January 23, 2017

सरकारले ल्याङ गर्यो

Image Source: Google
[ सन्चालन भएको केही समयमै महानगर यातायातमा ढुङ्गा हानिएपछी त्यसैको सेरोफेरोमा लेखिएको पहिलोपोस्ट डटकममा प्रकाशित कथा।  ]

“केटा! अब हाम्रा दिन सक्किए। तँ अब अर्कै जागीर खोज्न थाल। म पनि खोज्छु।” म भट्टीमा पस्ने बित्तिकै गुरुजीले भने; म ट्वाँ परे। पुलुक्क साउजीको अनुहार हेरे, गुरुजीको कुरा सुनेर उनले गिलासमा बाँकी भ’को रक्सी स्वाट्ट पारे अनि थालमा भ’को मुलाको टुक्रा चपाए। अनि मैले थाहा पाईहाले आज पक्कै केही गडबड भएको छ। त्यसैले साउजी र गुरुजी दुई जनाकै मुड ठिक छैन।
                            * * *



आजभन्दा ७ वर्षअगाडि जब म काठमान्डू छिरे त्यतिबेला म ७ वर्षकै थिए। सौतेनी बाउले आमालाई रक्सी खाएर दिनदिनै कुट्थ्यो। आमा रातभरि रोएर बस्थिन। आमा रोएको सुन्दा मलाई बाउलाई मार्दिम जस्तो रिस उठ्थ्यो। तर, आँट चै आइहाल्दैन थ्यो। दिनदिनै आमा रोएको सुन्दा चै कता कता नराम्रो लाग्थ्यो।
एकदिन बाउले रक्सी खाएर आमालाई लात्तीले कुट्दै थियो। त्यही बेला पछाडिबाट बन्चरोको बिँडले टाउकोमा बजाएर हाने। उसै त रक्सीको मातले हल्लिइराखेको मान्छे, झन् टाउकोमा बन्चरोले लागेपछि लडिहाल्यो। आमालाई बाउ मर्यो भनेर डर लागेछ क्यारे, २ वर्षको बैनी र मलाई काखी च्यापेर घरबाट भागिन्। अनि घरबाट त्यसरी भागेको २ दिनपछि हामि काठमान्डू पुग्यौ।
                             * * *
“रक्सी खान्छस केटा ?” साउजी बोले। साउजी र गुरुजी दुईजनालाई नै थाहा थियो, म रक्सी खान्न भनेर तैपनि साउजीले त्यसो भनेको सुन्दा अचम्म लाग्यो। एकछिन पछि ६७ को गुरुजी पनि मोबिल लागेको जस्तो कालो अनुहार लाएर भट्टी छिरे, अनि केही नबोली बसे। जतिबेला पनि हाँसी राख्नु पर्ने यी गुरुजी केही नबोलेको देख्दा चै पक्कै ठूलो घटना घटेको छ जस्तो लाग्यो। बिस्तारै अरु गाडीको गुरुजीहरु पनि आउन थाले, अरु साउजीहरु पनि आए। ठूलो साउजी पनि आएकोले म उठ्नु पर्यो। म मेरै गुरुजीको कुर्सी पछाडि उभिइराखे। सबैको अनुहार नुन खा’को कुखुराको जस्तो थियो। तर भएको चै के हो, कसैले केही भनेन। सबै झोक्राएर बसिराखे। यस्तो त आजसम्म कहिल्यै भ’को थिएन। म ट्वाँ परीराखे।
                       * * *
“दाइ! एक रुप्पे दिनु न” मैले कालो लुगा लगाएको एउटा चस्मावाललाई हेर्दै भने। त्यो मान्छेले मलाई देखेको नदेखे जस्तै गरेर गयो। आमाले जडिबुटीको सुकुम्बासी बस्तीमा खै कसलाई चिनेको थिइन् कुन्नी, हामी काठमान्डू आएर त्यही बस्न थालेका थियौ। एक दुई दिन पछी आमा बैनिलाई लिएर गलैंचा बनाउने कारखानामा काम गर्न जान थालिन्। म बेरोजगार थिए, त्यसैले त्यही बस्तीका केटाकेटीको पछी लागेर कोटेश्वरमा बसेर बाटोमा हिड्नेहरुसँग पैसा माग्न थालेको थिए।
मैले बाटोमा पैसा माग्ने गरेको आमाले खै कता कता बाट थाहा पाइछिन, त्यो दिन मलाई घरमा आएर कुटिन्। अनि उल्टै आफै रुन थालिन। आमालाई बाउले रुवाउथे, आज मैले पनि रुवाए। मलाई नराम्रो लाग्यो। अनि मैले दोस्रो पटक घर छोडे।
                          * * *
“हामीले चै आफ्ना छोराछोरी पाल्नु पर्दैन ?” साउजी एक्कासि जङ्गिए। ठुलो साउजीले हातमा बोकी राखेको पत्रीका फ्यात्त भुइँमा फाले। मैले यसो चिहाएर पत्रीका हेरे, त्यहाँ नयाँ गाडीको फोटो देखिएको थियो। पक्कै पनि गाडीको मामिलामा केही भएको हुनुपर्छ, मैले लख काटे। ४८ को खलासी पर बसेर तुङ्बा तान्दै थियो। त्यसको टेबुलमा ३४ को जगल्टे खलासी, ग्यारेजमा काम गर्ने उता तराईको काले, अनि अरु माइक्रोका केटाहरू थिए। दिनभरी माइक्रो र हाम्रो ठूलो बसको झगडा परे पनि साँझमा हामी सँगै बस्थ्यौ।
“सरकारले ल्याङ गर्यो नि यार” ४८ को खलासीले मलाई हेर्दै भन्यो। त्यसको र मेरो धेरै कुरा मिल्थ्यो। एकप्रकारले हामी बेस्ट फ्रेन्ड जस्तै थियौ। म गुरुजीहरुको टेबुल छाडेर केटाहरूको टेबुलतिर गइसकेको थिए।
                        * * *
“त्यो गिलास र प्लेट छिटो ले” संसारकै सबैभन्दा नमिठो स्वरले मलाई अरायो। मैले हतार हतार गरेर पानी चुहाउदै गिलास लिएर गए। आमाको कुटाइ खाएर घर छोडेपछि हिजोआज मैले होटेलमा काम गर्न थालेको थिए। होटलमा काम गर्दा पैसा नभए पनि खाना र बस्नको चै टेन्सन हुँदैन थियो। आमालाई भेट्न कहिलेकाही सुकुम्बासी बस्तिमा जान्थे, आमा रुन्थिन। बैनी पनि आमा सँगसँगै रुन्थी। छोरो मान्छे भएर आँसु झार्न हुँदैन भनेर मलाई होटेलको साहुले एकदिन भनेका थिए, त्यसैले म चै मन हुँदाहुँदै पनि रोइन; रुन सकिन।
“म धेरै पैसा कमाएर तपाईंलाई यहाँबाट लैजान्छु” मैले थुकले घाँटी भिजाउदै आमालाई सुकेको आवाजमा भने। अनि होटेलबाट पोको पारेर ल्याएको समोसा बैनिलाई दिए। महिनादिनमा एकचोटि म आमालाई सुकुम्बासी बस्तिमा भेट्न जान्थे, पैसा नभए पनि खानेकुरा दिएर फर्किन्थे।
                         * * *
“अब हामीले फेरि कालो मोसोमा घोटिनु पर्छ, कि गिलास माझ्नुपर्छ” तोङ्बामा पानी हाल्दै ४८ को साथी बोल्यो। मन अमिलो भयो। अरु केटाहरू पनि वाल्ल परेर त्यसैलाई हेरिराखे।
“खासमा भ’को चै के हो ?” मैले प्लेटमा भ’को मुलाको टुक्रा खेलाउदै सोधे। ४८ ले स्वाट्ट एकचोटि तोङ्बा तान्यो अनि भन्न सुरु गर्यो।
“अब हाम्रो गाडीलाई चल्न नदिने रे। सरकारले ल्याङ गर्यो। अर्को समितीलाई नयाँ नयाँ बस हाल्न दिएछ। अब नयाँ बस हुँदाहुँदै हाम्रो बसमा को चढ्छ होला, तँ आफै भन् त। पहिले पहिले प्यासेन्जर तेरोमा चढे पनि मेरोमा चढे पनि आफ्नै साथीले खाओस जस्तो हुन्थ्यो। अब हेर्दाहेर्दै अर्कैले हाम्रो गाँस खोस्ने भयो। खासमा यो सबै सरकारले गर्दा भ’को हो। सरकारले ल्याङ गर्यो यार।” केटोले एक थोप्पो नबिसाई यत्ति भन्यो अनि फेरि तोङ्बामै घोरियो। ४८ को गुरुजी पहिला राजनीति गर्थे, पछि माओवादीको युद्ध भएपछि शहर छिरेर ड्राइभर काम गर्न थाले। उनकै सङ्गतले गर्दा मेरो साथीले पनि बातैपिच्छे सरकारलाई सराप्न सिकेको थियो।
अरु माइक्रोको केटाहरु आफू आफुमै कुरा गर्न थाले, उनीहरु केही डराएजस्तो देखिन्थ्यो। डराउन त म पनि डराएको थिए। तर उनीहरुले त्यो देखे कि देखेनन्, त्यो चै थाहा भएन।
                          * * *
“ओए केटा! यता आइज” मैले काम गरेको १२ औं होटेलको साउजीले मलाई बोलाए। होटेलमा जति नै काम गरे पनि एक रुप्पे जोगाउन नसकेपछि मैले होटेल फेर्न थालेको थिए। मैले धेरै होटेल फेरे तर होटेलहरुले आफ्नो बानी फेरेनन्, सबै उस्तै नै थिए। काम लगाउने, पैसा नदिने।
“यो केटो छ तपाईंले खोजेजस्तो।” मलाई साउजीले एउटा चिया खाँदै गरेको मान्छेको अगाडि उभ्याएर बोले। त्यो मान्छे प्रायः होटेलमा आइराख्थ्यो, तर खासै कोहिसँग नबोल्ने बानीले गर्दा मैले उसलाई चिनेको थिइन।
पछि साहुजीले भनेपछि मात्रै थाहा पाए त्यो मान्छे त बसको ड्राइभर रैछ। अनि नयाँ खलासी खोज्दै रैछ। पहिलाको खलासी इमानदार थिएन रे, पैसा खाने गर्थ्यो रे, प्यासेन्जरकै पाकेट मार्थ्यो रे होटेलको साहुजीसँग त्यो ड्राइभरले गुनासो गरेको रैछ। अनि साहुजीले मलाई आज चिनाउदै थिए; इमानदार खलासीको उम्मेदवार बनाएर।
                               * * *
“गुरुजी, अब हामीले गाडी चलाउन पाउदैनौ रे हो ?” ४८ को कुरा सुनेपछि मैले रुञ्चे आवाजमा गुरुजीको टेबुल पछाडि गएर बिस्तारै भने। गुरुजीले मलाई हेरे, उनको आँखा रातो थियो। रक्सीले नै हो कि अर्थोकले हो, थाहा भएन।
“कसका बाउले रोक्न सक्छ हामीलाई गाडी चलाउनबाट, गाडी किन्नको लागि लेको बैंकको त्यत्रो ऋण छ त्यो नयाँ गाडीवालाहरुले तिर्दिन्छन्  रे ?” मेरो कुरा सुनेर ५६ को साउजी एक्कासि जङ्गिए। ठूलो साउजीले उनको हात समातेर उनलाई बल्लतल्ल शान्त परे। आज ठूलो साउजीले केही बोलेनन्, सबैको कुरा सुनिराखे मात्र।
                            * * *
“आजसम्म एकैचोटि कति रुप्पे सम्म बोकेको छस ?” मलाई गुरुजीले पहिलोपटक सोधेको प्रश्न यहि थियो। म अकमकिए, कति भन्नू भन्नू भयो। म अकमकिएको देखेर गुरुजीले चियाको अन्तिम घुट्को स्वाट्ट पारे। अनि मेरो पछि लाग भनेर जुरुक्क उठे।
अलि बेर हिडेपछी ग्यारेज पुगियो। त्यो ग्यारेजमा चिया पुर्याइराख्ने गरेकोले म त्यहाँ काम गर्ने सबैलाई चिन्थे। म बिना चिया त्यहाँ पुगेकोले होला कालेले यत्रो आँखीभौं पार्दै मलाई हेर्यो, तर केही बोलेन।
“ओए केटा, आज दिनभरी यो नयाँलाई तँ सँग लिएर हिड त। अनि सप्पै काम सिकाइदे। भोलि म दक्षिणकाली जान्छु, गाडी निकाल्दिन। पर्सीबाट यो मसँग हिड्छ।” एउटा म जत्रै उमेरको केटालाई बोलाएर गुरुजीले भने।
केटोले ङिच्च हाँस्दै हस भन्यो। पछि थाहा पाए, त्यो ४८ को खलासी रैछ। हामी उत्रै उत्रै भएपनी उसले निकै अगाडि देखि काम गर्न थालेकोले म भन्दा निकै जान्ने थियो।

                               * * *
“घरखेत बेचेर आफ्नै केही गरौं न त भनेर यता गाडीमा पैसा हालियो, तर यो पनि हातबाट उम्केला जस्तो छ।” ३४ को साउजीले ठूलो खुइय्य गर्दै भने। यी साउजीको एउटामात्रै गाडी थ्यो, त्यसैले आफै ड्राइभर काम गर्थे। सबैभन्दा बढी गाडी हुने चै ठूलो साउजी नै थिए। हाम्रो साउजीको चै ३ वटा गाडी थियो; एउटा ४८, अर्को ३६ अनि अर्को मैले काम गर्ने ५५।
सबैजनाको त्यस्तो कुरा सुनेपछि चै मलाई त्यो नयाँ गाडीसँग रिस उठ्न थाल्यो। त्यत्रो नाकाबन्दी हुँदा पनि साउजीहरुलाई त्यति धेरै टेन्सनमा देखेको थिइन मैले। कता कता बाहिरको अर्को मान्छे आएर हाम्रो गाँस खोस्न खोजेजस्तो लाग्यो। नयाँ गाडीले हाम्रो उठिबास लगाउछन्; मलाई पक्का भयो।
                            * * *
“दाइ, यो कार्ड त एक्स्पायर भइसक्यो” ४८ ले एउटा हरियो लुगा लगा’को मान्छेलाई भन्यो। त्यती सुनेपछि त्यो मान्छेको अनुहार पनि उसकै लुगाजस्तो हरियो भयो। खै किन हो त्यसले १० रुप्पेको नोट दिएर ३ रुप्पे फिर्ता पनि नलिइ गयो।
आज दोस्रो दिन म ४८ सँग गाडीमा हिड्दै थिए। भोलिबाट त आफुले एक्लै हिड्नुपर्थ्यो। ४८ ले मलाई कहाँदेखि कहाँसम्मको भाडा कति, आइडी कार्ड कसरी हेर्ने, मान्छेहरुलाई १-२ रुप्पे कसरी ठग्ने, जति भिड भए पनि लाजै पचाएर सिट खाली छ कसरी भन्ने, सप्पै सिकायो। तर त्यति सबै एकैचोटि सिक्न अलि गाह्राे हुँदो रैछ। ४८ को नाम जे भए पनि आजसम्म उसलाई मैले नाम तोकेर बोलाइन। उसले मलाई ५५ भन्थ्यो, म उसलाई ४८।
“काठमान्डू फिरीमा घुम्न पाइन्छ। उस्तै ताल परे तरुनीहरुसँग टाँसिन पनि पाइन्छ। बेलुका काम सक्किएपछी पैसा नि पाइन्छ। खलासी काम भनेको सबैभन्दा राम्रो काम हो। बुझिस ?” ४८ ले मलाई यस्तै यस्तै नयाँ कुराहरू भनिराख्थ्यो।
“आजको खलासी भोलिको ड्राइभर हो। आजको ड्राइभर भोलिको गाडी साउ हो। यो कुरा याद राखेस।”
                           * * *
“नयाँ गाडीवालाहरुलाई किन यहि हाम्रै रुटमा हाल्न अनुमति दिनु परेको होला ? सरकारले नै ल्याङ गर्यो के।” ४८ को गुरुजीले भने। कोहि बोलेनन्।
हाम्रो गुरुजीले ऋण खोजेर भए पनि ५५ नम्बरको गाडी  किन्न खोज्दैछन् भनेर मलाई थाहा थियो। त्यसैले उता गाउँको जग्गा पनि बेचेर आएका थिए। अब यो नयाँ वर्षमा गाडी किन्ने लगभग पक्का नै थियो। तर, अब किने पनि त्यो रुटमा गाडी नचल्ने जस्तो भइसकेको रैछ।
मैले ३ घण्टा भट्टीमा बसेर सबैको कुरा सुनेर सबैको टेन्सन त्यही नयाँ गाडीले गर्दा भएको हो भनेर बुझे।
                           * * *
[हिजो राति धेरै रक्सी खाएकोले होला, गुरुजीले आज गाडी चलाउदिन भनेका थिए। त्यसैले आज दिनभरी बेरोजगार जस्तै थिए। ४८ लाई पालो दिनुपर्यो भनेर बल्खुमा पर्खिराखेको थिए। परबाट हिजो पत्रीकामा फोटो भएको  ‘महानगर यातायात’ लेखेको नयाँ गाडी आउदै गरेको देखे। हिजोको घटना सम्झिए, रिस उठ्यो। बाटोमा भ’को ढुङ्गा उठाए अनि धडाधड गाडीमा हान्न थाले। हिजो भट्टीमा सँगै भ’को माइक्रोको केटहरु पनि त्यही रैछन्, उनीहरुले पनि ढुङ्गा थपे। त्यो ढुङ्गाले कहाँ लाग्यो, कति लाग्यो भनेर हेर्दै नहेरी म गल्लितिर भागे। भागीरहे।]

0 Comments:

Post a Comment

 
;