आफ्ना तमाम हरिया घाँसे फुट्पाथहरुलाई,
कालो र तातो अलकत्राले डामेर
मक्ख पर्दैछ बानेश्वर,
दाईजोमा ठुलो हुन्डाइ गाडी पाएको बेहुलाजस्तै।
Image Source: Google |
आफ्नो सानो टुहुरो फुट्पाथे चियापसललाई
अक्कास छुने ठुलो रेस्टुरेन्ट बनाएर
दङ्ग पर्दैछ बानेश्वर,
बर्षौपछी चामलको भात खान पाएको जुम्लिजस्तै।
बेलुका ताजा हावा खान आउनेहरुलाई
धुलोमा चुर्लुम्म डुबाएर
निर्लज्ज हाँस्दैछ बानेश्वर,
फुट्पाथमा नाङ्गै लडेको बहुलाजस्तै।
बाटोमा सामान बेच्ने गरीबहरुलाई
नगरपालिकाको पुलिसबाट गोदाएर
आनन्द मान्दैछ बानेश्वर
भर्खर बिमा गरेको मध्यम बर्गियजस्तै।
हतार-हतार बाटो काट्नेहरुलाई
सडकपेटिमा निकैबेर उभ्याएर
सन्तोक मान्दैछ बानेश्वर,
पहिलोपटक कुमारत्व चढाएर आएको किशोरजस्तै।
गाडीको टेकाइबाट थाङ्थिलो भएको शरीरलाई
एकैछिन पनि आराम गर्न नदिएर
सास फेर्दैछ बानेश्वर
इनार खन्दाखन्दै बाहिर निस्केको मजदुरजस्तै।
आफ्नो घरको आफ्नै सम्पत्तिहरुलाई
आँफैले चोर्न लगाएर
धनी बन्दैछ बानेश्वर
५ रुपैयाँको लागि झगडा गर्ने मगन्तेजस्तै।
डेरा खोज्न आउनेहरुलाई
होस्टलको लोकेसन दिएर
शान्त हुँदैछ बानेश्वर,
बागमती बगरको सुकुम्बासी बस्तिजस्तै।
रुघा,खोकी र पिनास पीडित नाकलाई
मास्कले ढ्याप्प छोपेर
ढुक्क हुँदैछ बानेश्वर,
कन्डम लगाएर यौनसम्पर्क गर्ने जोडीजस्तै।
[बानेश्वरको बाटो विस्तार हुँदै गर्दा सन् २०१४, मार्च २९ तारिखमा लेखिएको कविता]