच्चे शायद पुजारीकै छोरो थियो होला, मैले सोधिनँ ।
० ० ०
समय: त्यही दिनको बिहान
स्थान: मन्दिर छेवैको आश्रमको एउटा कोठा
"हजुरबुवा, तपाईंलाई भेट्न एकजना अङ्कल आउनुभ'को छ," सानो फुच्चेले एकजना वृद्धलाई भन्यो ।
रामनामी ओढेर सुतिरहेका ती वृद्ध मुस्किलले
उठे अनि ख्वाङ, ख्वाङ गर्दै खोके । एकजना अधवैंशे महिलाले आएर उनलाई
गिलासमा तातोपानी दिइन् । वृद्धले एकचोटि तातोपानी खाए अनि मसँग गफ गर्न
थाले ।
मैले शिलालेखदेखि लिएर अघि भर्खरै पुजारीसँग गरेसम्मको सबै कुरा बेलिविस्तार लगाएँ ।
मैले शिलालेखदेखि लिएर अघि भर्खरै पुजारीसँग गरेसम्मको सबै कुरा बेलिविस्तार लगाएँ ।
"त्यो शिलालेखमा पहिला सबै कुरा लेखिएको थियो । नब्बे सालको भुइँचालोमा दुई टुक्रा भएर भाँच्चियो । अनि तलको फेद कता हरायो कता, अहिले बाँकी भएको त्यो भाग मास्तिरको मात्रै हो," वृद्धले गुनासो गरे ।
मन्दिरका अहिलेका पुजारी उनकै छोरा रै'छन् । पहिला तिनै वृद्ध पुजारी थिए अरे । म चुपचाप सुन्दै थिएँ ।
"गुरुबा ! त्यो ज्योतिर्लिङ्ग भुइँमा झरेपछि के भयो ?" मैले सोधिहालेँ ।
तिनै अधवैंशे महिलाले मलाई स्टिलको गिलासमा मरिच हालेको कालो चिया दिएर गइन् ।
बाँकी रहेको कथा––
"ज्योतिर्लिङ्ग भुइँमा खसेपछि रावणको सातो
गयो । भुइँमा झरेपछि रावणलाई पाठ पढाउन ज्योतिर्लिङ्गले आफूलाई एउटाबाट
करोडौं (कोटि) बनायो । सबै उस्तैउस्तै लिङ्ग भएकोले कुन असली हो, कुन
नक्कली हो भनेर छुट्याउनै नसकिने भयो ।
रावणलाई साह्रै आपत पर्यो । त्यसैले त्यही
भएको एउटा शिवलिङ्ग बोकेर त्यहाँबाट लङ्कातिर प्रस्थान गर्यो । तर, उसले
असली शिवलिङ्ग त्यहीँ छोडेर गयो ।
करोडौं (कोटि-कोटि) लिङ्ग एकै ठाउँमा भएकोले
कालान्तरमा त्यो ठाउँमा एउटा मन्दिर बन्यो । कोटी (करोडौं) लिङ्ग भएकाले
त्यो मन्दिरलाई 'कोटिलिङ्गेश्वर' भनेर भनियो । जुन 'कोटिलिङ्गेश्वर' पछि
पछि अपभ्रंश हुँदै 'कोटेश्वर' भयो । त्यो 'कोटेश्वर' मन्दिर अहिलेको यही
हाम्रो कोटेश्वरको महादेवस्थान मन्दिर हो ।"
यति भनेपछि वृद्धले निकैबेरसम्म खोकिरहे ।
मैले केही भनिनँ, ४-५ वर्षदेखि आफू बसिरहेको ठाउँको इतिहास थाहा पाएर एकछिन
ट्वाँ परेरै बसिरहेँ ।
"मैले यो कोटेश्वरको मान्छेहरुलाई कति भनेको थिएँ, आफ्नो इतिहासको कुरालाई सम्हालेर राख्नुपर्छ, एउटा किताब निकालौं भनेर । तर कसैले ठाडा कान लाएनन् । भाइजस्तो अहिलेको युवाहरू यसरी आफ्नो ठाउँको इतिहास खोज्दै आउँदा खुसी लागेर आउँछ । तर, तिम्ले थाहा पाएको यो कुरा आफूमा मात्रै सीमित नराख है, अरुलाई पनि सुनाऊ । प्रचार गर्न सके यो कोटेश्वर ठूलो तीर्थस्थल बन्न सक्छ । यो ठाउँको ठूलो धार्मिक महत्त्व छ," वृद्धले खोक्दै खोक्दै बडो मुस्किलले भने ।
मैले वृद्धलाई नमस्ते गरेर त्यहाँबाट विदाबारी भएर आएँ । अनि उनको कुरा मनमनै दोहोर्याएँ, "आफूले थाहा पाएको कुरा आफूमा मात्रै सीमित नराख है, अरुलाई पनि सुनाऊ ।"
त्यत्ति नै खेर मैले 'कोटेश्वर'को बारेमा केही लेख्ने निर्णय गरेँ ।
० ० ०
र उपसंहार,
[समय : कथा लेखिसकेपछिको एक रात
स्थान: कोटेश्वर रत्नमार्ग, घर नं १३, आफ्नै कोठा
कोटेश्वरको बारेमा कथा लेखिसकेको थिएँ । निकै ठूलो धार्मिक महत्व भएको ठाउँमा बस्न पाउँदा आफूलाई बहुत भाग्यमानी महसुस गरिरहेको थिएँ ।
एक्कासि फोनको घण्टी बज्यो, अपरिचित नम्बरबाट फोन आएको थियो, उठाएँ ।
"हलो ।"
"कोटेश्वरको कथा सक्कियो ?"
"अँ, सक्कियो ।"
"एउटा कुरा थाहा छ ? भारतको गुजरातमा पनि हाम्रो कोटेश्वरको जस्तै कथा भएको एउटा कोटेश्वर भन्ने ठाउँ रै'छ नि ।"
"हँ, हैन होला !"
"खबर पक्का हो यार । नपत्याए आफैँले खोजिनिती गरिहेर् । शायद हामीले भन्दा सुरुमा उनीहरुले कोटेश्वरको महत्त्व बुझेर अहिले नक्कली लुम्बिनी बनाउन आँटेजस्तै पहिले नै नक्कली कोटेश्वर पो बनाएका हुन् कि ? हामीले समयमै कोटेश्वरको महत्त्व बुझ्न सकेनौँ यार ।"
मैले फोन राख्दिएँ ।]
0 Comments:
Post a Comment