[मधुपर्कमा यस्तै एउटा कथा थियो। मैले पहिलोपटक पढेको त्यो एउटा साहित्यिक रचना भएकोले त्यसको छाप मलाई एकदमै गहिरो सँग परेको छ। यो कथा मैले त्यो कथा लेख्ने लेखकलाई (नाम बिर्सिए) समर्पण गर्न चाहन्छु। यो कथा उहाँलाई tribute स्वरुप re-create गरेको छु।]
![]() |
Image Source: Google |
म बस्ने घरकै तल्लो तलामा फार्मेसी खोलेर बसेका अंकलले भन्नुभो । उनकै
फार्मेसीअगाडिको बाटो ओहोरदोहोर गर्ने हुनाले हाम्रो गज्जबको चिनजान
भइसकेको थियो । हिजो पानीमा भिजेकाले हल्का ज्वरो आ’को थियो । अनि म
अंकलकोमा औषधि किन्न गएको थिएँ ।
“तँ एउटा जाबो छाता पनि किन्न सक्दैनस् ? एउटा छाता किन्नू अनि ब्यागमा बोकेर हिँड्नू । पानी परे नि काम लाग्छ, घाम लागे नि काम लाग्छ ।”
अंकलले फेरि किचकिच गरे ।
मलाई अहिले नै छाता किनेर अंकललाई देखाउँदै ओढौं जस्तो लाग्न थालिसकेको थियो ।
“कि पैसा छैन ? छैन भने भन्, अहिले म दिन्छु, पछि तिर्दा हुन्छ,” उनले अलिकति सहयोगी भाव देखाए ।
तर, त्यसले मेरो ‘इगो’ हर्ट ग¥यो । अनि त तुरुन्तै गएर ४ सय रुपैयाँमा कालो रंगको छाता किनेर ल्याएँ ।
० ० ०
“ए छाता ! छाता भाइ !”
एउटा मान्छेले ट्याक्सीलाई बोलाएजस्तै गरेर मलाई बोलायो ।
हल्का पानी पर्दै थियो, त्यही भएर भर्खरै किनेको नयाँ छाता ओढेर
महादेवस्थानको बाटो हुँदै कोटेश्वरबाट बानेश्वरतिर जाँदै थिएँ । मैले आवाज
कताबाट आयो भनेर थाहा नपाउँदै एउटा टाउको छातामा घुस्रिसकेको थियो । त्यो
मान्छेले ‘आफू भिजे पनि मतलब भएन तर ब्यागमा डकुमेन्टहरू छन्, त्यो भिज्नु
भएन’ भन्दै ब्याग छातीमा राख्यो । मैले कुनै प्रतिक्रिया दिइनँ ।
महादेवस्थान मन्दिरको ओरालो पुगेपछि उसले मेरो सात पुस्तेलाई पुग्नेगरी
धन्यवाद दियो अनि एउटा मासु पसलतिर छि¥यो र अलप भयो ।
त्यतिन्जेलसम्ममा पानी ठूलै दर्किन थालिसकेको थियो ।
उत्तिखेरै क्याम्पस ड्रेसमा एउटी केटी भिज्दै हिँड्दै थिई । उसको लुगा
पारदर्शी हुँदै गइरहेको थियो । एकाएक मभित्रको मानवता जागेर आयो अनि मैले
उसलाई छाता अफर गरें । उसले पुलुक्क मतिर हेरी, मुसुक्क हाँसी तर केही
बोलिन । म पनि ऊसँग केही बोलिनँ । हामी चुपचाप हिँड्यौं । चुपचाप नै बागमती
त¥यौं । छड्के पानी पर्न थालेपछि हामी दुवैजना भिज्न थालिसकेका थियौं ।
त्यसैले ऊ हल्का मसँग टाँसिई, म ऊसँग ।
बाहिरबाट देख्नेहरूले हामीलाई मायाका जोडी ठान्दा हुन् ।
मीनभवन क्याम्पस पुगेपछि त्यो केटीले फेरि पुलुक्क मतिर हेरी, फेरि
मुस्कुराई, चुपचाप केही नबोली धन्यवाद दिई अनि शंखमूलतिर लागी– भिज्दै ।
० ० ०
“दाइ ! पुडिया छ ? छ भने यसो...”
एउटाले ग्वाम्ल्याङ्ग अँगालो हाल्यो । साँझको बेला तरकारी पनि किनौं, हावा
पनि खाऊँ भन्ने सोचेर यसो महादेवस्थान मन्दिरतिर हिँड्दै थिएँ । छाता
हातमै थियो, पानी नपरेको हुनाले ओढेको चाहिँ थिइनँ । त्यो मान्छेको
क्रियाकलाप देखेर एकछिन त तर्सिएँ ।
“यो के गरेको ? के हो पुडिया भनेको ?”
तर्सिएको आवाजमा सोधें । त्यो मान्छेले के भन्दैछ, थाहा थिएन ।
“ह्या, झन् दाइ भन्दैछु । ¥याग चैं नगर्नू न । राम्रो मुखले भनेको लाग्दैन ?”
त्यो केटाको आवाज पूरै परिवर्तन भयो । उसको रौद्ररूप देखेर डर लाग्यो ।
“हिजो तपाईंहरू दुईजना छाता ओढेर गफ गर्दै यही बाटो हिँड्दै गरेको देखेको
थिएँ । त्यसले मलाई पुडिया ल्याइदिन्छु भनेर पैसा लगेको थियो । तपाईं
त्यसको जिग्रीजस्तो लाग्यो । ल्याङ नगरी मेरो फसेको पैसा फिर्ता गर, हैन
भने माल दे ।”
तपाईं भनेर इज्जत गरेर बोलिराखेको मान्छेले एक्कासि तँ भन्न थाल्यो । मेरो सातोपुत्लो उडिसकेको थियो । ओठमुख पनि सुक्यो ।
अनि हिजो छातामा लिफ्ट दिएको त्यो एक पाथी धन्यवाद दिने मान्छेलाई झल्झली
सम्झिएँ । आकाश टुक्रेर एउटा टुक्राले थिचेजस्तै भयो । मलाई के भन्नु के
नभन्नु भो । एकछिन ट्वाँ परें, परिरहेँ । तर, मैले केही भन्नुअघि नै उसैले
भन्यो, “मैले तेरो घर देखेको छु । सोझो हिसाबले मानिनस् भने कप्सलाई
भन्दिन्छु ।”
फेरि डर लाग्यो ।
० ० ०
तरकारी लिन गएको मान्छे धम्की लिएर फर्किदै थिएँ । अलिकति हिँडेपछि
मोबाइलमा घण्टी बज्यो, गर्लफ्रेन्डको रै’छ । तनाव भएको बेला ऊसँग बोले केही
भए पनि राहत महसुस हुन्थ्यो भनेर फोन उठाएँ ।
“हेलो !”
“कहाँ छौ ?”
“यतै तरकारी किन्न आ’ ।”
“कोसँग ?”
“एक्लै छु ।”
“एक्लै कि अर्कीे गर्लफ्रेन्डसँग ?” अलि झर्केको आवाज आयो ।
“के नचाहिने कुरा गर्छे फेरि ! आज मलाई टन्नै टेन्सन भ’को छ । अरु थप्ने काम नगर न,” मैले मरेको आवाजमा भनें ।
“टेन्सन ? हिँड्ने बेलामा अँगालो हालेर हिँड्न चैं हुने अनि अहिले आएर टेन्सन भो हैन ? लु भन, तिम्रो मबाहेक अरु कतिजना केटी छन् ?”
मकै पड्किएजस्तो एकोहोरो पड्केको आवाज आयो ।
“भयो चैं के यार ?” मैले ट्वाँ पर्दै सोधें ।
“हिजो मीनभवनमा छाताभित्र टाँसिएर रोमान्टिक हुँदै कोसँग हिँड्दै थियौ ?
मलाई सानीले सबै कुरा भनिसकी । उसले आफ्नै आँखाले देखेको थिई रे ! मैले
भेट्न बोलाउँदा त खुब पानी परेको छ, भ्याउँदिनँ, पानी पर्दा हिँड्न झ्याउ
लाग्छ भन्थ्यौ त ! अरुसँग टाँसिन त भ्याइँदो रै’छ नि ! पहिलै अर्कीे केटी छ
भनेर भनेको भए त भइहाल्थ्यो नि !”
सुरुमा आक्रामक रूपमा आएको आवाज सुँकसुँकमा अन्त्य भयो । म फेरि के भन्ने, के नभन्नेको दोधारमा परें ।
मैले के भन्ने भनेर सोची नसक्दै उताबाट ‘गुडबाइ ! अबदेखि मलाई फोन नगर्नू,
त्यही छातावालीलाई गर्नू’ भन्ने डाइलग आयो अनि फोन काटियो । मलाई फेरि फोन
गर्ने जाँगर चलेन ।
गह्रौं पाइला चाल्दै कोठातिर फर्किन थालें । हल्का पानी पर्दैथियो तर पनि
छाता ओढ्ने जाँगर चलेन । बाटोमा एउटा अर्को केटोसँग ठोक्किएँछु । मैले
‘सरी’ भनेर अघि बढ्न खोजें । तर, केटोले बाटो छोडेन । टाउको उठाएर यसो
हेरें, ज्यान परेको मुस्तण्डे रैछ । यति धेरै तनाव भइसकेको थियो कि त्यसले
खाउँला जस्तो आँखा पारेर हेर्दा पनि फिटिक्कै डर लागेन ।
“तैंले यत्रो काठमान्डुमा मेरो छम्माबाहेक अरु कोही पाइनस् हैन त जिस्क्याउन ?” मुखबाट थुक उछिट्याउँदै भन्यो ।
“हैन, तपाईंलाई चैं के भो फेरि ?” उत्सुक र क्रोधित हुँदै सोधें । भित्रबाट चाहिँ डर लागेको थियो ।
“हिजो बानेश्वरमा को केटीलाई छाताले टाउकोमा हान्दै मुसुमुसु हाँस्दै हिडिरा’ थिस् ? एकचोटि सम्झी त ।”
मेरो मुखभरि थुक लाग्यो ।
बाटोमा छाता ओढेर हिँड्दा छाताले अरुलाई लाग्नु सामान्य नै हो । तर, हिजो
बानेश्वरमा एउटै केटीलाई ३–४ पटक लागेको थियो । मैले त त्यसलाई सामान्य
रूपमै लिएको थिएँ । तर, उसको बडीगार्ड ब्वाइफ्रेन्ड धम्क्याउन घरअगाडि नै
आउला भन्ने त कल्पनासम्म पनि गरेको थिइनँ । मान्छेहरू कति फुर्सदिला हुन
सकेका हुन् कुन्नी ? अबदेखि त्यस्तो गल्ती गर्दिनँ भन्ने बाचाकसम खाएर त्यो
ब्वाइफ्रेन्डसँग जसोतसो उम्किएँ ।
० ० ०
कोठा पस्नै लागेको थिएँ, तल फार्मेसीका अंकलले सटर तान्न खोज्दै रै’छन् ।
उनलाई एकछिन रोकें अनि हातको छाता ‘तपाईंलाई उपहार भयो’ भन्दै दिएँ । बूढा
ट्वाँ परे । मलाई हल्का महसुस भयो ।
पुडियाको किस्सा कसरी सल्टाउने र रिसाएकी गर्लफ्रेन्डलाई कसरी फकाउने– बाँकी चिन्ता यिनै थिए ।
0 Comments:
Post a Comment