Pages

March 28, 2017

चक्रपथ परिक्रमाबाट



जसरी भर्खर भर्खर प्रेममा परेको नयाँ प्रेमिले,
फिल्म हेर्न जाँदाखेरी,
प्रेमिकाले थाहा पा'को छैन जस्तो गरेर,
आफ्नो हात नजानिदो पाराले,
प्रेमिकाको हातमा लगेर राख्छ,

जसरी भर्खरै बिहे भएका नवजोडीहरु,
परिवारसँगै एउटै कोठामा बसेर टिभी हेर्दा,
परिवारले नदेख्ने गरि,
एकअर्काको हात समातेर बस्छन्,

त्यसरी नै मैले थाहै पा'को छैन जस्तो गरेर,
सिटमा सँगै बसेको तिलचामल कपाल भएको,
मेरै बुवाको उमेरको एकजना अधबैंसेको हात,
मेरो तिघ्रामाथी चलमलाउछन्,
मेरो तिघ्रोलाई चिमोट्न खोज्छन्,
आफ्नो कुण्ठित यौनईच्छा,
निचोरनाचर पारेर मेरो तिघ्रामा खन्याउछन्,
मेरो तिघ्रालाई आफ्नो खेलमैदान बनाउछन्,

अङ्कल!
त्यत्रो मोटो डेनिमको जिन्सबाहिरबाट,
मेरो तिघ्रा मुसार्दा
तपाईंलाई ठूलो आनन्द प्राप्त हुन्छ हो ?

*****

जसरी वसन्तपुरबाट असन छिर्ने बेलामा,
त्यो पुरानो रिक्सा हाँक्ने दाइले,
बाटोमा खेलिरहेका केटाकेटीलाई धपाउन,
हेन्डिल छेउको नयाँ हर्नलाई बेस्सरी निचोर्छन्।

जसरी ढावामा नान बनाउदाखेरी,
भान्से दाइले तन्दुरी छेउमा उभिएर,
मैदाको पिठोलाई मिलाई-मिलाई खेलाउछन्।

त्यसरी नै सिट नपाएर भिडमा उभिरहदा,
अफिस जान भनी फर्मल लुगा लगाई,
चिटिक्क कपाल कोरेर हिडेका,
भलादमीहरुको,
केही थान हातहरु सल्बलाउदै सल्बलाउदै,
मेरो छातिसम्म आउछन्,
अनि मेरो स्तनहरुलाई,
पालैसँग नमज्जाले समातेर जान्छन्,
नमज्जाले खेलाएर जान्छन्,
भित्रैसम्म दुख्नेगरी।

साथी!
त्यत्रो बाक्लो स्पन्ज भएको मेरो ब्रा बाहिरबाट पनि,
मेरो स्तनलाई गिजोल्दा,
तपाईंको लिङ्ग उत्तेजित हुन्छ हो ?

*****

जसरी काठमान्डूको व्यस्त सडकमा,
२० वर्ष पुरानो गाडीले,
एक मुस्लो धुवाँ,
फुत्त फालेर जान्छ अनुहारभरी।

जसरी वर्षामा पहिलोपटक पानी पर्दा,
वातावरणको सबै फोहोर पखालेर,
तप्प झर्छ अनुहारलाई छुँदै,
पानीको पहिलो थोपा,

त्यसरी नै सिटमा बसिरहेको बेला,
नजानिदो पाराले छुन्छन्,
मेरा दाइका उमेरका पुरुषहरुको,
एक थान उत्तेजित लिङ्गले मेरो कुमहरुमा,
त्यसरी नै उतापट्टी फर्केर,
उभिरहेको बेला,
मेरो नितम्बहरुमा स्पर्श गर्छन्, 
तिनै दाइहरुको उत्तेजित लिङ्गले बेलाबेला,

दाइ!
त्यसरी छोए पनि नछोएजस्तै गरि,
मेरो नितम्बलाई स्पर्श गर्दा,
मेरो कुमहरुलाई स्पर्श गर्दा,
तपाईंलाई चरमसुख प्राप्त हुन्छ हो ?

*****

जसरी रक्सी खाएर ढल्पलाउदै हिडेको,
एउटा एमेच्योर जड्याहा,
बेलाबेला बाटोमा गाडिएको,
बिजुलिको पोलमा ठोक्किदै-ठोक्किदै हिड्छ,

जसरी बत्ती नभएको बेला,
अँध्यारोमा भर्याङ चढ्दाखेरी,
बेलाबेला ठोक्किछन् औंला र गोलीगाँठोहरु,
भर्याङको प्रत्येक खुड्किलोमा।

त्यसरी नै यस्सो सिटमा ढल्किएर,
झर्न खोज्ने मान्छेहरुलाई बाटो छोडिदिदा,
सुकिलो लुगा लाएर प्लस टु पढ्न जाने भाइहरु,
नजानिदो पाराले आफ्नो कुहिनो तेर्स्याउदै तेर्स्याउदै,
मलाई घोचेर जान्छन्,

अनि बाहिर गएर ठूलो अट्टहाँस गर्छन्,
मानौ कुनै ठुलो पुरुषार्थ गरेर फर्किएका छन्,
मानौ मेरो शरीरलाई छुनु नै,
उनीहरुको जिवनको एकमात्र उद्देश्य हो,

भाइ!
हड्डि नै हड्डी भएको त्यस्तो जाबो कुहिनोले
मलाई स्पर्श गर्दाखेरी,
तिमी स्खलित हुन्छौ हो ?

[Image Source: Google]

No comments:

Post a Comment